अमेरिकाको न्यु ह्याम्सायरस्थित म्यान्चेस्टरमा आयोजित चुनावी सभामा सोमबार राष्ट्रपति उम्मेदवार हिलारी क्लिन्टन र सिनेटर एलिजावेथ वारेन ।रोयटर्स
अमेरिकी राष्ट्रपति निर्वाचन
मनोज दाहाल
न्यु ह्याम्सायर (अमेरिका): निर्वाचनका लागि दुई सातामात्र बाँकी छँदा अमेरिकी राष्ट्रपति उम्मेदवारहरू डेमोक्र्याटिक पार्टीकी हिलारी क्लिन्टन र रिपब्लिकनका डोनाल्ड ट्रम्पले अनिर्णीत तर ह्वाइटहाउस प्रवेशका लागि निर्णायक बन्न सक्ने राज्यमा आफ्नो ध्यान केन्द्रित गरेका छन् ।
स्पष्टसँग डेमोक्र्याटिक वा रिपब्लिकनका पक्षमा नदेखिएको न्यु ह्याम्पसायरमा चार इलेक्टोरल भोटमात्र भए पनि क्लिन्टन सोमबार पछिल्लो दुई महिनामा तेस्रोपटक यहाँ झुल्किन् र मतदातालाई प्रभावित गर्ने प्रयास गरिन् । निर्वाचन नजिकिँदै जाँदा तीन हजार मतदाताको सानो र्यालीमा दिन खर्चिनु राष्ट्रपति उम्मेदवारका लागि निकै महँगो हो तर आगामी केही दिन ‘स्विङ स्टेट’ का अनिर्णीत मतदाताहरूमाझ उपस्थित हुनुको अर्को विकल्प छैन, क्लिन्टन-ट्रम्पका लागि ।
चुनावी अभियानमा क्लिन्टनले सोमबार अबका दुई साता मुख्य ‘युद्धभूमि’ मा ध्यान केन्द्रित गर्ने र नोभेम्बर ८ को निर्वाचनमा निर्णायक मतदातालाई आफूतर्फ आकर्षित गर्ने योजना सार्वजनिक गरेकी छन् । अभियानका क्रममा ओहायो, फ्लोरिडा, पेन्सिल्भानिया, नेभाडा, नर्थ क्यारोलिना, आयोवा र न्यु ह्याम्सायरजस्ता ‘स्विङ स्टेट’ का लागि ६० लाख अमेरिकी डलरको प्रचार कार्यक्रम सार्वजनिक गरेको डेमोक्र्याटिक पार्टीका क्याम्पेन म्यानेजर रबी मुकले जानकारी दिए । ५३८ इलेक्टोलर भोट भएको अमेरिकामा ह्वाइट हाउस प्रवेश गर्न २७० इलेक्टोरल भोट आवश्यक हुन्छ ।
डेमोक्र्याटिक चुनावी अभियानका क्रममा एरिजोनामा पनि केही दिनअघि २० लाख डलर छुट्ट्याइएको छ । दुई दशकयता एकपटकमात्र डेमोक्र्याटिक समर्थन देखिएको एरिजोना यसपालि आफ्नो पक्षमा आउने आशा क्लिन्टनले राखेकी छन् ।
एरिजोनामात्र होइन, रिपब्लिकन पकडमा रहेका केही राज्यमा आफूलाई विस्तार गर्न र स्विङ स्टेटमा विजय हासिल गर्न क्लिन्टन र उनको चुनावी अभियानले खुब मेहनत गरिरहेको छ । सोमबार न्यु ह्याम्सायर आमसभामा मतदाताहरूलाई नोभेम्बर ८ मा बढीभन्दा बढी मतदान गर्नसमेत क्लिन्टनले अपिल गरिन् । ट्रम्पको हार निश्चित भएको दाबी सर्वेक्षणहरूले गरिरहँदा आफ्ना समर्थकले भोट हाल्न अल्छी गरिदेलान् कि भनेर क्लिन्टन र उनका अभियानकर्ता सशंकित छन् ।
रिपब्लिकन उम्मेदवार ट्रम्पले पछिल्लो साता चारवटा महत्त्वपूर्ण अनिर्णीत राज्यमा आफ्नो ध्यान केन्द्रित गरेका छन् । ओहायो, फ्लोरिडा, पेन्सिल्भानिया र नर्थ क्यारोलिनामा मतदाताको समर्थन जुटाउन ट्रम्पको चुनावी अभियान लागिपरेको छ । क्लिन्टन सोमबार न्यु ह्याम्सायरमा व्यस्त छँदा ट्रम्प फ्लोरिडामा मतदातालाई सम्बोधन गर्दै थिए ।
एक करोड ३० लाख मतदाता भएको फ्लोरिडाजस्ता धेरै इलेक्टोरल भोट भएका राज्य ह्वाइट हाउस प्रवेशका लागि झनै निर्णायक हुन्छन् । फ्लोरिडामा २९ इलेक्टोरल भोट छ ।
उच्च सुरक्षा व्यवस्थासहितको न्यु ह्याम्सायर र्यालीमा क्लिन्टनलाई म्यासाचुसेट्स सिनेटर एलिजावेथ वारेन र गभर्नर म्यागी हसनले सघाएका थिए । आकाश खुलेको मौसममा रंगीबिरंगी रूखहरूको पृष्ठभूमिमा उभिएको म्यान्चेस्टरस्थित सेन्ट एन्सेल्म कलेजमा उपस्थित मतदातासँग सिनेटर वारेनले भनिन्, ‘खराब (न्यास्टी) महिलाहरूले नोभेम्बर ८ मा मतदान गर्नेछन् ।’
