काठमाडौँ, मङ्सिर ८ गते । कुनै समयमा मानिसका सन्देश एक ठाउँबाट अर्को ठाउँमा रहेका मानिससम्म पु¥याउन भरपर्दो माध्यमका रुपमा रहेको हुलाक सेवा अहिले निकै कम प्रयोग हुने गरेको छ ।
आधुनिक प्रविधिमा मानिसको पहुँच बढेसँगै चिठीका माध्यमबाट सन्देश पठाउने हुलाकको प्रयोग कम हुदैँ गएको हो ।
देशभरका कुनाकुनामा पुगेको हुलाक सेवाका माध्यमबाट देश विदेशसम्म रहेका आफ्ना आफन्तलाई हालखबर पु¥याउन हुलाक सेवा भरपर्दो माध्यमको रुपमा रहेको छ ।
हुलाक सेवा विभागका निर्देशक राजन पौडेल पनि आधुनिक प्रविधिले प्रभूत्व जमाउन थालेपछि पहिलेको जस्तो हुलाकबाट पत्र पठाउने चलन हराएको बताउनुुहुन्छ ।
अहिले हरेक मानिसका हातहातमा आधुनिक मोबाइल फोन छन् । देश विदेशसम्म कुरा गर्न सहज भएको छ । हरेक दिन फोनमा भिडियो च्याट गर्दै कुरा गर्ने सुविधा छ । जसका कारण गाउँघरको हालखबर पनि सजिलै थाहा पाउन सकिन्छ ।
पहिले श्रीमान् विदेश हँुदा चिठीका माध्यमबाट हालखबर पु¥याउने बर्दिया हाल पेप्सीखोला काठमाडौँ बस्ने शारदा खड्का पनि आजभोलि मोबाइल, भाइवरका माध्यमबाट कुरा गर्नुहुन्छ ।
पहिले महिनौसम्म कुरा नहुने उहाँ अहिले दिनमै तीन, चार पटकसम्म कुरा गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘‘पहिले पो चिठी पुग्न निकै समय लाग्थ्यो । अनि महिनौँ खबर थाहा हुन्नथ्यो । अहिले त इन्टरनेटमा सित्तैमा कुरा गर्न सकिन्छ । अनि किन चिठी लेख्ने रु’’
गोरखाकी ७९ वर्षींया माकुरी न्यौपाने पनि अहिले मोबाइलबाटै विदेशमा रहेका छोरानातिसँग कुरा गर्नुहुन्छ । उपचारका लागि काठमाडौँ आउनुभएकी उहाँले पहिलेपहिले गाउँमा पढेलेखेलाई चिठी लेख्न लगाउनुहुन्थ्यो । उताबाट आएको चिठी पनि अरुले नै पढिदिन्थे ।
उहाँ भन्नुहुन्छ, ‘‘अहिले त मोबाइल दिएका छन् । फोन आयो भने हरियो बटन दबाएर उठाउनु भनेका छन् । त्यसै गर्छु र कुरा गर्छु । आफूले गर्न त जान्दिन । डायरीमा नाम नम्बर लेखिदिएका छन्, जान्नेलाई डायल गरी दिन भनेर कुरा गर्ने गरेकी छु । चिठी नलेखाएको त वषौँ भयो नि ।’’ उहाँले पहिलेजस्तो खबर थाहा पाउन महिनौँ कुनुपर्ने बाध्यता टरेको बताउनुहुन्छ ।
अहिले देभभर इलाका र अतिरिक्त गरी ८५० हुलाक सेवा सञ्चालित छन् । यहाँका कर्मचारी पनि अहिले काम विहीन भएर बसेका छन् ।
गाउँगाउँसम्म पनि अहिले मोबाइलको पहुँच पुगिसकेको अवस्थामा हुलाक सेवालाई आधुनिक प्रविधिसँग मिलाएर लैजानुपर्ने आवश्यकता विभागले पनि महसुस गरेको बताउनुन्छ निर्देशक पौडेल ।
उहाँले अब गाउँमा जहाँ इमेल इन्टरनेटको सुविधा छैन । त्यस्ता ठाउँमा खोलिएका टेलीसेन्टरलाई व्यवस्थित गर्दै लाने विषयमा काम गरिहरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘कतिपय स्थानमा मोबाइल पुगेपनि इन्टरनेटको सुविधा छैन । त्यस्ता ठाउँमा डकुमेन्ट पठाउन, कम्प्युटर सिकाउन टेलीसेन्टरले काम गर्ने गरेको छ ।’’
सरकारले हुलाकको प्रयोग घट्न थालेपछि २०६४ सालमा देशभर चारसय टेलीसेन्टर स्थापना गरेको थियो ।
विभागले १०१ टेलीसेन्टर थप गरी जनशक्ति थपेर त्यहाँ अन्य सूचना पनि दिनका लागि डिस्प्ले राख्ने सोच बनाएको प्रस्तावना मन्त्रालयमा पठाएको छ ।
अहिले टेलीसेन्टरमा कम्प्युटर तालिम लिएको व्यक्तिलाई करारमा राखिएको छ । भने सङ्घीय संरचनामा हुलाकको संरचना कस्तो हुने भन्ने विषयमा अध्ययन गरी खाका तयार गर्न पनि विभागले पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।
विभागका महानिर्देशक सुरेश अधिकारीको संयोजकत्वमा गठन गरिएको कार्यदलले सात दिनभित्र स्थानीय तहसम्म रहेको हुलाकको सङ्घीय संरचनाको स्वरूपबारे प्रतिवेदन तयार गरी सूचना तथा सञ्चार मन्त्रालयमा बुझाउने छ ।
रासस



