कार्तिक २३, २०७३- ४५ औं अमेरिकी राष्ट्रपतिको निर्वाचन मंगलबार हुँदै छ । सन् १८४५ मा सुरु भएको प्रचलनअनुसार नोभेम्बर महिनाको पहिलो मंगलबार अमेरिकी राष्ट्रपतिको निर्वाचन हुने गर्दछ । ३३ राज्यसहित डिस्ट्रिक अफ कोलम्बियामा पहिले नै मतदान सुरु भएको र झन्डै ४ करोडले मतदान गरिसकेको तथ्यांक सार्वजनिक भएका छन् । निर्वाचनको दिन मंगलबार थप आठ करोडले मतदान गर्ने अपेक्षा छ । दुई ठूला पार्टीअन्तर्गत डेमोक्रेटिक पार्टीका तर्फबाट पूर्वविदेशमन्त्री ६९ वर्षीया हिलारी रोदम क्लिन्टन र रिपब्लिकन पार्टीका उम्मेदवार ‘रियलस्टेट बिलिनियर’ ७० वर्षीय डोनाल्ड जोन ट्रम्पबीच राष्ट्रपतिका लागि निकै कडा प्रतिस्पर्धा हुने संकेत विभिन्न मत सर्वेक्षणले देखाएका छन् । ‘थर्ड पार्टी’ अन्तर्गत लिवर्टरियन पार्टीका तर्फबाट न्यु मेक्सिको राज्यका पूर्वरिपब्लिकन गभर्नर गेरी जोन्सन एवं ग्रीन पार्टीका तर्फ बाट डा. जिल स्टिन पनि ‘ह्वाइट हाउस’ प्रतिस्पर्धामा छन् ।
अन्तिम घडीमा दुवै उम्मेदवारले आफ्ना एजेन्डासहित प्रचारप्रसारलाई तीव्रता दिए । यस पटकका उम्मेदवार क्लिन्टन र ट्रम्पबीच नीति एवं कार्यक्रममा ठूलै भिन्नता रहे पनि प्रचारमा व्यक्तिगत आरोप र प्रत्यारोपले ज्यादा स्थान पाएको छ । विभिन्न चुनावी सर्वेक्षणले दुवै प्रमुख उम्मेदवार अलोकप्रिय भएको संकेत गरेको छ । विदेशमन्त्रीको कार्यकालमा क्लिन्टनको इमेल प्रकरण र क्लिन्टन फाउन्डेसनको क्रियाकलाप र पारदर्शितामाथि रिपब्लिकनले निसाना साधेका छन् भने महिलामाथिको दुव्र्यवहारलगायत मुस्लिम, अल्पसंख्यकमाथिका विवादास्पद टिप्पणी र कर विवरण सार्वजनिक नगरेको गम्भीर आरोप ट्रम्पमाथि छ । आइतबार संघीय जाँच ब्युरो (एफबीआई) ले क्लिन्टनका पछिल्ला इमेलबारे कुनै आरोप नलगाउने जानकारी अमेरिकी कंग्रेसलाई दिएको छ । यसले क्लिन्टनको अभियानमा सकारात्मक प्रभाव पार्ने विश्लेषकहरूको अनुमान छ । निर्वाचनको पूर्वसन्ध्यामा गत साताको शुक्रबार एफबीआईले क्लिन्टनको पछिल्ला इमेलबारे छानबिन गर्ने घोषणा गरेलगत्तै सर्वेक्षणमा अग्रता लिइरहेकी डेमोक्रेटिक उम्मेदवार र रिपब्लिकन प्रत्याशीबीच कडा टक्कर हुने संकेत देखिएको थियो । राष्ट्रपतिमा निर्वाचित हुनका लागि कुल ५ सय ३८ इलेक्ट्रोरल मतमध्ये बहुमत संख्या अर्थात् २ सय ७० मत आवश्यक पर्छ ।
अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रेन्जिेटिभ्स’ को ४ सय ३५, माथिल्लो सदन ‘सिनेट’ को संख्या १ सय एवं ‘डिस्ट्रिक अफ कोलम्बिया’ को ३ इलेक्ट्रोरल मतको आधारमा इलेक्ट्रोरल मतको समीकरण संख्या ५ सय ३८ तय गरिएको हो । जनसंख्या अर्थात् कंग्रेसमा हरेक राज्यको प्रतिनिधित्वको आधारमा राज्यको इलेक्ट्रोरल मत निर्धारण गरिएको हुुन्छ । उदाहरणका लागि क्यालिफोर्नियामा सबैभन्दा धेरै ५५ इलेक्ट्रोरल मत छ भने टेक्सासमा ३४, न्युयोर्कमा ३१, फ्लोरिडामा २७ र पेन्सलभेनियामा २१ इलेक्ट्रोरल मत छ । हरेक राज्यमा खसेको बहुमत मत जसको पक्षमा गयो त्यही उम्मेदवारले उक्त राज्यको सम्पूर्ण इलेक्ट्रोरल