ट्राफिक जाम हटाउन राजधानीमा बन्दैछन् फ्लाइओभर
१८ मंसिर, काठमाडौं । ट्राफिक जामविनै राजधानीको सडकमा सरर सवारी साधन गुडाउने राजधानीबासीहरुमा रहर छ । तर, यसलाई अहिलेसम्म सपनाजस्तै ठान्ने गरिएको छ ।
तर, सरकारी योजनाअनुसार कामअघि बढ्यो भने यो सपनामा मात्रै सीमित हुने होइन, विपनामै परिणत हुँदैछ । सरकारले राजधानीका विभिन्न स्थानमा फ्लाइओभर बनाउने योजना बनाएको छ । त्रिपुरेश्वरदेखि माइतीघरसम्मको फ्लाइओभरको अध्ययनसमेत गरिसकिएको छ ।
सडक विभागको बैदेशिक महाशाखाका प्रमुख सञ्जय कुमार श्रेष्ठका अनुसार जापानी सहयोग नियोगले त्रिपुरेश्वर- माइतीघरको अध्ययन गरिसकेको छ । उनले अनलाइनखअबरसँग भने ‘यही अहिलेकै सडक अनुसार गाडी गुडाउने हो भने सन् २०३० पछि आफ्नो गन्तब्यमा पुग्न २ घन्टा अघि हिँड्नुपर्छ त्यसैले हामीले फ्लाइओभरको योजना अघि सारेका हौं । ‘
श्रेष्ठका अनुसार सरकारले राजधानीका अन्य स्थानमा पनि फ्लाइओभर बनाउने भने पनि तिनको भने अध्ययन हुन सकेको छैन ।
त्रिपुरेश्वर- माइतीघरका बारेमा जाइकाले सरकारलाई ड्राफ्ट रिपोर्ट बुझाइसकेको छ । जसमा त्रिपुरेश्वरबाट माइतीघरसम्म सिधा फ्लाइओभर बनाउनुपर्ने देखाइएको छ । अहिलेको सडक थापाथलीसम्म पुग्नुपर्ने घुमाउरो छ ।
यो फ्लाइओभरको निर्माण भएपश्चात त्रिपुरेश्वरबाट सिधै माइतीघर पुगिनेछ र यसबाट थापाथली भएर घुम्नुपर्ने बाध्यता टर्ने छ । साथै यसबाट त्रिपुरेश्वर, थापाली र माइतीघरको जाम पनि पूर्णरुपमा हट्ने छ ।
जाइकाले यसको अन्तिम रिपोर्ट दुई/तीन दिनभित्रै बुझाउन लागेको श्रेष्ठले बताए । ड्राफ्ट रिपोर्टअनुसार यो फ्लाइओभर निर्माण क्रममा नेपाली सेना र त्रिभुवन विश्वविद्यालयको केही जग्गा काटिने भएकाले यसको निर्माणमा सैनिक र त्रिभुवन विश्वविद्यालयको पनि सहमति आवश्यक पर्ने देखिएको छ ।
श्रेष्ठका अनुसार यो फ्लाइओभर करिब १ किलोमिटरको हुनेछ । जुन चार लेनको बनाउने सरकारको योजना छ ।
राजधानीमा अहिले दुईदेखि तीन किलोमिटर यात्रा गर्दा झन्डै १० मिनेटजति जाममा बस्नुपर्ने बाध्यता छ । यही दरमा राजधानीमा सवारीको चाप बढेर जाने हो भने केही वर्षमा काठमाडौंमा सवारी साधन व्यवस्थापन गर्न राज्यलाई ठूलो चुनौति बन्ने देखिन्छ।
माइतीघरपछि अन्यत्र पनि फ्लाइओभर
यस्तै समस्याको निराकरण गर्न सरकारले त्रिपुरेश्वर – माइतिघरका साथै चावहिल, कोटेश्वर र महाराजगञ्जमा पनि फ्लाइओभर बनाउने योजना बनाएको छ ।
तर यी स्थानमा फ्लाओभरको निर्माण गर्न अध्ययन भने अघि बढेको छैन । कलंकीमा अन्डरपास निर्माण गर्ने प्रक्रिया अघि बढाइएको छ ।
बानेश्वरमा भने फ्लाइओभर निर्माण गर्ने वा अन्डर पास निर्माण गर्ने भनेर अझै कुनै टुङ्गो लागेको छैन ।
गत मंसिर ६ गते एक कार्यक्रममा बोल्दै भौतिक योजना, पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले उपत्यकामा देखिएको ट्राफिक जामको समस्या समाधानको लागि पनि आफूले विशेष कार्ययोजना अघि ल्याउन लागेको बताएका थिए । तर, सरकारी निकायहरुमा भने यसबारेमा कुनै तयारी देखिँदैन ।
त्रिपुरेश्वर – माइतिघरदेखि बाहेक अन्य स्थानमा बनाउने भनिएका फ्लाइओभरको अध्ययनसमेत सुरु भएको छैन । नेपालका लागि जापानी राजदुत मासासी ओगावाले गत भदौमा सहरी विकास मन्त्री अर्जुननरसिंह केसीसँग भेट गर्दै जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाईका) मार्फत काठमाडौँको ट्राफिक समस्या समाधान गर्न त्रिपुरेश्वरदेखि माइतीघरसम्म फ्लाइओभर ब्रिज निर्माण गर्ने विषयलाई प्राथमिकतामा राखेको बताएका थिए ।
अन्तर्राष्ट्रिय निकायहरुले देशका विकास निर्माणका क्रममा चासो बढाइरहँदा सरकारले भने खासै ठोस योजना सार्वजनिक गर्न सकेको छैन ।
पूर्व अर्थमन्त्री रामशरण महतले ०७२/०७३ मा सार्वजनिक गरेको बजेटमा आवागमन सहज बनाउन उपत्यका बाहिरका सडकमा समेत फ्लाइओभरको निर्माण गर्ने भने पनि अहिलेसम्म काठमाडौं उपत्यकामै एउटा फ्लाइओभरको समेत निर्माण कार्य सुरु हुन सकेको छैन ।
onlinekhabar



