काठमाडौंः नेपालमा करोडौं रुपैयाँ ठगी गरी भारतको लखनउमा लुकेर व्यवसाय गर्दै आएका प्युठान, तोर्बाङका ईश्वरीप्रसाद पोख्रेल पक्राउ परेका छन् । अमेरिकी भिसाका लागि अन्तर्वार्ता दिन नेपालस्थित अमेरिकी दूतावास आएका बेला प्रहरीले उनलाई कमलपोखरीबाट नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार पोख्रेलविरुद्ध सुरुमा २३ जनालाई इजरायल पठाउने नाममा एक करोड पाँच लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । अनुसन्धानमा उनी ठगीका ‘मास्टरमाइन्ड’ रहेको रहस्य खुलेपछि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो । उनले सन्दीप दर्नाल, भीमबहादुर दर्जी, शान्ति राईलगायत २३ जनालाई वैदेशिक रोजगारका लागि इजरायल पठाउने भनी एक करोड रुपैयाँ ठगी गरेको उजुरी छ ।
त्यतिमात्रै होइन सुदीपराज पन्तलाई दक्षिण कोरिया पठाउने भनी तीन लाख, रोजन लामालाई राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिने नाममा दुई लाख ५० हजार लिएर ठगी गरेको आरोप उनीमाथि छ ।
यी आरोपबारे केलाउँदै जाँदा पोख्रेलको अन्य आपराधिक पृष्ठभूमिका फाइल खोलिए । जसअनुसार उनले २०६७ मा नबिल बैंक र किस्ट बैंकलाई ठगी गरेको मुद्दामा दुई वर्ष कैद र दुई लाख २९ हजार रुपैयाँ जरिबाना तिरेका रहेछन् । २०७२ सालमा बाँके जिल्ला अदालतबाट उनीविरुद्ध ठगी मुद्दा दर्ता भई पुर्पक्ष भइरहेको अनुसन्धानबाट खुल्यो । भारतको लखनउ बस्दा उनले लखनउ र गोरखपुरका इन्दुसिन्ड बैंकमा खाता खोलेर सवारी चालक अनुमतिपत्र लिएका थिए ।
ठगी धन्दाबारे कसैलाई थाहा नदिन उनले लक्ष्मण रिजालका नाममा हिमालय बैंकको एटीएम कार्डसमेत चलाउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । नवलपरासीमा ग्रिन सिटी, कृषि फर्म तथा बाख्रा प्रशोधन केन्द्र दर्ता गरी विभिन्न बैंक, वित्तीय संस्था एवं व्यक्तिलाई ठगी गर्ने गरेको आरोप उनीमाथि छ ।
नेपालमा ठगी गरेको पैसाले भारतको लखनउमा मोटर पार्ट्स सप्लायर्सको काम गर्दै आएका उनले अमेरिका जाने तयारी गरेको सूचना पाएपछि प्रहरीले निगरानी बढाएको थियो । बुधबार अपराह्न दूतावासमा अन्तर्वार्ता सकिएर कमलपोखरीमा भारतीय नम्बर प्लेटको गाडी चढ्दै गरेका उनलाई महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो ।
कमलपोखरीमै रहेको होटल क्राउनमा बस्दै आएका पोख्रेलले सम्पत्ति लुकाउन श्रीमतीसँग पारपाचुके गरेको कागजसमेत बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तर प्रहरीले बुझ्दा पतिपत्नीबीच अझै सम्बन्ध प्रगाढ रहेको पाएको छ । ‘सुरुमा पोख्रेलविरुद्ध आएको उजुरी हेर्दा सामान्य जस्तो लागेको थियो, घटनाको गहिराइसम्म पुग्दा त उनी नटवरलाल पो निस्किए,’ महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने, ‘दूतावासमा अन्तर्वार्ता लिन आएका बेला समात्न सफल भयौं, उनले थुपै्रको करोडौं रुपैयाँ ठगेका छन् ।’ उनीविरुद्ध बाँके र मोरङ प्रहरीमा समेत ठगी मुद्दा रहेको महाशाखाले जनाएको छ ।
वामदेव र जनार्दनका नाममा ठगी
ठगी धन्दा गर्न पोख्रेलले एमाले नेता एवं गृहमन्त्री वामदेव गौतम र नेकपा माओवादी केन्द्रका नेता एवं ऊर्जामन्त्री जनार्दन शर्माको नाम लिँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उनले गौतम गृहमन्त्री रहेका समयमा पीडितलाई सिंहदरबारभित्रै बोलाएर ‘मैले गृहमन्त्रीलाई भेटें, राष्ट्रिय अनुसन्धान विभागमा तपाईंको जागिर पक्का हुने भयो’ भन्दै पैसा असुलेको पीडितले बयान दिएका छन् । महाशाखाका अनुसार पोख्रेलले २०६७ मा शर्मा र अर्का माओवादी नेता हिमाल शर्माको नाममा नबिल र किस्ट बैंकमा नक्कली खाता खोलेका थिए ।
तत्कालीन समयमा पोख्रेलले किस्ट बैंकका म्यानेजरलाई जनार्दन शर्मा नै बोलेको भनेर पटकपटक गरी लाखौं रुपैयाँ लिएर फरार भएका थिए । सोही अभियोगमा उनीमाथि अदालतले दुई वर्ष कैद र दुई लाख २९ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
annapurnapost



