-
, लाप्राक (गोरखा)
- ‘कहिले पुरानो बस्ती, कहिले जंगलको अस्थायी टहरामा बस्दैछौं, २ वर्ष भो, अझै बासको टुंगो छैन’
काम गरिरहेका छन् ।
भूकम्पपछि पुरानो बस्ती रहेको भूभागमा पहिरोको जोखिम बढेकाले लाप्राकवासीका लागि गुप्सीपाखामा बसाइँ सर्नुपर्ने बाध्यता आएको हो । गुप्सीपाखामा यतिबेला भइरहेको कामको गतिले भने वर्षायामअघि नै सबै घर निर्माण भइसक्ने संकेत गर्दैन । भूकम्प र पहिरोपीडितमा भने वर्षातका बेला के गर्ने होला भन्ने छटपटी बढेको छ ।
‘गुप्सीपाखामा घर बनेपछि सर्ने भनेको बर्खाअघि सर्न पाइएला जस्तो छैन,’ स्थानीय माइली गुरुङले भनिन्, ‘पानी पर्न थालेपछि बस्तीमा पहिरोको डर हुन्छ ।’ गैरआवासीय नेपाली संघ (एनआरएन) ले बनाइदिने पक्की घरको प्रतीक्षामा यहाँका भूकम्पपीडितले कष्टपूर्ण दैनिकी बिताइरहेका छन् । ‘कहिले पुरानो बस्ती, कहिले जंगलको अस्थायी टहरामा बस्ने गरेका छौं,’ उनले भनिन्, ‘दुई वर्ष भयो, अझै स्थायी बासको टुंगो लागेको छैन ।’ भूकम्पको घटनापछि थातथलो छाडेपछि चारपटक उनीहरूले अस्थायी टहरो सारिसकेका छन् ।
‘बर्खा लागे गुप्सीपाखा, हिउँद पुरानो बस्तीमा बस्ने गरेका छौं,’ स्थानीय गणेश गुरुङले भने । गुप्सीपाखामा पीडितका लागि ५ सय ७३ घर निर्माण गर्न एनआरएनले जिम्मा लिएको छ । सेनाको सहयोगमा गुप्सीपाखामा घडेरी बनाउने र जग खन्ने काम भइरहेको एनआरएनका साइट इन्चार्ज बद्रीराज भण्डारीले बताए । ८० घरका लागि जग तयार भइसकेको उल्लेख गर्दै उनले भने, ‘डीपीसी भइसकेको छ । अब इँटा लगाउन सुरु हुन्छ ।’
अरू डेढ सय घरको जगका लागि प्लटिङको काम पनि भइरहेको उनले बताए । ‘काठ र ढुंगाको अभाव भएकाले निर्माणको कामले गति लिन सकेको छैन,’ उनले भने । एनआरएनले काठ र ढुंगाको व्यवस्थाका लागि स्थानीयले सघाउनुपर्ने सम्झौता गरेको थियो । संघले गुप्सीपाखामा एकीकृत नमुना बस्ती निर्माण गर्न लागेको हो ।
घरहरू बनाउन एक महिनादेखि नेपाली सेनाका १ सय २० जनाभन्दा बढीले श्रमदान गरेको यहाँ खटिएका मेजर राजन ढकालले बताए । ‘छिनमै पानी पर्छ, छिनमै हिउँ पर्छ,’ उनले भने, ‘काम गर्न निकै समस्या भएको छ ।’ सेनाको टोलीले क्याम्पले खडा गरेर घरहरू निर्माणको काम गरिरहेको छ । घर बनाउन सेनाका दक्ष जनशक्ति खटाइएको उनले बताए ।
‘हिउँ परेर डेढ हप्तासम्म काम रोकिएको थियो,’ उनले भने, ‘वर्षा लागेपछि झन् काम गर्न मुस्किल हुने स्थिति छ । निर्माण सामग्री ल्याउने बाटो कच्ची छ, ठूलो पानी पर्यो कि बाटै बन्द हुन्छ ।’
एनआरएनको सहयोगमा गुप्सीपाखामा भूकम्पपीडितहरूका लागि एउटै प्रकृतिका घरहरू बनाइने परियोजनामा एउटा घरलाई करिब १२ लाख रूपैंया खर्च हुने अनुमान छ । ५ सय ७३ भूकम्पपीडित परिवारका लागि प्रति ३ आना घडेरीमा घरहरू बनाउन लागिएको हो । एकीकृत नमुना बस्ती निर्माण गर्न १८.३२ हेक्टर वनको जग्गाका स्थानीयवासीलाई भोगचलन गर्न दिने निर्णय भइसकेको छ ।
विद्यालय र स्वास्थ्यचौकीलगायत अन्य भौतिक पूर्वाधार निर्माण गर्न अन्य संघसंस्थाले जिम्मा लिएका छन् । ४ करोड लागतमा गुप्सीपाखामा ८ किमि परबाट खानेपानी ल्याउन केयर नेपालले काम थालिसकेको छ । घरहरू बनिसकेपछि पीडितहरूलाई चिट्ठामार्फत हस्तान्तरण गर्ने योजना छ । ‘सबै दुईतले चारकोठे घरहरू बन्ने डिजाइन तयार भएको छ,’ गोरखाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, ‘तल्लो कोठामा इँटाको गारो र माथिल्लो तलामा बाँस प्रयोग गरिन्छ ।’
इँटा उत्पादनका लागि लाप्राकमै आधुनिक मेसिन पुर्याइएको छ । गुरुङ संस्कृतिअनुसार घरहरूका बीच–बीचमा चोकहरूसमेत बनाएर बस्ती बनाउने डिजाइन तयार पारिएको छ ।
घरहरूबाहेक विद्यालय र स्वास्थ्यचौकी भवन बस्ती नजिकै निर्माण गर्ने तयारी थालिएको हो । बस्ती बसेपछि जीविकोपार्जनका लागि स्थानीयवासीले पुरानै बस्ती र बारी प्रयोग गर्ने गरी योजना अघि सारिएको छ । ‘पर्यटनमा आधारित जीविकोपार्जनलाई लक्ष्य गरी प्रत्येक घरमा होमस्टेका लागि कोठा छुट्याइएको हुनेछ,’ स्थानीय गणेश गुरुङले भने । हिमशृंखला नजिकबाट अवलोकन गर्न पाइने, प्रत्येक वर्ष हिउँदमा हिमपात हुने र एकै प्रकृतिका घरहरू निर्माण भएपछि गुप्सीपाखा पर्यटकीय क्षेत्र हुने अनुमान गरिएको छ ।
लाप्राकको पुरानो बस्ती भूकम्पपछि पहिरोको उच्च जोखिममा परेपछि स्थानीयवासी गुप्सीपाखामा अस्थायी टहरा बनाएर बसेका थिए । उक्त स्थानमै बस्ती निर्माण हुने भएपछि उनीहरूले अन्यत्र शरण लिँदै ठाउँ खाली गरिदिएका हुन् ।
ekantipur


