लक्ष्मीप्रसाद उपाध्याय
काठमाडौँ, पुस २१ गते । विश्ममै दुर्लभ एकसिङ्गे गैँडाको बासस्थान, आहार, विचरण तथा आनीबानी, व्यवहारको अध्ययन गर्न उच्चस्तरीय चिनियाँ सरकारी टोली बुधबार नेपाल आइपुगेको छ ।
चिनियाँ सरकारका वन प्रशासन उपमन्त्री चेन फयाङ सुको नेतृत्वमा आएको गैँडा विशेषज्ञको टोलीले चितवन राष्ट्रिय निकुञ्जमा गई दुर्लभ एकसिँगे गैँडाको बासस्थान, आहार तथा आनाबानी तथा गैँडाको लागि चाहिने हावापानीका विषयमा अध्ययन गर्ने भएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार चिनियाँ मन्त्रीसहितको उच्चस्तरीय सरकारी टोलीले दुई दिनसम्म चितवन राष्ट्रिय निकुञ्जमा बसेर अध्ययन गर्ने भएको छ ।
टोलीले गैँडा संरक्षणका लागि स्थानीय बासिन्दाले खेलेको भूमिका र गैँडा संरक्षणका लागि स्थानीय सामुदायिक वनमा हाल भइरहेको संरक्षणका कार्यक्रमबारे अन्तक्र्रिया र छलफल पनि गर्ने कार्यक्रम छ ।
नेपालले छिमेकी देश चीनलाई उपहारको रूपमा दुई जोडी गैँडा दिने सहमति जनाएपछि विश्वमा दुर्लभ मानिएको एकसिङ्गे गैँडा चिनियाँ भूमिमा संरक्षण गर्न सकिन्छ वा सकिँदैन भन्ने निष्कर्षमा पुग्नका लागि चिनियाँ सरकारी टोली पहिलो पटक नेपाल आइपुगेको हो । एकसिङ्गे गैँडा कालान्तरमा चिनियाँ भूमिमा रहेको अवशेषमा भेटिए पनि हाल भने चीनमा यसको उपस्थिति छैन ।
एकसिङ्गे गैँडा साइटिस अभिसन्धीको अनुसूची १ मा पर्ने अति महìवपूर्ण तर अति सङ्कटपूर्ण अवस्थामा पुगेको दुर्लभ वन्यजन्तु मानिन्छ । साइटिस अभिसन्धीको अनुसूची १ मा पर्ने वन्यजन्तुको स्थानान्तरण गर्दा स्थानान्तरण गरिने स्थानमा त्यसलाई बचाउन सक्ने वातावरण नबनुञ्जेल कुनै पनि राष्ट्रले अर्काे राष्ट्रलाई हस्तान्तरण गर्न नसक्ने बाध्यकारी प्रावधान राखिएको छ । नेपाल र चीन दुवै देश साइटिस अभिसन्धीको पक्ष राष्ट्र हुन् ।
नेपालले चीनलाई दुई जोडी गैँडा दिन चाहेर पनि चीनमा गैँडा बाँच्न सक्ने बासस्थान, आहारको व्यवस्थालगायत उचित वातावरण निर्माण नगरून्जेल साइटिसका पक्ष राष्ट्र भएकाले सहजै हस्तान्तरण गर्न नसकिने तर्क वन्यजन्तु विज्ञले राख्दै आएका छन् ।
यही क्रममा नेपालमा गैँडाको बासस्थान, आहार, आनीबानीको अध्ययन गरेर चीनमा पनि त्यस्तै खालको वातावरण निर्माण गर्नका लागि चिनियाँ सरकारी उच्च स्तरीय टोली नेपालमा आएको हो । टोली बुधबार नै चितवनतर्फ प्रस्थान गरेको छ ।
दुई दिनको अध्ययनपछि सो टोलीले नेपाली सरकारी टोलीसँग छलफल गर्ने कार्यक्रम रहेको विभागका महानिर्देशक खड्काले बताउनुभयो । चिनियाँ टोलीले चीनमा गएर गैँडा बाँच्नसक्ने बासस्थानलगायत वातावरण निर्माण भएको जानकारी दिएपछि नेपाली प्राविधिक टोली गएर स्थलगत अवलोकन गरेपछि मात्र नेपालले उपहार दिने भनिएको दुई जोडी गैँडा औपचारिक रूपमा हस्तान्तरण गरिने भएको छ ।
विभागका अनुसार चीनले उपहार पाएका गैँडालाई हवाई जहाजबाट लिने व्यवस्था गर्ने जनाएको छ ।
विभागका महानिर्देशक खड्काले भन्नुभयो, उपहार दिइएका गैँडालाई हवाई मार्ग भएर लिनुपर्ने हुन्छ, गैँडालाई असहज नहुने गरी निश्चित उचाइको उडान, उडान अवधिमा अक्सिजनको
व्यवस्था, आहारको पूरा व्यवस्था गर्ने भएपछि मात्र चीनलाई हस्तान्तरण गरिनेछ । त्यसका लागि चीनले नेपाललाई विश्वास दिलाउनुपर्छ ।
एकसिङ्गे गैँडा नेपाल र भारतका जङ्गलमा पाइने गरेको छ । यसको सङ्ख्या करिब दुई हजार छ सय जति रहेको अनुमान गरिएको छ भने नेपालको गत वर्षको गैँडा गणनाले ६४५ वटा गैँडा रेकर्ड गरिएको छ । एकसिङ्गे गैँडाको विश्वको कुल सङ्ख्याको एक तिहाइ नेपालको तराईका जङ्गल, झाडी, बुट्यानमा पाइने गरेको छ । नेपालले गैँडा संरक्षणका लागि विगत केही वर्षयता शून्य शिकार वर्ष
सफल रूपमा सञ्चालनमा ल्याइसकेको छ ।
चितवनदेखि पश्चिम शुक्लाफाटा वन्यजन्तु आरक्षसम्म यसको बासस्थान मानिन्छ । एक सिङ्गे गैँडाका लागि चितवन राष्ट्रिय निकुञ्ज निकै उर्वरभूमि मानिन्छ । दलदल पानी भएको सीमसार क्षेत्रमा बस्न रुचाउने भएकाले गैँडाको लागि चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा गैँडाको सङ्ख्या बढी पाइने गरेको छ । गैँडाले एक दिनमा कम्तीमा २० प्रतिशत समय पानीमा बिताउने गर्छ । चितवनमा हाल गैँडाको सङ्ख्या ६०० पुगेको छ ।
gorkhapatraonline


