सिराजुद्दिन खान
नेपालगञ्ज, पुस १५ गते । युवा संघका केन्द्रीय सदस्य एवं बाँके जिल्ला इन्चार्ज सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार गरेर उनको हत्या प्रयास भएको छ । कोहलपुरस्थित वेलकम रेष्टुरेन्टमा खाना खाएर घर फर्कन लागेका बेला बिहीबार राती ९ बजेतिर बुढाथोकी माथि खुकुरी प्रहार गरिएको हो ।
कोहलपुर–११ निवासी ३९ बर्षिय बुढाथोकीको घा“टीमा खुकुरी हानिएका कारण उहाँ गम्भीर घाइते हुनु भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डीएसपी सुरेश काफ्लेले घाइते बुढा थोकीको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार हुननसकेपछि राती १२ बजेनै भारतको लखनउ पठाइएको बताउनु भयो । बुढाथोकीमाथि आक्रमण गरिएपछि उहाँलाई तत्काल नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा पुर्याईएको थियो ।
रेस्टुरेन्टबाट निस्केर बुढाथोकीले झुकेर मोटरसाइकल सफा गर्न लाग्दा उहाँसंगै वेलकम रेस्टुरेन्टमा खाना खाएका र उहाँका परिचित लक्ष्मण मल्लले घाँटीमा खुकुरी प्रहार गरेको डिएसपी काफ्लेले बताउनु भयो । युवा संघका नेता बुढाथोकी कोहलपुर स्नुकर हाउसमा स्नुकर खेलेर वेलकम रेस्टुरेन्टमा खाना खान पस्नु भएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।
घाँटीमा खुकुरी प्रहार गरिएपछि गम्भीर घाइते हुनुभएका बुढाथोकी ।
आक्रमणकारीको पहिचान भइसकेको जानकारी दिँदै चारै तिर नाका बन्दी गरेर रातीबाटै मल्लको खोजी भैरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्नताको आशंकामा प्रहरीले कोहलपुर स्नुकर हाउसका सञ्चालक विमल सेन र उनीस“गै रहेका सुदिप सुवेदीसहित ५ जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरिसकेको डिएसपी काफ्लेले बताउनु भयो ।
डिएसपी काफ्लेले मध्यरातबाटै प्रहरी आक्रमणकारीको खोजीमा जिल्लाको चारै तिर परिचालित रहेको जानकारी दिंदै पानी मूनि गएपनि अपराधीलाई नछाड्ने बताउनु भयो ।
घटना लगत्तै अस्पतालमा बुढाथोकीका समर्थकहरुको ठूलो भीड लागेको थियो । उता, युवा संघ बाँकेले घटनाको कडा निन्दा गर्दै घट्नालाई सुनियोजित भन्दै अपराधीलाई तत्काल पक्राउ नगरिए आन्दोलनको घोषणा गर्ने चेतावनी दिएको छ ।
युवा संघका नेताहरुमाथि श्रृंखलावद्ध रुपले आक्रमण र हत्या तथा हत्या प्रयास भैरहेकोले घटनालाईे निकै गम्भीर ढंगले लिएको जनाउँदै युवा संघका नेता रविन्द्र लम्सालले अपराधी पक्राउ न परे परिणाम गम्भीर हुनसक्ने बताउनु भयो ।
घट्नाको नेकपा एमाले बाँकेले पनि कडा शब्दमा निन्दा एवं भत्र्सना गरेको छ । स्मरण रहोस गत साता मात्रै बुटवलमा युवा संघका जिल्ला अध्यक्षको हत्या गरिएको थियो ।
gorkhapatraonline




















