कार्तिक १०, २०७३- प्रमुख तीन दलका शीर्ष नेताहरुले देशका जल्दोबल्दो विषयमा मिलेर जाने समझदारी गरेका छन् ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पहलमा बुधबार दिउँसो बालुवाटारमा कांग्रेस, एमालेसहितका शीर्ष नेताबीच संविधान संशोधन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा प्रस्तुत महाअभियोग प्रस्ताव र निर्वाचनका विषयमा मिलेर जाने समझदारी बनेको हो ।
बैठकबाट बाहिरिँदै कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीले पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको भन्दै मिलेर जाने समझदारी बनेको बताए । नेताहरुले यी विषय सबैका साझा भन्दै एक ठाउामा बसेर हल गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाकार गोविन्द आचार्यले बैठकमा ठोस सहमति नभए पनि सबै विषयमा तीन शीर्ष नेताबीच भएको छलफल सकारात्मक रहेको बताए । उनीहरुबीच निर्वाचन, संविधान संशोधन र महाअभियोग प्रस्तावमा मिलेर जाने, त्यसका लागि वार्तालाई पुन: निरन्रता दिने कुरा भएको प्रेस सल्लाहकार आचार्यले ईकान्तिपुरसँग बताए ।
अख्तियार प्रमुख कार्कीविरुद्धको महाअभियोग प्रस्ताव मंगलबारबाट संसदमा छलफल सुरु भएको छ । कार्तिक २५ गते पुन: बस्ने संसद बैठकमा महाअभियोगमाथिको प्रारम्भिक छलफलले निरन्तरता पाउनेछ ।
ekantipur



