कञ्चन अधिकारी
कार्तिक १७, २०७३- भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीनदिने राजकीय भ्रमणमा आउने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ‘नोटिस फर एयरमेन’ (नोटाम) जारी गरेको छ । विमानस्थलले बुधबार दिउँसो १२ बजेर १० मिनेटदेखि १२ बजेर ५५ मिनेटसम्म नोटाम जारी गरेको हो । यो समयमा कुनै जहाज उड्न र अवतरण गर्न पाउने छैनन् । विमानस्थल पुरै बन्द हुनेछ ।
भिभिआइपी जहाजमा आउनु २० मिनेट अघिदेखि अवतरण भएको २५ मिनेटसम्म नोटाम जारी गरिएको विमानस्थलस्थित टर्मिनल ड्युटी अफिसर (टिडिओ)ले जानकारी दिएका छन् । उनले भने, ‘नोटामको समयमा आन्तरिक तथा बाह्य कुनै पनि जहाज उड्न र अवतरण गर्न पाउँदैनन् । एयरपोर्ट बन्द हुन्छ ।’
यो समयमा उडान भर्ने जहाजहरु उड्न पाउने छैनन् भने अवतरण गर्ने जहाजहरु कि त आकाशमै होल्ड हुन्छन् कि नजिकैको विमानस्थलमा डाइभर्ट हुन्छन् ।
तर ती अफिसरका अनुसार विमानस्थलले अहिलेसम्म होल्ड वा डाइभर्ट नै गरिहाल्न नपरोस भनेर दुईदिनअघि नै एयरलाइन्स कम्पनीलाई नोटामबारे जानकारी दिइसकिएको बताए । उनले भने, ‘हामीले नियमित तालिका भन्दा केही चाँडो र केही ढिलो आउन आग्रह गरेका छौं । आकाशमै होल्ड गर्नु परेपनि एकदुई राउन्ड घुम्नुपर्ला नत्र पर्दैन ।’
नोटामको अवधिमा आन्तरिक उडान पनि रोकिने टिडिओले बताएको छ । यो समयमा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने थाइ एयरवेज, सिल्क एयरवेज, ड्रुक एयर, चाइना साउदर्न र टर्किस एयर प्रभावित हुने छन् भने विमानस्थलबाट उड्ने कतार एयरवेज, जेट एयरवेज, मलेसिया एयरलाइन्स र एयर चाइना ढिला उड्ने छन् ।

डाइभर्ट गर्न परेमा जहाजहरु नजिकैको विमानस्थलमा गर्ने छन् । अफिसरका अनुसार जहाज भारतको नयाँदिल्ली, लखनऊ, कोलकता वा बंगलादेशको ढाका डाइभर्ट हुनसक्नेछन् ।
नोटामपछि उड्ने र अवतरण हुने जहाजहरु बढी हुनेभएकोले नेपाली आकाशमा एयर ट्राफिक बढ्ने ती अफिसरले बताए । उनले भने, ‘दिउँसो १ बजेपछि नेपाली आकाशमा एयर ट्राफिक हुने देखिएको छ । जसले जहाज उडान तथा अवतरण ‘डिले’ हुनेछ ।’
सडक मार्गमा पनि कठिनाई
बुधबार बिहान ११:३० देखि अपराह्न २ बजेसम्म गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, नयाँ सडक ढोका, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, थापाथली, पुरानो बानेश्वर, शङ्खमूल, पुतलीसडक मार्ग भएर चल्ने सवारी साधनलाई अन्य वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको हो ।
सोही दिन अपराह्न १ देखि ३ बजेसम्म केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, सोह्रखुट्टे र जय नेपाल मार्ग भएर चल्ने सवारी साधनलाई पनि अन्य वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।
सोही दिन अपराह्न १:४५ देखि ३:४५ बजेका अवधिमा गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घन्टाघर, पुरानो बसपार्क, मित्रपार्क, चाबहिल, बौद्ध, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जय नेपाल हल, कोटेश्वर, पुरानो बानेश्वर, शङ्खमूल, पुतलीसडक क्षेत्रमा अन्य वैकल्पिक मार्ग प्रयोग गर्नु उपयुक्त हुने प्रहरीले जनाएको छ ।
सोही दिन साँझ ६:३० देखि बेलुकी ८:३० बजेसम्म गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, मित्रपार्क, चाबहिल, बौद्ध, थापाथली, कुपन्डोल, त्रिपुरेश्वर, टेकु, भोटेबहाल, कालीमाटी, सोल्टीमोड, कलङ्की, बल्खु, कोटेश्वर, पुरानो बानेश्वर, शङ्खमूल क्षेत्रमा चल्ने सवारी साधनलाई अन्य वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।
ekantipur



