देवबहादुर कुँवर
काठमाडौँ, पुस २२ गते । संयुक्त अरब इमिरेट्स (यूएई)बाट अवैध रूपमा काठमाडौँ भित्रिँदै गरेको ३३ किलो सुन बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य प्रवेशद्वार गोल्डेन गेट बाहिरबाट बरामद भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विमानस्थलको भन्सार चेकजाँच तथा सुरक्षा घेरा पार गरी दुइटा सुटकेसमा लुकाई बा. १ प २९१५ नम्बरको ट्याक्सी प्रयोग गरी गेटबाहिर लैजाँदै गरेको अवस्थामा उक्त सुन बरामद गरेको हो ।
अवैध सुन तस्करीको विशेष सुराकीका आधारमा दिउँसो विमानस्थल परिसरमा खटिनुभएकी ब्युरो प्रवक्ता एवं प्रहरी उपरीक्षक मीरा चौधरीको टोलीले एअर अरेबिया विमानमार्फत अवैध सुन बोकेर काठमाडौँ आइपुगेका गोपाल शाहीलाई पनि पक्राउ गरेको छ ।
दुई सुटकेसमा सुन बोकेर आएका शाहीलाई विमानस्थल भन्सार कर्मचारी र प्रहरीले सामान्य चेकजाँच गरी पठाइदिएपछि ब्युरो प्रहरीले ट्याक्सीको पिछा गर्दै उनलाई गेटभन्दा बाहिर पक्राउ गरेको हो । उनको साथबाट २४४ वटा १०–१० तोलाको बिस्कुट आकारको सुन, १८ वटा १०–१० तोलाको सिक्री र १९ वटा औँठी बरामद गरिएको छ ।
सुन लिन विमानस्थल पुगेका मोरङका दिलबन्धु थापा र जनकपुरका सन्तोष काफ्ले पनि पक्राउ परेका छन् । बाँके नेपालगञ्ज निवासी शाहीले दुबईबाट ल्याएको सुन लिन थापा र काफ्ले एक निजी कार चढेर दिउँसो विमानस्थल पुगेका थिए । तर, उनीहरू पुग्नुअगावै सीआईबी प्रहरी तैनाथ भइसकेकाले उनीहरूको सम्पूर्ण गतिविधिलाई निगरानीमा राखिएको थियो । बरामद सुन दुईवटा लगेजभित्र फल्स बटमभित्र मदिराजन्य बोतलको हार्ड कभरभित्र प्लास्टिकमा बेरेर लुकाइछिपाई राखेको अवस्थामा फेला पारिएको थियो । विमानस्थलबाट यति ठूलो परिमाणको सुन फेला परेको सीआईबी प्रहरीका लागि यो पहिलो घटना हो ।
अवैध ३३ किलो सुनसहित पक्राउ परेका तीनै जनाले एकअर्कासँग परिचित नभएको बताएका छन् । ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक नवराज सिलवालका अनुसार उनीहरू सुन तस्कर वा तस्करबाट परिचालित व्यक्ति को हुन् ? भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।
gorkhapatraonlinea


