आफ्नै बुबालाई रेञ्जरले हेपेपछि वन सेवामा प्रवेश
१८ पुस, काठमाडौं । वन सेवाका कर्मचारीलाई गाउँलेहरु प्रायः ‘वनजाँचे’ भनेर चिन्ने गर्छन् । उनीहरु वन कर्मचारीसँग निकै डराउँछन् । यद्यपि वन कर्मचारीहरु घुस खान्छन् र वन जंगल मास्ने कार्यमा तस्करहरुसँग मिलेका हुन्छन् भन्ने पनि आम मानिसमा छाप छ । यही सिलसिलामा हामीले एक जना दुस्साहसी ‘वनजाँचेसँग उनको रोचक अनुभव सुन्यौं ।
हाल धादिङ जिल्ला वन अधिकृत पदमा कार्यरत चितवन माडीका इमनाथ पौडेलको वनमा काम गर्दाको अनुभव यस्तो छः
बाराको जंगलबाट रामबहादुर बम्जनविरुद्ध जाइलाग्दा…
इमनाथ चितवनबाट इलाका वन अधिकृतका रुपमा बारा जिल्ला सरुवा भएका थिए । ०६८ सालको कुरा हो । बाराको हलखोरिया जंगलमा त्यतिबेला ‘लिटिल बुद्ध’ को नाममा रामबहादुर बम्जनको निकै चर्चा थियो ।
बम्जनको सहयोगका लागि भन्दै हलखोरिया भन्ने ठाउँमा धमाधम टहराहरु बन्न थाले । जिल्ला प्रशासन कार्यालय नयाँ बुद्धको अवतार जन्मिएको भन्दै वन अतिक्रमणबारे पूरै मौन बसेको थियो ।
त्यतिबेला वन अधिकृत पौडेलले रामबहादुर बम्जनका मुख्य सहयोगी भनिने ज्ञानकुमार बम्जनलाई हलखोरिया जंगलबाटै पक्राउ गरेर मुद्दा चलाए । त्यसपछि रामबहादुर बम्जन अहिलेसम्म बारा फर्किएका छैनन् ।
तर, अधिकृत पौडेललाई यसबाट शान्ति मिलेन । बम्जनलाई पक्रिएको विरोधमा चारैतिरबाट उनीमाथि दबाव आउन थाल्यो । पौडेलले मन्त्रालयका सचिवलाई दिनको चारपटक मुद्दाको प्रगति सुनाउनुपर्थ्यो । हरेक रिर्पोटिङमा मुद्दा कहिले टुंगिन्छ, त्यो मान्छे कहिले छुट्छ भनेर बताउनुपर्थ्यो।
पौडेलले अनलाइनखबरसँग भने- ‘बम्जनलाई मुद्दा नचलाई छाडेको भए पनि मलाई केही हुने थिएन, पौडेल भन्छन्, ‘तर, मैले धर्मको बहानामा हुन लागेको वन अतिक्रमण रोक्न सकेँ, यसप्रति आज पनि मलाई गर्व छ ।’

ठेकेदारविरुद्ध जाइलाग्दा
‘लिटिल बुद्ध’ बम्जनविरुद्ध जाइलागेकै बर्ष इमनाथले बारामै ‘क’ क्लासको ठेकेदारविरुद्ध मुद्दा चलाए । उनले ठेकेदारको नाम भन्न चाहेनन् । ती ठेकेदारले चुरे क्षेत्रमा जथाभावी बालुवा र गिट्टी उत्तखनन् गरिरहेका थिए । तर, त्यसरी चुरेबाट गिट्टी/बालुवा उत्खनन् गर्न कानुनले प्रतिवन्ध लगाएको थियो ।
पौडेलले ठेकेदारविरुद्ध कानुनबमोजिम कारबाही अघि बढाए । यसमा उनका विभागीय प्रमुखले ती ठेकेदारलाई मुद्दा नलगाउन र मुद्दा दर्ता भएपश्चात फिर्ता गर्न लगातार दबाव दिइरहे ।
अधिकृत पौडेल भन्छन्- ‘अतिक्रमण विरुद्ध लड्दा हाकिमबाट सहयोग भन्दा उल्टो अवरोध भयो ।’
उनले त्यो घटनालाई यसरी सविस्तार सुनाए-
