कार्तिक ४, २०७३- जिल्लाकै दुर्गम मानिने बिर्घा गाविसका एक व्यक्तिलाई जिल्ला अदालतले ९ वर्षीया छोरी बलात्कार गरेको अभियोगमा २२ वर्ष कैद सजाय तोकेको छ ।
जिल्ला न्यायाधीश चन्द्रबहादुर सारुको इजलासमा मंगलबार अभियुक्त बाबुलाई जबर्जस्ती करणीको अभियोगमा १२ र हाडनाता करणीको अभियोगमा १० गरी २२ वर्ष जेल सजाय तोकिएको अदालतले जनायो ।
गत फागुन २१ गते दिउँसो १ बजेको समयमा घरमा कोही नभएको मौका छोपी बलात्कार गरेका उनलाई अदालतले जबर्जस्ती करणी गरेको आरोपमा चैत्र १४ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।
जिल्ला न्यायाधीश चन्द्रबहादुर सारुका अनुसार जबर्जस्ती करणीको १.३ (१) र हाडनाता करणी बमोजिम नम्बर १ बमोजिम फैसला गरिएको हो । ‘५/६ महिना पहिले श्रीमती अन्यत्र विवाह गरेर गएपछि बाबुसँग बस्दै आएकी उक्त बालिकाको लागि राज्य मार्फत ५० हजार क्षतिपुर्ति दिलाई दिनको लागि महिला तथा बालबालिका कार्यालयका आदेश दिइएको छ,’ उनले भने, ‘घरमा सम्पति केही पनि नभएपछि राज्यबाट नै क्षति दिलाइएको हो ।’
यस्तै बिहीबार जिल्ला अदालतले ३७ वर्षीया शारीरीक अपाङ्ग भएकी सुस्त मनोस्थितिकी महिलालाई जबर्जस्ती उद्योग गरेको आरोपमा पक्राउ परेका लक्षुमाण कुँवर सार्कीलाई पनि पुर्पक्षको लागी जिल्ला कारागार चलान गरेको बताएको छ ।
ekantipur



