निजी अस्पतालमा कार्यरत चिकित्सकहरुले पनि गरे २ घन्टा ओपिडी बहिष्कार
मंसिर १७, २०७३- प्राडा गोविन्द केसीको अनसन आज २० औं दिनमा प्रवेश गरेको छ । चिकित्सा शिक्षा र समग्र चिकित्सा क्षेत्रकै सुधारका निम्ती उनी दशौंपटक आमरण अनशनमा बसेका हुन् । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको उनको स्वास्थ्योपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
डा. केसीको समर्थनमा आज सरकारी चिकित्सक संघ (गोदन)को आह्वानमा देशभरमा सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवामा चिकित्सकहरु सामेल भएका छैनन् । यस्तै नेपाल चिकित्सक संघको आह्वानमा सम्पूर्ण निजी अस्पतालमा पनि बिहान १० बजेदेखि १२ बजेसम्म ओपिडी सेवा बन्द गरिएको छ ।
न्याम्स र त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टरहरु आकस्मिक बाहेकका अन्य सेवामा सामेल भएका छैनन् । उनीहरुले आजै डा. केसीको समर्थनमा राजधानीमा र्यालीको समेत आयोजना गर्दैछन् ।
डा. केसीको माग सम्बोधन गर्नका लागि आज पनि केसी र सरकारी प्रतिनिधिबीच वार्ता हुँदै छ । डा. केसीले त्रिवि उपकुलपति तीर्थ खनिया र आइओएमका डिन केपी सिंहले पद नछोडेसम्म अनसन जारी राख्ने बताउँदै आएका छन् ।
डा. केसीका प्रतिनिधि र सरकारी पक्षबीच शिक्षा मन्त्रालयमा बिहीबार वार्ता राति अबेरसम्म भए पनि सरकारले कुनै ठोस प्रस्ताव नल्याएकाले टुंगोमा पुग्न नसकेको केसीका प्रतिनिधि डा. राजेन्द्र वाग्लेले राति ११ बजे बताए । वार्ता अबेरसम्म चलेकाले नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठलगायतका प्रतिनिधिहरू पहिल्यै बाहिरिएका थिए । ‘रातको साढे १० बजेसम्म बस्दा पनि टुंगोमा पुग्न सकिने स्थिति नदेखिएपछि हामी वार्तास्थलबाट निस्किएका छौं,’ संघका अध्यक्ष श्रेष्ठले कान्तिपुरसँग भने, ‘हाम्रो विरोध र संघर्षका कार्यक्रमहरू जारी नै रहनेछन् ।’
डा. वाग्लेले लामो छलफल भए पनि सरकारी पक्ष आफ्ना मागमा लचिलो हुन तयार नदेखिएको बताए । वार्ता त्रिवि उपकुलपति तीर्थ खनियाँको बर्खास्तगी, चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा. केपी सिंहको राजीनामा र त्यहाँ प्राध्यापक भएको वरिष्ठताका आधारमा नियुक्तिबारे केन्द्रित थियो ।
वार्तामा संलग्न डा. सचित शर्माले पनि सरकारी पक्षले ठोस प्रस्ताव ल्याउन नसकेको गुनासो गरे । वार्तामा स्वास्थ्यमन्त्री गगन थापा र शिक्षामन्त्री धनीराम पौडेलसमेत रहेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबारै डा. केसीका माग सम्बोधन गर्न शिक्षा र स्वास्थ्यमन्त्रीलाई निर्देशन दिएका थिए ।
शिक्षामन्त्री पौडेल र स्वास्थ्यमन्त्री थापालाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएरै उनले निर्देशन दिएका हुन् ।
डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि प्रधानमन्त्रीले चासो लिएका हुन् । यसैबीच, चिकित्सा शिक्षा सुधारका लागि रमेशकान्त अधिकारीको संयोजकत्वमा बनेको कार्यदलले सरकारलाई प्रतिवेदनसमेत बुझाउने जनाएको छ ।
ekantipur