‘त्यतिबेला म त्यस क्षेत्रको इलाका इञ्चार्ज थिएँ । बाराको गढीमाई मेलाका लागि बाटोको ठेक्का लागेको थियो । ठेकेदारले बाटोका लागि कहाँबाट बालुवा, गिट्टी ल्याउँछ, मलाई थाहा हुने कुरा भएन । तर, सरकारले संरक्षण क्षेत्र घोषणा गरेको ठाउँलाई मैले संरक्षण गर्नुपर्ने हुन्थ्यो ।
ती ठेकेदारले गढीमाई मेलाका लागि सडक निर्माण गर्न भन्दै जथाभावी चुरेबाट बालुवा र गिट्टी उत्खनन् गर्न लाग्यो । मैले ऊविरुद्ध मुद्दा चलाएँ ।
पौडेल उक्त घटना सम्झँदै भन्छन्- ‘तर मैले प्रशासनबाट सहयोग पाइनँ । यतिमात्रै होइन, माथिको आदेश भन्दै नेपाल प्रहरीसमेत कर्मचारीको सुरक्षा र दोषीमाथिको कारबाहीमा सहयोगी भूमिकाबाट पछि हट्यो । सिंगो जिल्ला प्रशासन वन कर्मचारीविरुद्ध ठेकेदारको पक्षमा उभियो ।’
राजनीतिक दल र केन्द्रका विभिन्न सज्जनहरुले पौडेललाई ठेकेदारको मुद्दा फिर्ता लिन दबाव दिए । पौडेल सम्झन्छन्- ‘ब्याकअप नहुँदा नहुँदै पनि एक्लो वृहस्पतिका रुपमा त्यो ‘क क्लास’को ठेकेदारलाई कारबाही गरेरै छाडेँ ।’
त्यसरी काम गर्दा आफूलाई कैयौंपटक ज्यान मार्ने धम्की आएको अधिकृत पौडेल बताउँछन् । उनी भन्छन्, ‘हरेक धम्कीमा मेरो ज्यान मारिएको भए म कयौँपटक मरिसकेको हुन्थें । तर, मलाई कहिल्यै डर लागेन ।’
उनले बाराको निष्कर्ष सुनाउँदै भने ‘सरकारी संरचनाहरुले नै तस्करहरुको मिलोमतोमा काम गर्दा अप्ठेरो परिरहेको छ ।’

तस्करको घेराभित्र परेको दिन
वन सेवामा प्रवेश गरेपछि उनका हरेक वर्षहरु स्मरणीय बनेका छन् । अधिकृत पौडेल जहाँ-जहाँ पुगे, त्यहाँ ठूलै हल्लीखल्ली मच्चियो । ०५३ सालको कुरा हो, तस्करहरु गाडा लिएर जंगलभित्र काठ तस्कर गर्न छिरेको सूचना पाएपश्चात उनी दुईजना हतियारधारी वन रक्षक सहित ५ जनाको टोली लिएर राति नै घटनास्थलतर्फ हिँडे ।
तर, उनको समूहका २ जना हतियारधारीमध्ये एकजना वन रक्षक सोही तस्कर समूहका सहयोगी थिए भन्ने कुरा उनलाई पत्तो थिएन । त्यो दिनलाई स्मरण गर्दै पौडेल भन्छन्-
तस्करीमा हाम्रै वन रक्षक बन्दुक भिर्ने कर्मचारीको समेत संलग्नता रहेछ । जंगलमा गाडा फेला परिहाल्यो, गाडा भेटेर उसलाई कारवाहीको प्रकृया चल्दैथियो, गाउँलेहरु लाठा भाठा, जस्ता घरेलु हतियार बोकेर हुलका हुल वन रक्षक गस्ती टोली नजिकै आए ।
त्यतिबेलै पौडेलको नेतृत्वमा गएका मध्ये तस्करसँग मिलेमतोमा रहेका एकजना हतियारवाला वन रक्षकसहितको टोली पौडेलबाट छुटि्टएर भाग्यो । उनीसँग एउटा हतियारधारी वन रक्षकमात्रै बाँकी थिए ।
निष्कर्ष सुनाउँदै उनी भन्छन्- काम गर्न धेरै चुनौती छ, आफ्नै टिमभित्रै विस्वास गर्न गाह्रो छ
