दुर्घटनास्थलबाट शवका हाड बटुल्दै सशस्त्र प्रहरी ।तस्बिर सौजन्य : सशस्त्र प्रहरी
पाइलट र पर्यटकका अस्थिपञ्जर प्रहरीद्वारा संकलन
कार्तिक २८, २०७३- एकजना पाइलटसहित एक पर्यटक लिएर उडेपछि वर्ष दिनदेखि बेपत्ता फुच्चे जहाज (अल्ट्रालाइट) को दुर्घटनास्थल फेला परेको छ ।
पोखरा विमानस्थलबाट उडेको पोखरा अल्ट्रालाइट कम्पनीको नाइन–एनएएलआइ कल साइनको जहाज क्षतिग्रस्त, पाइलट र पर्यटकका हाडखोर फेला परेको सशस्त्र प्रहरीका एसएसपी कृष्णभक्त ब्रम्हचार्यले बताए । दुर्घटनास्थल कास्कीको माछापुच्छ्रे गाविसको ११ हजार नौ सय ५१ फीटको उचाइमा पुगेर सुरक्षाकर्मीको टोलीले आइतबार पाइलट र पर्यटकका अस्थिपञ्जर बटुलेर पोखरा ल्याएका छन् । उनले भने, ‘अल्ट्रालाइट कम्पनीले हामीलाई दुर्घटनास्थलका बारेमा बताएपछि तत्काल टोली पठाइएको हो ।
पोखरा विमानस्थलबाट २०७२ असोज २१ विहान १० बजेर ३५ बजे उडेको जहाजमा अल्ट्रलाइटमा दक्षिण अफ्रीकी नागरिक आइडी नम्बर ५६१२३००२१०८२ की ४० वर्षीया एलिजाबेथ वेल र चालक रुसी नागरिक पासपोर्ट नम्बर ७१५७४६०८ का ६० वर्षका भ्यालरी बुटिन थिए ।
सशस्त्र प्रहरीका हवल्दारहरू पूर्णलाल देवकोटा, तेजेन्द्र बुढा र नेपाल प्रहरीका फरेन्सिक एक्सपर्ट नायव निरीक्षक राम अधिकारीको टोलीले अाइतबार छरपस्ट हाडखोर र जहाजको एउटा पाङ्ग्रा बटुलेर ल्याएका छन् । ‘दुर्घटना भएर जहाज डढेको रहेछ,’ अधिकारीले भने, ‘चढेका दुवैजनाको शव डढेर–गलेर हाडहरू टुक्रा टुक्रा भएको अवस्थामा भेटियो ।’ जहाज पनि टुक्रा टुक्रा भएर पाटपुर्जा छरिएको अवस्थामा रहेको उनले बताए । ‘हाडखोर जेजे भेटियो, त्यसलाई हामी विधिविज्ञान प्रयोगशाला पठाउँछौं । डीएनए परीक्षण हुन्छ,’ उनले भने ।
हराएको जहाजको लामो समयसम्म खोजी गरिए पनि पत्तो लागेको थिएन । पोखरा अल्ट्रालाइटका प्रबन्ध निर्देशक पोमनारायण श्रेष्ठले भने, ‘शनिबार दिउँसो डाइनेष्टी एयरका हेलिकोप्टर पाइलट जीम गोसरले दुर्घटनास्थल पत्ता लगाएपछि आज (आइतबार) सशस्त्र प्रहरीको सहयोगमा टोली घटनास्थल पुगेको हो ।’ जहाज बपत्ता भएपछि सूचना दिनेलाई आकर्षक पुरस्कार घोषणासमेत गरेको पोखरा अल्ट्रालाइटले सम्भावित स्थानमा धेरै खोजी गरेको थियो ।
‘माछापुच्छ्रे हिमाल आसपासमा खोजी गर्दै आए पनि मौसमका कारण राम्रो यकिन हुन सकेको थिएन,’, उनले भने, ‘दुर्घटनाको यति लामो अवधिपछि पनि पत्ता लाग्नुले हिमाली भेगमा हराएका जहाजको खोजी हुनसक्ने कुरा पुष्टि गरेको छ ।’ अल्ट्रालाइट बेपत्ता भएपछि नागरिक उड्डयन प्राधिकरण, प्रहरी, हराएका पर्यटक र पाइलटका आफन्तले पनि खोजी गरेका थिए ।
ekantipur



