नवीनराज कुइँकेल
हिमालपारिको जिल्ला मनाङमा अत्याधिक चिसो बढेको छ । हिमपातपछि बढेको चिसोले जनजीवन प्रभावित बनाएको छ ।
मौसम पूर्वानुमानसम्बन्धी विभिन्न वेभसाइट र मौसम मापन यन्त्र (थर्मोमिटर) मार्फत् मनाङमा तापक्रम मापन गरिँदै आएको छ । चिसो बढ्न थालेपछि जनजीवन प्रभावित बनेको स्थानीयले बताएका छन् । चिसो बढेपछि दैनिक सम्पादन गर्नुपर्ने कार्य समेत प्रभावित बनेको मनाङका प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले बताउनुभयो । माथिल्लो मनाङ क्षेत्रमा रातको समय माइनस ६ देखि ७ डिग्री सेन्टीग्रेटसम्म तापक्रम झरेको छ । साँझ परेपछि तापक्रम घट्दै गएर बिहान घाम लाग्न थालेपछि मात्रै बढ्ने गरेको उहाँले बताउनुभयो ।
स्थानीयका अनुसार अत्यधिक चिसोले सानासाना खोलाहरू जम्न थालेका छन् । राति जमेको पानी दिउँसो भएपछिमात्रै बग्न थालेको छ । कहिलेकाहीं पानी जमेर लघु जलविद्युत आयोजना समेत बन्द हुने गरेको छ । ‘साँझ परेपछि पाइपभित्र पानी जमेर धारामा पानी आउँदैन, खानेपानी नै पाइँदैन,’ मनाङका प्रजिअ एमसीले भन्नुभयो, ‘रातभरि छानामा जमेको शीत बिहान १०÷११ बजेपछि पानी भएर झर्ने गरेको छ । ११÷१२ बजेपछिमात्रै धारामा पानी आउने गरेको छ, त्यही पनि घाम लाग्यो भने ।’
चिसो बढेसँगै मनाङका प्रायः बासिन्दा ढोकामा ताल्चा लगाएर जाडो छल्न सहरबजार झरिसकेका छन् । कतिपय कर्मचारी पनि बिदा मिलाएर झरिसकेका छन् । चिसोका कारण कार्यालय सञ्चालनमा समस्या परेको छ । पानी जमेकाले चिप्लिएर लडिने भएकाले मानिसहरु आवतजावत गर्न कठिनाइ छ ।
माथिल्लो मनाङको ७ गाविससहित सदरमुकाम चामे वरपर, नार र फू गाविसमा केहीदिन अघि हिमपात भएको थियो । मनाङ गाउँका छिरिङ लोप्साङ गुरुङले हिउँ पर्न थालेपछि अत्याधिक चिसो बढेको बताउनुभो । गुरुङका अनुसार चिसोले मानिसहरु बाहिर निस्कन सकेका छैनन् ।
मनाङसंगै लमजुङका उच्च क्षेत्रमा पनि हिउँ परेको छ । केही दिन अघिसम्म हिउँ पग्लेर काला देखिएका मनाङ र लमजुङका हिमालहरु हिउँले ढाकिएका छन् । हिउँ परेपछि हिमालमा पनि रौनक देखिएको छ । माथिल्लो क्षेत्रमा हिउँ र तल्लो क्षेत्रमा पानी परेकाले भुजुङ, घनपोखरा, खुदी, भुलभुले दूधपोखरी, ईलमपोखरी लगायत सदरमुकाम बेसीशहरमा जाडो बढेको छ । लामो समयपछी भएको वर्षाले तरकारी लगायतका अन्य अन्नबाली फष्टाउने भएपछि किसानहरु खुसी भएका छन् ।
gorkhapatraonline


