शुक्रबार चीनको ग्वान्झाओमा सिल्करोड सम्बन्धी कार्यक्रमलाई सम्बोधन गरेर सेन्झेनबाट हङकङ छिर्ने क्रममा शनिबार झण्डै एक घण्टा हङकङ अध्यागमनको कष्टडीमा परेका भट्टराईले नेपालले चिनियाँ शरणार्थी पालेर बसेको अवस्थामा चीनले पनि नेपालीलाई सम्मान गर्नुपर्ने बताएका हुन्।
हरियो पासपोर्टमा यात्रा गरेका भट्टराई, हिसिला यमी र विश्वद्वीप पाण्डेलाई हङकङ अध्यागमनले झण्डै एक घण्टा नियन्त्रणमा राखेर छाडेको भट्टराईले महावाणिज्य दूताबासमा पुगेर आक्रोशित हुँदै बताएका थिए।
शनिबार हङकङ आएलगत्तै नेपाली महावाणिज्य दूताबासले आयोजना गरेको भेटघाट कार्यक्रममा भट्टराईले भने, ‘मैले कतै सुनेको छु नेपालीहरू हङकङमा शरणार्थीका रुपमा बसेर दुःख दिए भनेको, अनि चिनियाँले शरणार्थी बनेर कम दुःख दिएका छन् हामीलाई?’
‘तिब्बत चीनको अंग होइन? तिब्बतीहरू शरणार्थी बनेर नेपाललाई हैरान पार्ने कति छन्?’, प्रश्न उठाउँदै भट्टराईले भने, ‘एक लाखभन्दा बढी चिनियाँ शरणार्थी पालेर हामी बस्ने, हाम्रा कति होलान यहाँ, खुवै भए दुई चार हजार होलान शरणार्थी भनेर बस्ने।’
तिब्बत चीनको राजनीतिक नियन्त्रणमा गएपछि सन् १९५९ मा धार्मिक नेता दलाई लामा भागेर भारतमा निर्वासित भएसँगै उनका समर्थकहरू पनि तिब्बतबाट बाहिरिएका थिए। यसरी बाहिरिएका करिब डेढ लाख निर्वासित तिब्बतीमध्ये करिब २० हजार तिब्बत नेपालमा शरणार्थीको रुपमा बसिरहेका छन्।
भट्टराईले तिनै तिब्बतीलाई चिनियाँ शरणार्थीको रुपमा अथ्र्याएका हुन्। ‘एक लाख भन्दा बढी नेपालका क्याम्पमा बसेर पुरै हैरान बनाएका छन्’, भट्टराईले भने।
‘म (नेपाल) गएपछि यो विषय चीन सरकारसँग गम्भिर रुपमा उठाउने वाला छु’, यसलाई राष्ट्रिय स्वाधिनताको विषयका रुपमा अथ्र्याउँदै भट्टराईले थपे, ‘तिब्बत, हङकङ पनि तिमिहरूको होइन भन्छौ भने हामी अलग्गै ढंगले लिन्छौँ, यदि एक चीन नीति हो र तिब्बत, हङकङ हाम्रो अभिन्न अंग हो भन्छौ भने तिमिले नेपालीको पनि सम्मान गर्नु पर्यो नि।’
nepalkhabar