रिपब्लिकन उम्मेदवारविरुद्ध आक्रामक देखिएकी वारेनले अघिल्लो बुधबार अन्तिम टेलिभिजन बहसमा ट्रम्पले क्लिन्टनलाई भनेको ‘न्यास्टी वुमन’ वाक्यांशतर्फ संकेत गर्दै थपिन्, ‘खराब महिलाहरू अप्ठ्यारा छन् । खराब महिलाहरू स्मार्ट छन् । खराब महिलाले भोट हाल्नेछन् । हामी खराब महिलाहरू हाम्रा खराब खुट्टाले हिँडेर हाम्रा खराब मतहरू खसाल्नेछौं ताकि तिमीलाई हाम्रा जीवनबाट सधैंका लागि हटाउन सकौं ।’
चमत्कारी वाक्कलाकी वारेनको हरेक पन्चलाइनमा सहभागीहरू चर्को स्वरमा हुटिङ गर्दै थपडी बजाइरहेका थिए ।
वारेनजस्ता हस्ती अभियानकर्ताका कारण क्लिन्टनको चुनावी अभियानमा मतदाताको उत्साह देखिएको छ । ‘हिलारीले हाम्रा लागि लडेकी छन्, अब हिलारीका लागि लड्ने हाम्रो पालो हो,’ वारेनले मतदातासँग पटकटपटक भनिन् । ठूलो अक्षरमा ‘स्ट्रोङ्गर टुगेदर’ लेखिएको प्रचारसामग्री मुन्तिर उभिएर क्लिन्टनले पनि आफ्नी मित्रको खुला प्रशंसा गर्दै भनिन्, ‘तपार्इंहरू के गर्नुहुन्छ मलाई थाहा छैन, म भने एलिजावेथलाई दिनभरि सुन्न सक्छु ।’ भाषण सकिएको करिब एक घन्टासम्म क्लिन्टन र वारेन समर्थकहरूसँग तस्बिर खिचाइरहेका थिए । क्लिन्टनलाई बर्नी स्यान्डर्स, मिसेल ओबामाजस्ता लोकप्रिय हस्तीहरूले चुनावी अभियानमा साथ दिइरहेका छन् ।
बच्चा च्यापेका आमाहरू पनि क्लिन्टन, हसन र वारेनलाई सुन्न आएका छन् । नातिनातिनाको हात समातेर सभास्थलमा हजुरबा, हजुरआमा पनि आफ्नो उम्मेदवारको भाषण सुनिरहेका छन् । स्वयंसेवकहरू सहभागीलाई शालीन भाषामा व्यवस्थित गरिरहेका छन् । मतदान प्रतिशत बढाउन आग्रह गर्दै हिलारीले सभामा भनिन् पनि, ‘मेरो वेबसाइटमा गएर म बढीभन्दा युवालाई स्वयंसेवकका लागि दर्ता हुन आग्रह गर्छु । ताकि तपाईंहरूले नोभेम्बर आठमा बढीभन्दा बढी मतदातालाई मतदानमा ल्याउन सक्नुहोस् ।’
दस दिनअघि न्यु ह्याम्सायरकै पोर्ट्स्माउथमा रिपब्लिकन उम्मेदवार ट्रम्पले सात हजारको आमसभा गरेका थिए । उनी पनि हिलारीजस्तै पटकपटक न्यु ह्याम्सायर आइरहेका छन् ।
न्यु ह्याम्सायरमै जन्मेर म्यासाचुसेट्समा पछिल्ला केही वर्षदेखि बसिरहेकी रेबेका ब्राउन किशोरी छोरीलाई लिएर हिलारीलाई उत्साहित बनाउन आइपुगेकी छन् । ‘मेरी छोरी बर्नीको समर्थक हो, म भने लामो समयदेखि डेमोक्र्याटिक मतदाता हुँ,’ सभास्थलमा रेबेकाले अन्नपूर्णसँग भनिन्, ‘म बाराक ओबामालाई भन्दा पनि हिलारीलाई मन पराउँछु । २००८ मै मैले उनलाई उम्मेदवारका रूपमा हेर्न चाहेको थिएँ ।’
रेबेकाले स्मार्ट, धैर्यवान्, जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा जुध्नसक्ने नेताका रूपमा हिलारीलाई चित्रण गरिन् ।
गभर्नर म्यागी हसन रिपब्लिकन सिनेटर केली एओटसँग सिनेटका लागि न्यु ह्याम्सायरबाट प्रतिस्पर्धा गरिरहेकी छन् । रिपब्लिकन राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले केही दिनअघि वासिङ्टन पोस्टसँगको अन्तर्वार्तामा भनेका थिए, ‘म केली एओटलाई चिन्दिन । उनले मलाई समर्थन गरेकी छैनन् । हामीलाई कमजोर मानिस चाहिँदैन ।’ ट्रम्प-केलीको यही टकरावकै फाइदा उठाउँदै वारेनले सभास्थलमा भनिन्, ‘केली एओटजस्ता कमजोर होइन, हामीलाई म्यागी हसनजस्ता सशक्त नेता चाहिन्छ ।’
लामो समय नेपालमा बसेकी पउला जोसा जोन्स पनि सभास्थलमा भेटिइन् । उनले हाँस्दै भनिन्, ‘यसपटक हिलारीको पालो हो, महिलाको पालो हो । ‘न्यास्टी वुमन’ को पालो हो । ‘न्यास्टी वुमन’ ले जित्नेछिन् ।’
annapurnapost