पौडेल भन्छन्, हामी एक स्थानीयको सहयोगमा त्यो घेराबाट भागेर बाँच्यौँ ।
भोलिपल्ट जिल्लाबाट प्रहरी आएर छापा मार्दा गाउँभरि चोरीका काठ फेला परे । संलग्न हरेकलाई पक्राउ गरियो । त्यो घटनाको निष्कर्ष सुनाउँदै उनी भन्छन्- काम गर्न धेरै चुनौती छ, आफ्नै टिमभित्रै विस्वास गर्न गाह्रो छ ।
उदरपुरको भुम्ने तरीमा २२ दिने क्याम्प
पौडेलको मुख्य दुश्मनी वन अतिक्रमण विरुद्ध छ । जब वन अतिक्रमणको घटना सुन्छन् वा देख्छन्, उनले कारवाही थालिहाल्छन् । उनले उदयपुरको भुम्ने तरीमा अतिक्रमण रोक्न २२ दिनसम्म जंगलमै क्याम्प खडा गरेर बसेको घटना यसरी सुनाए-
वि.स. ०५४ सालको कुरा हो, उदयपुरको भुम्ने तरीमा करिब १२ हेक्टर जमीनमा ५६ वटा घरसहित अतिक्रमण भइरहेको थियो । रुखको फेदको बोक्रा खुर्केर रुख सुकाइदिने र मरेको रुख भन्दै काट्ने जस्ता तरिकाले अतिक्रमण भइरहेको थियो । त्यतिबेला म जिल्ला वन कार्यालयअन्र्तगत इलाका इञ्चार्जको भूमिकामा थिएँ ।
मैले प्रमुख जिल्ला अधिकारी, जिल्ला वन अधिकृतलाई अतिक्रमित भूमि देखाएँ । र, अतिक्रमण हटाउने अनुमति मागेँ । त्यहाँ बरामद भएका काठको व्यवस्थापन गरेर २२ दिनपछि कार्यालयमा फर्किएँ ।
उनले थपे- ‘म फर्केर आएपछि अहिले त्यो ठाउँमा सानो शहर भएको छ रे भन्ने सुनेको छु ।’
आफ्नै स्टाफलाई तस्करले बाँधेको दिन
वि.स. ०५९ सालको कुरा हो । पौडेल कपिलवस्तुका जिल्ला वन अधिकृत थिए । काठ तस्करी भैरहेको सूचनाका आधारमा उनी नेतृत्वको टोली गस्तीमा निस्कियो । त्यहाँ आवादी जग्गाको रुख काट्ने नाममा तस्करहरुले जंगल क्षेत्रको रुख काटिरहेका थिए । तस्करहरुले जंगलबाट ल्याएको काठमा पनि टाँचा लगाउन वन कर्मचारीलाई दबाव दिए । तर, पौडेलले मानेनन् ।
टाँचा लगाउन इन्कार गरेपश्चात तस्करले घेराबन्दी गरे । एक रात उनीहरुले त्यहीँ बस्नुपर्यो । भोलिपल्ट जिल्लाबाट थप आर्मी, नेपाल प्रहरी र सशस्त्रले कारबाही गरेर पौडेललाई सुरक्षित रुपमा बाहिर निकाले ।
धादिङ्गमा सज्जन भन्नेहरु नै बाधक
पौडेल करिब एक दर्जन जिल्लाका वन कार्यालयहरु घुम्दै अहिले धादिङ्ग जिल्ला वन अधिकृतको जिम्मेवारीमा छन् । उनी भन्छन्, काम गर्न कर्मचारी मजबुत हुने हो भने धेरै सुधार गर्न सकिन्थ्यो ।
पौडेल धादिङ्गमा अहिले धेरै काठ बरामद भए पनि त्यसलाई कार्यालयसम्म ल्याउन बजेट नभएको बताउँछन् । उनी भन्छन्, ‘बजेट भएको भए मैले कति काम गर्थे हुँला । मसँग भएका कर्मचारीहरु काम गरौँ भन्नेखालका छन्, तर कार्यालयमा उनीहरुलाई खाजा खुवाउने बजेट पनि छैन ।’
उनी भन्छन्,’यस्तो अवस्थामा मैले उनीहरुलाई कसरी काम गर्न बाध्य पारुँ ? इच्छाशक्तिले मात्रै अहिलेसम्म उनीहरुले काम गरिरहेका छन् ।
