गोरखा केन्द्रविन्दू भएर गत वर्ष गएको भूकम्पले गोरखामा मात्र ४९४ विद्यालयका ३ हजार ५२ वटा कक्षा कोठा पूर्ण रुपमा क्षतिग्रस्त बनाइदियो । सयौं बालबालिका आफ्ना आमा बाबु गुमाउन पुगे ।
तिनै भूकम्प प्रभावित गोरखाका अनाथ तथा गरिव बालबालिकाको सहयोगार्थ गोर्खाली समाज यूकेले शनिबार गरेको च्यारिटीबाट एक करोड रुपैयाँ बढी संकलन भएको छ ।
पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक गोरखा निवासी बाबुराम भट्टराईको प्रमुख आतिथ्यमा अल्डरसटमा भएको कार्यक्रममा उक्त रकम उठेको हो । च्यारिटीमा जापानबाट आएका एनआरएनए आईसीसी उपाध्यक्ष भवन भट्ट एक्लैले २० लाख रुपैयाँ र बेलायतका व्यवसायी रविचन्द्र लामिछानेले १० लाख रुपैयाँ दिने उद्घोष गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भट्टराईले सेवाभाव राखे नेपाल नबन्ने कुनै कारण नरहेको बताए । ‘हामी सोचका गरिव हौं । सोच, मन र विवेक ठूलो गरे देश बन्न सक्छ । समृद्धि सम्भव छ हाम्रै पालामा होइन मेरै पालामा भनेर म अगाडि बढिरहेको छु,’ उनले भने ।
गोरखाबाटै नेपाल एकीकरण भएको प्रसंग स्मरण गर्दै भट्टराईले लोकतान्त्रिकरण प्रक्रिया गोरखाकै लखन थापा मगरले सुरुवात गरेको र संविधानसभाबाट संविधान लेखनमा पनि गोरखाकै भूमिका उल्लेख्य रहेको टिप्पणी गरे ।
अब तेश्रो चरणमा आर्थिक विकास र समृद्धिको जग हाल्न गोरखालीलाई नै चुनौती आइपरेको उनको धारणा थियो । भट्टराईले गोरखालीलाई जिल्लामा हाइड्रो प्रोजेक्ट, स्टार होटल जस्ता विकास योजनाको प्रतिवद्धता लिन सुझाए । उनले विदेशमा लिएको ज्ञान, सीप र धन देशभित्र लगानी गर्न पनि आग्रह गरे ।
गोर्खाली समाज यूके अध्यक्ष जयप्रकाश गुरुङले सबै दाताप्रति आभार व्यक्त गरेका छन् । कार्यक्रममा राजदूत डा. दुर्गाबहादुर सुवेदी, एनआरएनए आईसीसी उपाध्यक्ष भवन भट्ट, अमेरिकाबाट आएकी महिला समाजसेवी डा. विष्णु माया परियार, डा. राघवप्रसाद धिताल (ओबीई) लगायतले समाजको च्यारिटी कामको खुलेर प्रशंसा गरे ।
ekantipur



