३ मंसिर, काठमाडौं । नेपालले तेस्रो मुलुकबाट हुने आयातका लागि विशाखापटम बन्दरगाह कसरी प्रयोग गर्ने भन्ने प्रोटोकल भारतले तय गरेको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा यो बन्दरगाह नेपाललाई प्रयोग गर्न दिने सहमति भएको थियो । तर, प्रोटोकल तय हुन सकेको थिएन । पछिल्लो पटक नेपालले चीनसँग भएको पारबहन सम्झौताको प्रोटोकलबारे छलफल सुरु गरेलगतै भारतले विशाखापटनम बन्दरगाह प्रयोगबारे प्रोटोकल सार्वजनिक गरेको हो ।
भारतको भन्सार विभागले बन्दरगाहबाट नेपालले सामान आयात निर्यात कसरी गर्ने भन्ने कार्यविधि सार्वजनिक गरेको छ । यससँगै पश्चिम बंगालमा भएको हल्दिया बन्दरगाह मात्र प्रयोग गर्दै आएको नेपालले आन्द्र प्रदेशमा रहको यो बन्दरगाह पनि प्रयोग गर्न सक्छ ।
भन्सार विभागका आयुक्त सी राजेन्दरनले नोभेम्बर १५ मा जारी गरेको सूचनाअनुसार विशाखापट्नम भन्सारमा जाँच पास दिनेछ । र, नेपाल-भारतबीच भएको रेल सम्झौताअनुसार रेलमा राखेर वीरगञ्जको सुख्खा बन्दरगाहसम्म ल्याउन सकिनेछ ।
भन्सार अधिकारीले बिशाखापटनमा ‘वान टाइम लक’ लगाएपछि सामान पठाइनेछ । र, १४ घन्टामा वीरगञ्ज आइपुग्नेछ ।
बिशाखापटनम बन्दरगाहका सहायक अध्यक्ष पीएल हर्नादका अनुसार सामान ओसार पसारका लागि अहिले वीरगञ्ज र विशाखापटमबीच सातामा एउटा ट्रेन गुड्नेछ । १४०० किलोमिटर गुड्ने रेलमा ९० वटा बक्स हुनेछन्, जुन प्रतिघन्टा १०० किलोमिटरको गतिमा गुड्छ ।
हल्दियाभन्दा टाढा भएपनि निशाखापटनममा ठूला जहाजहरु आउन सक्ने भएकाले नेपालको आयात निर्यात खर्च घट्ने अनुमान छ । यो बन्दरगाह भएर चीनबाट आउने सामान ल्याउन सकिन्छ ।
onlinekhabar