गर्न खोजियो भने धेरै काम गर्न सकिने उनको विश्वास छ । उनलाई हरेक जिम्मेवारी आफ्नै हो भन्ने लाग्छ । अनि त्यही आत्मबलले उनलाई काम गर्ने उर्जा मिल्छ । उनी भन्छन्- ‘अतिक्रमण बढ्यो भनेर प्रश्न उठ्दा जवाफ दिने मैले नै हो । त्यतिबेला मसँग कर्मचारी छैनन्, बजेट छैन भनेर पनि हुँदैन । त्यसैले जे छ, त्यसैलाई ठूलो कुरो मानेर जिम्मेवारी पूरा गरिरहेको छु ।’
भर्खरै धादिङको जिल्ला वन अधिकृत बनेका उनी भन्छन्- ‘धादिङ्ग लोभीपापी र तस्करहरुको सञ्जाल भएको जिल्ला रहेछ । पूर्वदेखि पश्चिमसम्म धेरै जिल्लामा काम गरेँ, तर धादिङ्गजस्तो अप्ठेरो कहीँ लागेन ।’
उनले थपे- ‘कानुन अनुसार वन अतिक्रमण रोक्न खोज्दा निकै आक्रमण भइरहेका छन् तर मैले यसलाई सजिलै लिइरहेको छु ।’
धादिङमा वन अतिक्रमण रोक्न खोज्दा आफु सञ्जन हुँ भन्नेहरुले नै बढी अवरोध गरेको उनको अनुभव छ ।
उनले धादिङ बसाइको छोटो अनुभव यसरी सुनाए-
‘विधि र प्रकृया अनुसार काम भएको थिएन । मैले कर्मचारीलाई कानुनअनुसार काम गर्न निर्देशन दिने र गाइड गर्ने काम गरेँ । खोलानालाको दोहन, वन क्षेत्रको अतिक्रमण उस्तै छ । जताततै विकृति देखिएपछि मैले केही गर्नैपर्छ भन्ने ठानेँ ।
रेडियो धादिङ र एउटा गैरसरकारी संस्थाले वनभित्रै घर बनाएर बसेको देखेँ । तोकिएको समयमा पनि घर नछाडेपछि अन्यन्त्रजस्तै डोजर लगाएर ढलाएँ । तर, त्यो पहुँचदारको रहेछ
मिडियाहरुबाट धादिङ्गका हाइवे क्षेत्रमा अतिक्रमणको समाचार आयो । गल्छीदेखि विभिन्न ठाउँको अतिक्रमण देखेँ । मैले सुरुमा बैरेनी भल्टारबाट अतिक्रमण रोक्ने अभियान थालेँ ।
यसरी क्रमशः धादिङमा अतिक्रमण रोक्न थालेका बेला ‘गरिबको छाप्रो भत्काउने तर पहुँचवालाले वनमा बनाएको घरचाँहि हटाउनुपर्दैन ? पहुँचवालाले चाँही जे पनि गर्न हुने हो ?’ भन्ने खालका दबाव आए ।
गएर हेर्दा रेडियो धादिङ र एउटा गैरसरकारी संस्थाले वनभित्रै घर बनाएर बसेको देखेँ । तोकिएको समयमा पनि घर नछाडेपछि अन्यन्त्रजस्तै डोजर लगाएर ढलाएँ । तर, त्यो पहुँचदारको रहेछ ।
उनले भने- ‘ती व्यक्तिहरुबाट अवरोध गर्ने प्रयास भयो । रेडियो धादिङ्गको कुरा सर्वोच्चमा गएकाले अहिले फैसला कुरेर बसेको छु ।’
अधिकृत पौडेलले अहिले धादिङमा अनधिकृत रुपमा रहेका सहमिलमा छापा मार्ने र अनधिकृत काठ बरामद गरी कारबाही तिव्र पारेका छन् । ती मान्छेहरु अहिले भागेर काठमाडौबाट विभिन्न मान्छेलाई फोन गराएर प्रेसर गराइरहेका छन् । उनी भन्छन्- ‘जहाँबाट प्रेसर आउँछ, उनीहरुलाई कन्भिन्स गरिरहेको छु ।’