मत पाउने गर्छ । दुई राज्य मेन र नेब्रास्कामा भने मतको समानुपातिक आधारमा इलेक्ट्रोरल मत पाउने नियम छ । दुवै उम्मेदवारको इलेक्ट्रोरल भोट बराबर भए, तल्लो सदन ‘हाउस अफ रिप्रेन्जिेटिभ्स’ लाई निर्वाचनको निर्णय गर्ने अधिकार छ । पचासै राज्यको कुल मत अर्थात् लोकप्रिय मतले निर्वाचनको निर्णय भने गर्न सक्दैन । सन् २००० को निर्वाचनमा डेमोक्रयाटिम प्रत्याशी एल गोरले लोकप्रिय मत धेरै पाए पनि इलेक्ट्रोरल मतका आधारमा जर्ज डब्लू बुससँग पराजित भएका थिए ।
यस पटकका मुद्दाहरू
सधैंझैं यस पटक पनि आर्थिक मुद्दा निर्वाचनको प्रमुख एजेन्डा छ । क्लिटनले दुई प्रतिशत धनाढ्य वर्गको कर वृद्धिको प्रस्ताव गरेकी छन् भने ट्रम्पको हाल विद्यमान ३५ प्रतिशतको कर्पोरेट कर १५ प्रतिशतमा झार्ने नीति लिएका छन् । धनाढ्य वर्गबाट क्लिन्टनको योजनाअनुरूप कर संकलनको ७५ प्रतिशत संकलन गरिनेछ । उता ट्रम्पको दाबीअनुसार उनको कर नीतिले आगामी दस वर्षमा पाँच दशमलव ९ ट्रिलियन डलर राजस्व संकलन गर्नेछ भने आगामी दस वर्षमा दुई करोड ५० लाख रोजगार सिर्जना गर्नेछ । क्लिटनले आफ्नो कार्यकालको एक सय दिनभित्र रोजगार सिर्जनाका लागि उद्योग, प्रविधि एवं ऊर्जामा लगानी गर्ने र त्यसले एक करोड रोजगार सिर्जना गर्ने स्वतन्त्र कर विश्लेषकहरूको दाबी छ ।
आप्रवासनसम्बन्धी क्लिन्टनको नीति उदार छ, जसले ओबामा प्रशासनको नीतिलाई निरन्तरता दिएको छ । ट्रम्पले अवैधानिक रूपमा अमेरिकामा रहेका झन्डै एक करोड २० लाख आप्रवासीलाई निष्कासन गर्ने बताउँदै आएका छन् । मेक्सिको र अमेरिकाबीच पर्खाल निर्माण गर्ने पनि बताएका छन् । विदेश नीति मूलत: आतंकवादमा केन्द्रित रहेको छ । क्लिन्टनले इस्लामिक अतिवादी (आईएसआईएस) विरुद्ध ओबामा प्रशासनकै नीतिलाई निरन्तरता दिनेछिन् । आईएसआईएसविरुद्ध स्थल सेनाको नीतिलाई अस्वीकार गर्दै आएकी क्लिन्टनले अफगानिस्तानमा अमेरिकी सेनाको उपस्थिति र नेटोलाई अमेरिकी समर्थनको वकालत गर्दै आएकी छन् । अनुदारवादी ट्रम्पले भने रसियासँगको कटु सम्बन्धलाई समुधुर बनाउनेमा जोड दिँदै इस्लामिक अतिवादविरुद्धको लडाइँमा रसियासँगको समन्वय प्रभावकारी हुने दाबी गर्दै आएका छन् । दस हजार सिरियाली शरणार्थी भित्र्याउने नीतिलाई ट्रम्पले आतंकवादसँग जोडदै त्यसको कडा आलोचना गर्दै आएका छन् ।
मत सर्वेक्षणमा क्लिन्टनको अग्रता
विभिन्न मत सर्वेक्षणहरूमा हिलारी क्लिन्टन ट्रम्पभन्दा ३ देखि ४ प्रतिशतले अगाडि देखिएकी छन् । अन्तिम घडीमा ११ वटा अनिर्णीत राज्यमा निर्वाचन केन्द्रित भएको छ । फ्लोरिडा, ओहायो, आइवा, विस्कन्सिन, कोलोराडो, भर्जिनिया, पेन्सलभेनिया, नेभाडा, नर्थ क्लारोलिना, मिसिगन र न्यु हयाम्सायरको इलेक्टोरल कलेज हात पार्न दुवै उम्मेदवार कस्सिएका छन् । सर्वेक्षणमा आइवा र ओहायोबाहेक हिलारीले बाँकी ‘ब्याटल ग्राउन्ड’ राज्यहरूमा अग्रता लिइरहेकी छन् । धेरै राज्यहरूको सुरुवाती मतदानमा अल्पसंख्यक हिस्पानिक समुदायको मत अत्यधिक खसेकाले क्लिन्टन पक्षधर उत्साहित देखिएका छन् ।
ekantipur



