फाइल तस्बिर
गोरखाः उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले एमाले अध्यक्ष केपी शर्मा ओलीले भित्र–भित्र थरीथरीका कुरा गरेर संविधान संशोधन प्रक्रियामा अवरोध पुर्याएको आरोप लगाएका छन् ।
शुक्रबार गोरखामा मन्त्री निधिले सानातिना कुरा गरेर एमालेले सदनलाई बन्धक बनाइरहेको आरोप लगाए । ‘एमाले अध्यक्ष ओली भित्र एकथरी, बाहिर अर्कोथरी कुरा गरेर अल्झाइरहनु हुन्छ’ निधिले भने, ‘हिजो प्रधानमन्त्री कार्यालयमा वार्ता गर्दा न्यायपरिषद्मा हाम्रो कोही पनि नराख्ने ? भन्नुभयो । अनि फेरि मेरो जिल्लामा एमालेलाई हराउन स्थानीय तहको निर्वाचन गर्न खोजेको हो ? भन्नुभयो ।’
उनले व्यवस्थापिका संसद्मा दर्ता भएको विधेयक रोकेर एमालेले संसदीय प्रक्रिया, लोकतान्त्रिक प्रक्रिया र संवैधानिक प्रक्रियाको विरोध गरेको आरोप लगाए ।
‘विपक्षी दललाई संविधान संशोधनको प्रस्ताव बारे छलफल रोक्ने अधिकार छैन’ उनले भने, ‘संविधानको व्यवस्था बमोजिम संशोधन प्रस्ताव पेश गर्ने वा नियमावली बनाउने प्रस्ताव पेश गर्ने अधिकार छ । त्यसलाई रोक्ने अधिकार प्रतिपक्षीलाई वा कसैलाई पनि छैन ।’
अर्को एक प्रसंगमा मन्त्री निधिले नेपाली कांग्रेस पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन गर्न पनि तयार रहेको बताएका छन् । ‘नेपाली कांग्रेसले त पुरानै संरचना अनुसार स्थानीय निकायको निर्वाचनमा गए हुन्छ भनेर भनेको छ’ उनले भने, ‘निर्वाचन ढिला नहोस्।’
निधिले सकेसम्म नयाँ सहमतिका आधारमा निर्वाचन गनुपर्ने र त्यो सम्भव नभए मात्र पुरानो संरचनामा जानुपर्नेमा जोड दिएका छन् ।
annapurnapost


