तीन दिनदेखि सरकारी कार्यालय ठप्प
७ मंसिर, मुगु । रारा, कालै र धैनकोट गाविसलाई मिलाएर एउटा गाउँपालिका बनाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका मुगुबासीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले मंगलबार संघर्ष समिति संयोजक, दानबहादुर शाही, धर्मराज शाही, देविलाल मल्ल, पद्मनाथ योगी लगायत ८ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्राविधिक समितिले मुगुमा चार गाउँपालिका हुनुपर्ने प्रस्तावसहितको प्रतिवेदन केन्द्रमा पठाएको छ । त्यसमा असहमति जनाउँदै रारा, कालै र धैनकोट गाविसका बासिन्दा सदरमुकाममा आएर आन्दोलन गर्दै आएका छन् ।
‘केन्द्रले अधिकतम पाँच गाउँपालिका बनाएर पठाउन भने पनि यहाँका राजनीतिक दलहरुले भागबण्डा गरेर चार गाउँपालिका मात्रै बनाएर पठाए,’ संघर्ष समितिको युवा दस्ता संयोजक धर्मराज शाहीले अनलाइनखबरसँग भने, ‘रारा, कालै र धैनकोट गाविसलाई समेटेर अर्को छुट्टै गाउँपालिका बनाउनुपर्छ ।’
बाल बच्चा बोकेर गाउँ-गाउँबाट दुई-तीन दिन पैदल हिँडेर आफूहरु अधिकार माग्न सदरमुकाम आए पनि प्रहरीले धरपकड गरेर शान्तिपूर्ण आन्दोलनमा दमन गरेको उनले आरोप लगाए ।
प्रस्तावित प्रतिवेदन सच्याउन माग गर्दै रारा, कालै र धैनकोट गाविसका बासिन्दाले १९ दिनदेखि आन्दोलन गर्दै आएका छन् । गत शुक्रबारदेखि दोस्रो चरणको आन्दोलन सुरु गरेका उनीहरुले तीन दिनदेखि सदरमुकाम गमगढीका सरकारी कार्यालयहरु ठप्प पारेका छन् । सोमबार आन्दोलनमा उत्रिएकाहरुमाथि प्रहरीले हस्तक्षेप गर्दा केही घाइतेसमेत भएका थिए ।
मंगलबार प्रदर्शनको कुनै कार्यक्रम नभएका बेला प्रहरीले संघर्ष समिति संयोजक दानबहादुर शाहीलाई विजय होटलबाट र युवा दस्ता संयोजक धर्मराज शाहीसहित तीन जनालाई गमगढीको बिच बजारबाट पक्राउ गरेको छ ।
onlinekhabar



