मंसिर २, २०७३- शिक्षामन्त्री धनीराम पौडेलले शैक्षिक सत्रको मध्यमा सम्बन्धन दिन लागेपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारी संघ संगठनले दुई घण्टादेखि उपाध्यक्ष, सदस्य सचिव र निर्देशकहरुलाई घेराबन्दीमा राखेका छन् । आफ्नै अस्पताल नभएका, सरकारी अस्पताल देखाउने संस्थालाई सम्बन्धन दिन मन्त्री पौडेलले बिहीबार अपरान्ह बैठक राखेका थिए ।
मंगलबार जबरजस्ती निर्णय गराउन खोजे पनि कर्मचारी र परिषद् सदस्यहरुको विरोधले रोकिएको थियो । सीटीईभीटीका उपाध्यक्ष कुलबहादुर बस्नेत, निमित्त सदस्य सचिव रमेश बखती, निर्देशकहरु विनय मिश्र, पुष्प वाग्ले, दिपक पौडेल, टेकबहादुर मल्ल लगायतलाई कर्मचारीहरुले
प्राविधिक प्रशिक्षण प्रतिष्ठान (टीआईटीआई)को हलमा दिउँसो एक बजेदेखि थुनेर राखेका छन् । ‘उहाँहरुलाई भित्र राखेर ढोका लगाएका छौ,’ सीटीईभीटी कर्मचारी संघका अध्यक्ष देवदत्त बडुले भने, ‘हामी ढोकामा बसेर उहाँहरुलाई बाहिर निस्कन दिएका छैनौं ।’
मन्त्रीले जबर्जस्ती निर्णय गरेर स्वास्थ्यका विभिन्न कार्यक्रमलाई सम्बन्धन दिन लागेपछि उपाध्यक्ष, सदस्य सचिव लगायतलाई बैठकमा जान नदिन कोठामा थुनेको उनले बताए । सम्बन्धनकै विषयमा छलफल गर्ने भन्दै सबैलाई हलमा भेला पारेर हलमा थुनेका हुन् । बाहिर निस्कने बित्तिकै मन्त्रीले जबर्जस्ती निर्णय गराउने भएपछि भित्रै थुनेर राखेको बडुले बताए ।
मन्त्री पौडेलले सीटीईभीटीमा तीन महिनादेखि रिक्त रहेको सदस्य सचिव नियुक्ति गर्न चासो दिएका छैनन् । तर, शैक्षिक सत्र सुरु भएको तीन महिनापछि विभिन्न संस्थाहरुलाई स्वास्थ्यतर्फको एचए, ल्याब, फार्मेसी, रेडियोग्राफी, डेण्डल, फिजियोथेरापी लगायत कार्यक्रमको सम्बन्धन दिन लागेका हुन् ।
शिक्षामा सुधार गर्नुको सट्टा थप विकृति ल्याउन लागेको भन्दै सीटीईभीटीका कर्मचारीहरु विरोधमा उत्रिएका छन् । सम्बन्धन पाउन लागेको एक कलेज सञ्चालकहरुले प्रतिकार्यक्रम न्यूनतम पाँच लाख रुपैयाँ बुझाइसकेको दाबी गरेका छन् । ‘कर्मचारीको आन्दोलन देखाएर थप माग्न सक्छ,’ एक कलेज सञ्चालकले भने ।
ekantipur



