फाइल तस्बिर
लोकमानको म्याद तामली प्रकरण
काठमाडौंः अदालतको आदेश तामेली गर्न नदिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले कानुनी शासन र लोकतन्त्रमाथि ठाडो चुनौती दिएको भन्दै सांसदहरूले यस्तोमा संसद्ले टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन् ।
व्यवस्थापिका संसद्को मंगलबारको बैठकमा सत्तापक्ष र विपक्षी दलका सांसदहरूले राज्य एक व्यक्तिका अघि नतमस्तक भएर बस्नु कानुनी राज्यको अवधारणाविपरीत भएको बताए ।
कांग्रेस सांसद राधेश्याम अधिकारीले अख्तियार प्रमुखको घरमा तामेली गर्न नदिएर अदालतको आदेशको खुलमखुला अवज्ञा भएको बताए । वरिष्ठ अधिवक्तासमेत रहेका अधिकारीले भने, ‘दुःखका बेलामा यो संसद्मा धेरै शक्तिशाली नेतालाई अदालतले कानुनका आधारमा न्याय दिएको र त्यसको आडमा पद र प्रतिष्ठा जोगिएको छ । तर आज अदालत जुन चौबाटोमा उभिएर सही बाटोमा हिँड्न प्रयत्नरत छ त्यसलाई टेवा दिने कि नदिने ? मूल प्रश्न यो हो ।’
न्यायपालिकालाई सक्षम बनाउनुबाहेक अर्को विकल्प नरहेको तर्क गर्दै अधिकारीले भने, ‘न्यायपालिकालाई सक्षम बनाउने कि नबनाउने ? यसलाई स्वतन्त्र र निष्पक्ष भएर काम गर्न दिने कि नदिने ? कानुनी राज्यको अवधारणालाई बलियो पार्ने कि नपार्ने ? यो मात्रै विकल्प छ ।’
अहिलेको विवाद सर्वोच्च अदालत र अख्तियार प्रमुखबीचको झन्झट हो भनेर आँखा चिम्लन नमिल्ने तर्क गर्दै अधिकारीले भने, ‘सर्वोच्च अदालतले एउटा व्यक्तिको म्यादसम्म तामेल गर्न नपाउनु, नसक्नुले भविष्यप्रति पक्कै राम्रो संकेत गर्दैन । त्यसमाथि संवैधानिक ओहोदाका प्रमुखबाट यस्तो काम गर्नु, गराउनु भनेको झनै आपत्तिजनक विषय ठहर्नुपर्ने हो । यसलाई यो संसद्ले गम्भीरतापूर्वक साथ लिनुपर्छ ।’
संवैधानिक पदका पदाधिकारीलाई महाभियोग लगाएर मात्र हटाउन मिल्ने व्यवस्था संविधानमा रहेको उल्लेख गर्दै सांसद अधिकारीले भने, ‘संविधानले दिएको त्यो विशेषाधिकार सम्पन्न व्यक्तिविशेषले संविधान र कानुनकै खिल्ली उडाउँदा पनि हामी सांसद र संसद्ले टुलुटुलु हेरेर बस्न मिल्दैन ।’
अख्तियारका प्रमुख विदेश जानुको कारण, बिदा स्वीकृतिको कारण प्रधानमन्त्रीले संसद्लाई जानकारी दिनुपर्ने माग उनले गरे । ‘संसद्लाई अख्तियार प्रमुखका सम्बन्धमा जानकारी गराइयोस्, उहाँ के कामका लागि विदेश जानुभएको हो ? कति अवधिका लागि जानुभएको हो ? बिदा कति अवधिको स्वीकृत गराउनुभएको छ ? उहाँ नेपालमा कहिलेसम्म फर्किने हो ? उहाँ यति लामो समयसम्म विदेशमा बस्नुपर्ने प्रयोजन के हो ? ‘ उनको प्रश्न थियो ।
एमाले सांसद रेवतीरमण भण्डारीले अख्तियार प्रमुख कार्कीको घरमा गुन्डागर्दी शैलीमा म्याद तामेली गर्न नदिइएको भन्दै आपत्ति जनाए । ‘म्याद तामेली अवरोधमा सादा पोसाकका प्रहरीसमेत संलग्न भन्ने खबर आएको छ’, भण्डारीले भने, ‘के राज्य नै गुन्डागर्दीमा उत्रेको हो ? गृहमन्त्रीले संसद्लाई जानकारी दिनुपर्छ ।’
संविधान र कानुन उल्लंघन गर्नेमाथि महाभियोग लगाउने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै भण्डारीले उक्त समिति गठनमा ढिलाइको कारणबारे सभामुखसँग प्रश्न गरे ।
थरुहट तराई पार्टीकी सांसद गंगा सत्गौवा चौधरीले अख्तियार प्रमुखको घरमा म्याद तामेली गर्न नसक्नु सरकारको लाचारीपन भएको बताइन् । ‘लोकमानसिंह कुन लोकका यमराज हुन् ? ‘ उनको प्रश्न थियो, ‘लोकमानलाई संरक्षण दिने नेताहरूलाई पनि कठघरामा उभ्याइनुपर्छ ।’
‘पाकिस्तानजस्तै टुक्रिन सक्छ’
सत्तासीन कांग्रेसका सांसद फरमुल्लाह मन्सुरले मधेसीका माग पूरा नभए पाकिस्तानबाट बंगलादेश छुट्टिएजस्तै नेपाल पनि टुक्रिने चेतावनी दिएका छन् । संसद्को मंगलबारको बैठकमा विशेष समय लिएर सांसद मन्सुरले मधेसी र थारूका माग अविलम्ब सम्बोधन हुनुपर्ने बताए ।
‘पाकिस्तानले स्वशासनको माग पूरा नगर्दा बंगलादेश जन्मियो’, उनले भने, ‘नेपालमा पनि त्यस्तो अवस्था आउन सक्छ ।’ नेमकिपाका प्रेम सुवालले मुलुकको सार्वभौमिकता प्रधानमन्त्री पुष्पकमल दाहालले दिल्लीलाई बुझाएको आरोप लगाए । ‘पहिले नेपालको क्याबिनेटमा भारतको प्रतिनिधि बस्थ्यो’, उनले भने, ‘अहिले चीनका राष्ट्रपतिसँग भेट गर्दा भारतीय प्रधानमन्त्री सँगै बसे । चीनका राष्ट्रपतिको भ्रमण हुन नदिन पनि भारतले नै भूमिका निर्वाह गरेको हो ।’
annapurnapost



