कैलासबावु श्रेष्ठ/गोरखा
कार्तिक १२ गते । हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आज कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ । पहिलो दिन आज काग तिहार, कात्तिककृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, र म्हपूजा (आत्मपूजा) एवं अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइन्छ ।
५ दिनसम्म यमराज पनि आफ्ना दैनिक काम स्थगन गरी बहिनी यमुनाकहाँ अतिथिका रूपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिएको छ ।
यमपञ्चकको पहिलो दिन आज कागको पूजाआजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यता अनुसार कागलाई यमदूतका रूपमा समेत मान्ने गरिन्छ । कागले यमराज र बहिनी यमुनाबीच सूचना आदानप्रदान गर्ने भूमिका खेलेको प्रसङ्ग यो दिनसँग जोडिएको छ ।
आजको दिन कागलाई पूजाआजा गरी खान नदिई आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । आजैका दिनदेखि यमदीप दान गर्नाले यम यातना बाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यमदीप दान दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको छ ।
तिहारमा काग, कुकुर, गाई, गोरु, दाजुभाइ र दिदी बहिनीका अतिरिक्त बलिराजाको पनि पूजा गर्ने चलन छ । 
बलि राजाको पूजाका सम्बन्धमा एउटा किंवदन्ती प्रचलित छ प्राचीन वैदिक कालमा असुरराज बलिले पृथ्वीमा शासन गर्थे, उनी दानी राजाका रूपमा कहलिएका थिए ।
विष्णुले वामन अवतार धारण गरी बलि राजासित ब्राह्मणको भेष धारण गरी तीन पाउको स्थान माग गर्दा एक पाउले अन्तरिक्ष र अर्काले पृथ्वी ढाकेपछि तेस्रो पाउ राख्ने ठाउँ माग गर्दा बलि राजाले शिर थापेको र शिरमाथि वामन रूपधारी विष्णुले पाउ राख्दा पातालमा भासिएको धार्मिक मान्यता रही आएको छ । विष्णुले बलि राजाको दानशीलतादेखि प्रभावित भई वर्षमा ५ दिन कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पृथ्वीको शासन गर्ने अधिकार दिई यस समयमा बलि राजाको पूजा गरेमा आफू प्रसन्न हुने वरदान दिएकाले बलि राजाको पनि पूजा गर्ने गरीएको हो।
यही मान्यताका कारण पनि द्यौसीभैलो खेल्दा “हामी त्यसै आएनौंँ बलिराजाले पठाए” भनी भट्याउने गरीएको हो। लक्ष्मीपूजाका दिनमा भैलो र गोवद्र्धन पूजाका दिनमा द्यौसी खेल्ने प्राचीन परम्परा भए पनि आजकाल कागतिहारकै दिनदेखि नै द्यौसीभैलो खेल्ने प्रचलन बढ्न थालेको छ ।
भैलो महिलाले र देउसी पुरुषले खेल्ने प्रचलनसमेत अहिले बदलिएको छ । अहिले महिलापुरुष दुवैले द्यौसीभैलो खेल्न थालेका छन् ।
लक्ष्मीपूजाका दिनदेखि घर घरमा दीपावली गरी झिलिमिली बनाउने परम्परा पनि अहिले तिहारको सुरुवात देखी नै गर्न थालिएको छ । अझ कतिले त एक हप्ताअघिदेखि नै दीपावली गरी तिहारलाई अग्रीम आमन्त्रण गर्ने गरेका छन् । यसकारण तिहारलाई उज्यालोको पर्वका रूपमा समेत चिनिन्छ ।
पशुपन्छीको पूजा, आत्मपूजा, सेल, फिनी, अर्सा, अनर्सा जस्ता घरेलु खानेकुरा, कटुस र ओखर जस्ता सुख्खा खानेकुरा र मिठाइ ग्रहण, दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सर्वत्र झिलिमिली बत्ती, द्यौसीभैलोका साथ गीत र नृत्य, प्रतिबन्धित कौडातासको फुकुवा, मुलुककै नामबाट राखिएको नेसंको प्रारम्भ, महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती जस्ता थुप्रै विशेषता तिहारका रहेका छन् ।
पछिल्लो समयमा तिहारको विकृतिका रूपमा पटाका पड्काउने प्रचलन समेत बढ्न थालेको छ । पटाकाबाट दुर्घटनासमेत बढ्न थालेको छ । प्राकृतिक रूपमा पनि सयपत्री, मखमली र गोदावरी जस्ता फूल फुल्ने समयमा तिहार पर्व पर्ने भएकाले वातावरण हेर्दै मनमोहक हुन्छ ।
तिहार सुरु, आज काग तिहार
तिहार सुरु, आज काग तिहार
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



