, गोरखा
चैत्र १८, २०७३- स्थानीय तह निर्वाचन आचारसंहिता उल्लघन गर्दै सांसद, प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको टोली शुक्रबार धार्चे गाउँपालिकाको केन्द्र गुम्दा पुगेको छ ।
गुम्दामा एनजिओ/आईएनजिओको सहकार्यमा बनेको भवन उद्घाटन गर्न सांसद छमबहादुर गुरुङको नेतृत्वमा सरकारी गैरसरकारी गरी करिब ४० सरकारी कर्मचारी र गैससकर्मी त्यहाँ पुगेका छन् । आलु संकलन केन्द्र भवन उद्घाटन गर्न प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, सहायक प्रमुख जिल्ला अधिकारी केशव शर्मा, प्रहरी नायब उपरीक्षक जनकराज पाण्डेय, राष्ट्रिय अनुसन्धान प्रमुख जीतबहादुर घले, सशस्त्र प्रहरीका डिएसपी राजेन्द्र श्रेष्ठ बिहीबार साँझै गुम्दा पुगेका हुन् । गुम्दामा उनीहरुले आलु संकलन केन्द्र भवनको शुक्रबार उद्घाटन समेत गरेका छन् । ‘रिबन काटेर भवन उद्घाटन गर्ने तयारी थियो’, स्थानीय टेलिफोनमा भने, ‘आचारसंहिता लाग्छ भनेर रिबनचाहिँ काट्नु भएन, भवन अनुगमन गरेर कार्यक्रमचाहिँ गर्नु भयो ।’ गाउँमा सांसद, सीडीओ, एसपी सहित सरकारी र गैर सरकारी संघसंस्थाको जब्बो टोली आएपछि भव्य कार्यक्रम भएको उनले बताए । उनीहरुले बारपाक हुँदै गुम्दा पुग्ने बाटो चुनावअघि नै मर्मत सुधार गरिदिने आश्वसन समेत स्थानीयलाई दिएका छन् । उनीहरुले एनजिओले सुरु गरेको अलैंची खेतीको समेत अनुगमन गरेका छन् ।
स्थानीय निर्वाचन आचारसंहिता २०७३ को परिच्छेद ३ को दफा ७ को उपदफा २ मा नेपाल सरकार, सार्वजनिक संस्था र स्थानीय तहका कर्मचारीले कुनै पनि योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण वा अध्ययन वा सोको लागि अनुदान दिने जस्ता कार्यक्रम गर्न वा गराउन नपाइने उल्लेख छ । तर, सांसद, प्रजिअ, एसपीसहितको टोलीले गुम्दामा १२ लाख ७० हजारमा निर्मित भवनको उद्घाटन गरेको हो । प्रजिअलाई गृह मन्त्रालयले गैससको कार्यक्रममा समेत सहभागी नहुन यसअघि नै निर्देशन दिएको थियो । कृषि विकास कार्यालयका प्रमुख यमबहादुर श्रेष्ठ एनजिओको भ्रमणमा सहभागी छन् । उनीहरुलाई जाने, आउने खानेदेखि भत्ताको व्यवस्था केएर नेपाल र स्वाँरा सघन गाउँ विकास केन्द्र नामक गैससहरुले गरेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, खानेपानी, कृषि, पशु सेवा, शिक्षा कार्यालयका प्रमुख र कर्मचारीहरु कार्यालयको कामै छाडेर गैससको कार्यक्रममा जथाभावी हिँडडुल गर्ने गरेको सेवाग्राहीले गुनासो गरेका छन् । उक्त टोली टेलिफोन सम्पर्क नलाग्ने ठाउँमा छ । निर्वाचनको तयारी र अनुगमनमा गएको प्रजिअको भनाइ छ । टोलीमा केयर र स्वाँरा सघनका प्रमुख माधव ढकाल र सीताराम श्रेष्ठ समेत सहभागी छन् । ढकाल ढकाल आईएनजिओ र श्रेष्ठ गैसस गोरखाका प्रमुख समेत हुन् ।
ekantipur


