जाजरकोट, कात्तिक ४ गते । बिहीबार दिउँसो यहाँको दुर्गम ढिमे गाविस–५ खुर्पामा पहिलोपटक जिप पुगेको छ ।ढिमे गाविस–१ पाँचकाटियादेखि खुर्पासम्म करिब ११ किमी सडक निर्माणपछि आज जिप पुगेको हो ।
ढिमे गाविसका पूर्व गाविस अध्यक्ष पृथ्वीबहादुर सिंहद्वारा सडकको शुभारम्भ गरिएको थियो । जिप गाउँमा पुगेपछि स्थानीयवासी निकै खुसी भएका छन् । देशका विभिन्न ठाउँबाट दैनिक उपभोग्य सामग्री ल्याउने र आफूले उत्पादन गरेको वस्तु निर्यात गर्न पाउने भन्दै उत्साहित भएका हुन् । जिविस र गाविसको करिब रु ७० लाखको लागतमा सडक निर्माण गरिएकोे हो ।
यस सडक निर्माणसँगै यहाँका स्थानीयवासीले सडकको स्तरोन्नति र बिस्तारका लागि सहयोग गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।
रासस




















