इम्जा हिमतालकाे निकास ।
संरचनाको अाज औपचारिक उद्घाटन
मंसिर ८, २०७३- विष्फोटको उच्च जोखिममा रहेको इम्जा हिमतालमा जडान गरिएको पानी निकास हुने संरचनाको बुधवार उद्घाटन गरिएको छ ।
नेपाली सेनाका प्राविधिकले इम्जा हिमतालको पानीको जलसतह करिब साढे तीन मिटर तल झार्दै पानी निकासका लागि स्थापना गरेको संरचना बुधवार बिहान वातावरणमन्त्री जयदेव जोशी र रक्षामन्त्री बालकृष्ण खाँडले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत् सञ्चालित ‘समुदायमा आधारित बाढी तथा हिमताल विष्फोट जोखिम न्युनीकरण आयोजना’मार्फत् इम्जा हिमतालको पानीको सतह ३.४ मिटर तल झार्ने काम गत महिना सम्पन्न भएको थियो ।
विश्व वातावरण कोष (जिएयफए) र राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) को आर्थिक तथा प्राविधिक सहयोगमा नेपाली सेनाको इन्जिनियरिङ विभागका प्राविधिकले करिब ४ महिना लगाएर हिमतालको पानीको सतह ३.४ मिटर घटाउने संरचना निर्माण गरेको थियो ।
जलवायु परिवर्तनका हिसाबले अति कम विकसित राष्ट्र (एलडीससी) को राष्ट्रिय अनुकुलन कार्ययोजनाबाट प्राप्त हुने आर्थिक सहयोगमार्फत् हिमतालबाट निम्तिने जोखिम न्युन गर्न उक्त आयोजना सञ्चालन भएको थियो । सन् १९६० तिर सानो पोखरीको रुपमा देखिएको इम्जा अहिले बढेर १.२८ वर्गकिलोमिटरमा फैलिएको छ भने तालमा ७ करोड ५२ लाख घनमिटर पानी छ । यसको गहिराई १५० मिटर छ ।
विभागका महानिर्देशक डा. ऋषीराम शर्माले हिमतालको पानीको सतह घटाई जोखिम न्युनीकरण गर्ने कार्यका लागि करिब ३१ करोड रुपैयाँ खर्च भएको बताए । गत वर्षको फागुन ४ मा सरकारले इम्जा हिमतालको पानीको सतह घटाउने जिम्मा सेनालाई दिने निर्णय गरे अनुसार गत वैशाखमा विभाग र सेनाबीच सम्झौता भएको थियो ।

शर्माका अनुसार हिमताल र यसको संभावित विष्फोटनबारे सूचना सम्प्रेषण गर्नका निम्ति स्वचालित पूर्व सूचना प्रणालीसमेत जडान गरिएको छ । ‘डिङबोचे, पाङबोचे, फुङ्गीथाङ्का, जोरसल्ले, फाक्दिङ र घाटजस्ता ६ वटा उच्च जोखिमयुक्त वस्तीमा विष्फोटको सूचना स्वचालित साइरनमार्फत् सम्प्रेषण गर्ने प्रविधि जडान गरिएको छ,’ शर्माले भने, ‘यसले सम्भावित हिमताल विष्फोटको सूचना समयमै तल्लोतटीय क्षेत्रका समुदायमा सम्प्रेषण हुने भएकाले भौतिक र मानवीय क्षती न्युनीकरण हुने अपेक्षा छ ।’
आयोजनाका कार्यक्रम व्यवस्थापक टोपबहादुर खत्रीका अनुसार इम्जा तलको दुधकोशी नदीको ५० किलोमिटर तल्लोतटीय आसपासका १८ वटा संवेदनशिल स्थानमा समुदायमा आधारित पूर्व सूचना प्रणालीका उपकरणसमेत हस्तान्तरण गरिएको छ । ‘बाढीबाट जोगिन भौतिक पूर्वाधार र खेतीयोग्य जमिन र धनजन संरक्षणका लागिसमेत विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ,’ खत्रीले कान्तिपुरलाई भने ।
खत्रीले हिमतालको जोखिम घटाउने संरचना निर्माणगसंगै सगरमाथाक्षेत्रमा वर्षेनी भ्रमण गर्ने ९६ हजार ५ सय ६२ स्वदेशी तथा विदेशी पर्यटक, पथप्रदशक र सहयोगी लाभान्वित भएकोसमेत बताए । जोखिम न्युनीकरणबारे जानकारी दिन जोखिमयुक्त मानिएका वस्तीमा १२ वटा कार्यदल बनाइएको छ । कार्यदलभित्र खोज तथा उद्धार, प्राथमिक उपचार र पूर्व सूचना प्रणालीका उपकरण हस्तान्तरण गरिनुका साथै प्रयोग विधिबारे तालिम दिइएको छ ।
यस्तै, जोखिमयुक्त मानिएका वस्तीमा हिमताल विष्फोटनको जोखिम न्युनीकरण तथा व्यवस्थापन तथा हिमताल विष्फोटन बाढी (ग्लफ) बारे तालिमसमेत दिइएको छ । आयोजनाले जोखिम न्युनीकरणसम्वन्धि सन्देशमुलक जानकारी दिन नेपाली तथा शेर्पा भाषामा एफएमबाटसमेत नियमित रुपमा समुदायलाई सुसूचित गर्दै आएको छ ।
ekantipur



