काठमाडौँ, कात्तिक १४ गते । नेपाल संवत् ११३७ को नयाँ वर्ष धुमधामका साथ विभिन्न संस्थाले मनाउने भएका छन् । कात्तिक १५ गते नेपाल संवत् को थालनीका अवसरमा नेपाल संवत् ११३७ न्हूदँ समारोह समितिद्वारा आयोजित सांस्कृतिक ¥यालीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख अतिथिका रूपमा देशबासीका नाममा शुभकामना सन्देश दिनुहुनेछ ।
त्यसैगरी शङ्खधर साख्वाः प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्री दाहालले ठिमीमा रहेको नेपाल संवत्का प्रणेता शङ्खधर साख्वाःकोे प्रतिमामा माल्यार्पण गर्नुहुनेछ ।
सोही दिन नेवाः स्वायत्त राज्य मङ्काः समितिले दिउँसो २ बजेदेखि ४ बजेसम्म वसन्तपुरमा शुभकामना आदानप्रदान गर्ने भएको छ ।
राजा राघवदेवको पालामा व्यापारी शङ्खधर साख्वाःले जनतालाई ऋण मुक्त गरेपछि सोही स्मरणमा नेपाल संवत् चलाइएको थियो ।
नेपाल संवत् ११३७ न्हूदँ समारोह समितिका संयोजक तथा सांसद भीमसेनदास प्रधानले सांस्कृतिक आन्दोलनका रूपमा चलेको नेपाल संवत् भिन्तुना (शुभकामना) ¥यालीप्रति सम्पूर्ण नेपालीमा अपनत्व जगाउन सक्नुपर्ने बताउनुभयो । नेपाल संवत्लाई सरकारी कामकाजी संवत्का रूपमा अपनाउनुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो ।
पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले नेपाल संवत्का प्रणेता शङ्खधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गर्नुभएको थियो भने प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पहिलो कार्यकालमा नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिनुभएको थियो ।
त्यसैगरी पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको कार्यकालमा यसलाई सरकारी कामकाजी बनाउन छुट्टाछुट्टै कार्यदल गठन भएको थियो । दुवै कार्यदलका प्रतिवेदन अहिलेसम्म सार्वजनिक हुन नसके पनि नेपाल संवत्का प्रणेता शङ्खधर साख्वाःका प्रतिमा टोलटोलमा स्थापित भएका छन् ।
नेपाल संवत्को नयाँ वर्षका अवसरमा विभिन्न कार्यक्रम र शुभकामना आदानप्रदान कार्यक्रम अहिले टोलटोलमा विस्तार भएका छन् ।
केही स्थानमा साख्वाःको प्रतिमालाई सिन्दुर जात्रा गरेर पनि नेपाल संवत् मनाउन थालिएको छ । कीर्तिपुर, पाँगालगायतका स्थानमा प्रतिमालाई खटमा राखेर जात्रासमेत गर्ने परम्पराको थालनी भएको छ ।
सन्ध्याटाइम्स दैनिकका सम्पादक सुरेशकिरण मानन्धर खुसियालीसँगै राष्ट्रिय भावना र लोकहित भावना जगाउने प्रेरणाको सन्देश लिएर केन्द्र हुँदै टोलटोलमा नेपाल संवत् मनाउने परम्परा बसेको बताउनुहुन्छ ।
नेपालभाषा मङ्काः खलःले आन्दोलन स्वरूप चलाएको ‘भिन्तुना ¥याली’ अहिले जिल्ला, नगर हुँदै टोलटोलमा सांस्कृतिक पर्वका रूपमा ¥याली निकाल्ने गुठी नै निर्माण भएका छन् ।
केही वर्ष अघिसम्म शङ्खधर साख्वाःको जन्मभूमि ठिमीमा मात्र प्रतिमा रहेकोमा अहिले काठमाडौँको रामघाट, पशुपति क्षेत्र, कीर्तिपुर, पाँगा, पुल्चोकलगायतका स्थानमा साख्वाःकोे प्रतिमा राखिएका छन् ।
करिब तीन दसकअघि मानव अधिकारवादी पद्मरत्न तुलाधरले नेतृत्व गर्नुभएको नेपालभाषा मङ्काः खलःले सुरु गरेको सांस्कृतिक कार्यक्रम तथा ¥याली उपत्यका बाहिरसमेत विस्तार भएको हो ।
मकवानपुर जिल्लाको टिष्टुङ वज्रबाराही नेवाः पुचका संस्थापक अध्यक्ष विनोद महर्जनले नेपाल संवत् टिष्टुङ, पालुङलगायतका स्थानमा भिन्तुना ¥याली हुने गरेको जानकारी दिनुभयो ।
यसैबीच पाँगामा यसपटक श्री विष्णुदेवी महिला समूहका महिला हाकुपटासी लगाएर शङ्खधर साख्वाःको प्रतिमा राखिएको खटसहित नगर परिक्रमा गर्ने तयारीमा रहेको आयोजक संस्थाका सदस्य हीराबहादुर महर्जनले जानकारी दिनुभयो ।
कीर्तिपुरमा ¥याली आयोजनाका लागि विभिन्न टोललाई जिम्मेवारी हस्तान्तरण गर्ने परम्परा नै बसालिएको समाजसेवी शुकराम महर्जनले गारेखापत्रलाई जानकारी दिनुभयो ।
gorkhapatraonline




