जिल्ला वन अधिकृत पौडेल भन्छन्- ‘कानुनबमोजिम सबै चल्नुपर्छ भन्ने मेरो मान्यता हो ।’
र, आफ्नो कार्यविवरण र कार्यसूची अनुसार नियमित काम गरिरहने उनको प्रतिवद्धता छ । आफ्नो पद, जिम्मेवारी र कानुनले दिएको अधिकारसँग कुनै सम्झौता नगर्ने भन्दै पौडेल भन्छन्- ‘कि कानुन नै संशोधन गरे ल्याउनुपर्यो, मैले अन्तिममा कानुन हेर्छु, र त्यही आधारमा निर्णय गर्छु । त्यसो हुँदा कोही दुःखी हुन्छ भने मेरो भन्नु केही हुँदैन ।’
आफ्नै बुबालाई रेञ्जरले हेपेपछि वन सेवामा प्रवेश
पाटन संयुक्त क्याम्पसमा विज्ञान संकायमा पढ्दै गर्दा वि.सं. ०४० सालसम्म चितवन माडीका इमनाथभित्र भविश्यका लागि कुनै सपना अंकुराउन भ्याएको थिएन । बरु पिता देवराज पौडेल र माता काशीमाया पौडेलका ८ सन्तानमध्ये जेठा छोरा उनीमाथि विस्तारै सात जना भाइबहिनीको जेठो दाजुको जिम्मेवारी पूरा गर्ने दायित्व बढ्दै थियो ।
त्यहीबेला चितवन जिल्ला वन कार्यालयका रेञ्जरले इमनाथका बुवालाई आफ्नै बारीको रुख काटेर घरमा प्रयोग गर्दा दुःख दिए ।
अहिले वन अधिकृत बनेका इमनाथ वाल्यकालको त्यो घटना सम्झँदै भन्छन्, ‘त्यसबेला पहिलोपटक राष्ट्रसेवक कर्मचारीबाट पीडित भएको महसुस गरेँ । सेवा प्रवाह गर्नेभन्दा पनि जनतालाई दुख दिने काम भयो । वन सेवाको रेञ्जरले अनावश्यक दुख दिएपछि मैले वन सेवामै गएर सेवा गर्छु र यस्तो दुख दिन्न भन्ने दृढता गरेर यो पेशामा प्रवेश गरेको हुँ ।’
इमनाथले अलि जोड दिएर भने- माडीमा रेञ्जरले दिएको दुखकै कारण आज म वन सेवाको कर्मचारीका रुपमा छु ।
त्यतिबेला वन सेवाको इतिहास कालो थियो । बाहिरबाट वन सेवाका कर्मचारीलाई हेर्ने सामाजिक दृष्टिकोण पनि उस्तै खराब थियो । पौडेल भन्छन्, वन सेवाभित्र अझै काला धब्बाहरु बाँकी छन् । तर, यसमा केही सुधार चाहिँ आएको हुँ ।
सपनाविनाको यात्रा
वन अधिकृत पौडेलसँग सेवा प्रवेश गर्दैगर्दा कुनै छुट्टै सपना थिएन । एउटा दृढता थियो, ‘माडीमा रेञ्जरले जस्तो गाउँलेलाई कहिल्यै दुख नदिने ।’
राष्ट्रसेवकले सेवाग्राहीलाई दुख दिँदा उनीहरुको मन कति धेरै दुख्छ भन्ने इमनाथ आफैँ उदाहरण थिए । ‘म त्यसो गर्दिनँ भनेर पेसामा आएको हुँ ।’ त्यो दिन सम्झँदै उनी भन्छन्, ‘वन सेवाभित्र के-के सुधार गर्न सकिन्छ भन्ने राम्रो जानकारी त थिएन, तर नराम्रो गर्दिनँ भन्नेमात्रै थियो ।’
पौडेलको बुझाइमा उनी प्रवेश गर्दा वन सेवाको हालत जति विकृत थियो, त्यसमा निकै सुधार आएको छ । इमान्दार अफिसरहरुको प्रभाव त्यहाँभित्र बलियो बन्दै गएको छ । तर, आम नागरिकले वन सेवाका कर्मचारीलाई हेर्ने दृष्टिकोणमा अझै सुधार आउन नसकेको छैन ।
उनी भन्छन्- ‘निजामतीमा जागिर खान म त्यति फिट मान्छे होइन रहेछु । यहाँ जागिर खान धेरैतर्फबाट धेरै सुत्र प्रयोग गर्न जान्ने हुनुपर्ने रहेछ
उसोभए वनसेवाभित्रको विकृति पुरै हटेको हो त ? पौडेललाई त्यस्तो लाग्दैन । सुध्रिएको चाँही पक्का हो, तर अझै धेरै सुधार गर्न बाँकी छ ।
सुरुमा सर्वसाधारणका मनमा वनका कर्मचारी सबै शासक हुन् भन्ने महसुस हुन्थ्यो । कर्मचारीको स्वभाव र व्यवहार पनि त्यस्तै हुन्थ्यो । तर, अहिले यसमा सुधार आएको छ ।
हाकिम विरोधी सुरुवात
कर्मचारीले दिएको दुःखको ईखले पौडेल लोकसेवाको बाटो हुँदै वन सेवाको यात्रामा प्रवेश गरेका थिए । उनको पहिलो पोष्टिङ चितवन जिल्ला वन कार्यालयमा भयो । तर, उनी सरकारी कर्मचारीको स्वभावभित्र ठ्याक्कै जम्न सकेनन् ।
सरकारी जागिरको पहिलो पोष्टिङको अनुभव सुनाउँदै उनी भन्छन्- ‘निजामतीमा जागिर खान म त्यति फिट मान्छे होइन रहेछु । यहाँ जागिर खान धेरैतर्फबाट धेरै सुत्र प्रयोग गर्न जान्ने हुनुपर्ने रहेछ । हाकिमलाई खुशी पार्न सबै प्रकारका हतियार र सुत्र प्रयोग गर्ने क्षमता मसँग थिएन । त्यसो नहुँदा माथि तानिएर जान गाह्रो हुने रहेछ ।’
पहिलो पोस्टिङमै इमनाथको हाकिमसँग झगडा पर्न थाल्यो । पौडेल कर्मचारीले सर्वसाधारणलाई दुःख दिएका कारण निजामति सेवामा आएका थिए । त्यसैले उनी ऐन कानुन मिचेर गलत काम गर्न चाहँदैनथे । तर, अरु कर्मचारीलाई यो शैली पटक्कै मन परेन ।
पौडेल भन्छन्, ‘रुल्स एण्ड ल’ मेन्टेन गर्न खोज्दा कतै हाकिमसँग त कतै समाजका भद्रभलादमी भन्नेहरुसँग नै झगडा पर्न थाल्यो ।’
पौडेलले भएका कानुन विपरीतका काम गर्न अस्वीकार गर्दा हाकिमकहाँ उजुरी पथ्र्यो । माथिबाट हाकिमले ‘त्यति पनि मिलाएर गर्न सक्दैनस्’ भनेर थर्काउँथे ।
आफ्नै हाकिमसँग टकराव पर्न थालेपछि उनलाई काम गर्न निकै अप्ठ्यारो भयो । वन अधिकृत पौडेल भन्छन्- ‘वन सेवाभित्र अहिले पनि यस्तो समस्या बाँकी नै छ ।’
आत्मग्लानी छैन
पौडेलले आजसम्म जति जे काम गरे, उनी त्यसबाट खुसी रहेको बताउँछन् । उनी भन्छन्, ‘मलाई आजसम्म मैले गरेको एउटा काममा पनि आत्मग्लानी भएको छैन ।’
काम गर्ने वातावरण नभएपछि संघर्ष गरिरहेको भन्दै उनले भने ‘म वन संरक्षण र कानुनको कार्यान्वयनमा बढी संलग्न छु । मलाई यसमा गर्व छ ।’
उनको बुझाइमा चोरी निकासी नियन्त्रण, वन अतिक्रमण नियन्त्रण, फँडानी नियन्त्रण जस्ता कार्यहरु गरी वन संरक्षण गर्नु नै अहिलेको मुख्य चुनौती हो । यतिमात्रै काम गर्न सके प्रकृतिले दिएको स्रोत साधनले नेपाल सम्पन्न बन्न सक्ने उनको बुझाइ छ ।
onlinekhabar


