कात्तिकमा सरकार ढल्ने उपेन्द्र यादवको ‘भविश्यवाणी’
फूलपाती आउनै लागेका बेला प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चाका दुई नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोलाई सुटुक्क भेटेको खबर बाहिर आएन ।
प्रधानमन्त्री प्रचण्डले मोर्चाका अर्का नेता महिन्द्र राय यादवलाई पनि दशैंकै वीचमा छुट्टै भेटिसकेका छन् । तर, उपेन्द्र यादव र प्रचण्डका वीचमा चाँहि यसवीचमा भेट सम्भव भएन ।
अनलाइनखबरलाई प्राप्त जानकारी अनुसार तमलोपा नेता ठाकुर र सदभावना नेता महतोलाई बोलाएर प्रधानमन्त्रीले दशैंपछि संविधान संशोधन हुने र आफू जसरी पनि मधेसी मोर्चाका मागहरु सम्वोधन गर्ने पक्षमा रहेको बताएका थिए । प्रधानमन्त्रीले अहिले आफू कांग्रेससँग मिलेर सरकारमा गए पनि एजेण्डको हिसाबले मधेसीमोर्चा र माओवादी एकठाउँमा रहेको भेटमा बताएका थिए ।
एजेन्डाको हिसाबले कांगे्रस र एमाले एकातिर, मोर्चा र माओवादी अर्कातिर रहेको भन्दै प्रधानमन्त्रीले मोर्चाका दुई नेतालाई भनेका थिए कि तपाईहरुले उठाएका माग र हाम्रो पार्टीका एजेण्डा एउटै छन्, त्यसैले कांग्रेस र एमालेलाई समेत विश्वासमा लिएर यी मागहरुको सम्वोधन गर्न म तयार छु, तपाईहरुले यसमा मलाई सहयोग र विश्वास गरिदिनुपर्यो ।
महतो र ठाकुरलाई यसो भनेर पठाएपछि प्रधानमन्त्रीले महिन्द्र यादवलाई छुट्टै बोलाएर भेट गरे । प्रधानमन्त्री यादवलाई मोर्चालाई सहमतिमा ल्याउनेबारे भूमिका खेलिदिन र सकारात्मक वातावरण बनाइदिन आग्रह गरेको स्रोतले अनलाइनखबरलाई बतायो ।
प्रधानमन्त्रीले मोर्चाका तीन नेतालाई भेटे पनि अन्य नेता अनिल झा र राजकिशोर यादवलाई भेटघाटका लागि अलग्गै निम्तो गरेनन् । फोरम नेता उपेन्द्र यादव त्यसबेला बेलायत भ्रमणमा व्यस्त थिए ।
उल्टो परिणाम किन ?
अचम्मको विषय चाँहि के छ भने प्रधानमन्त्री प्रचण्डले म मधेसी मोर्चाका मागहरु पूरा गर्न तयार छु, तपाईहरुका एजेण्ड पनि मेरै एजेन्डा हुन् भनेर पठाएलगत्तै तमलोपाका नेताले सार्वजनिकरुपमा भने कि प्रचण्डबाट हामीलाई धोका भयो ।
त्यसैगरी राजेन्द्र महतोले पनि प्रचण्डलाई कटाक्ष गर्दै दूर्तामाताले सदबुद्धि दिउन् भन्ने प्रकारको प्रतिक्रिया दिए । प्रचण्डले माग पूरा गर्न तयार छु भन्दाभन्दै ठाकुर र महतोले बाहिर किन कडा कुरा गरे ? यसका पछाडि ‘मधेसको सेन्टिमेन्ट’ कारक रहेको हुन सक्ने विश्लेषकहरुको अनुमान छ ।
उपेन्द्र यादव बेलायतमा भएका बेला सरकारसँग नरम कुरा गर्दा मधेसी जनताको सहानुभूति गम्ने डरले मधेसी नेताहरुले सार्वजनिक खपतका लागि कडा कुरा गर्ने गरेको मोर्चाकै एक नेताले अनलाइनखबरलाई बताए । उनले भने- ‘मधेसका कोही पनि नेताहरु बिरालाको घाँटीमा घण्टी बाँध्न तयार छैनन्, सबैलाई मधेसमा क्रान्तिकारी देखिएर भारवी चुनावको सीट सुरक्षित गर्नुछ ।’
प्रचण्डको शंका उपेन्द्रमाथि
मधेसी मोर्चालाई विश्वासमा लिनका लागि प्रधानमन्त्री प्रचण्डलाई उपेन्द्र यादव चुनौतीका रुपमा खडा हुन थालेका छन् । बालुवाटारको भित्री विश्लेषण के छ भने उपेन्द्र यादव संविधान संशोधन नै भए पनि त्यसलाई मान्न तयार छैनन् ।
विगतमा एउटै पार्टी र मोर्चामा काम गरेका प्रचण्डले सबैभन्दा बढी उपेन्द्र यादवलाई चिन्छन् । र, यादवलाई पनि प्रचण्डको खुबी र कमजोरी दुबै थाहा छ । यो अवस्थामा प्रचण्डको भित्री मनमा के भय छ भने उपेन्द्रकै कारण कतै मधेसी मोर्चा सहमतिबाट टाढिने र आफ्नो सरकारलाई संकटमा पार्ने खेल त भइरहेको छैन ?
दशैंको मुखमा बेलायत घुमेर फर्किएका यादवले काठमाडौंमा आउनासाथ प्रचण्डलाई धम्कीको भाषामा भनिसकेका छन् कि विगतका पैतिवद्धता पूरा नगर्ने हो भने प्रचण्ड सरकारको औचित्य छैन ।
त्यसो त फोरम अध्यक्ष यादवले आफू निकटका नेताहरुसँग यो पनि बताउने गरेका छन् कि प्रचण्ड सरकारको आयु धेरै छैन, कात्तिकभित्रै यो सरकार ढल्छ ।
काठमाडौंमा वामदेवको चर्चा
त्यसो त काठमाडौंका दशैंका बेला अर्को पनि राजनीतिक हल्ला शुरु भएको छ, त्यो के भने एमाले नेता वामदेव गौतम प्रधानमन्त्री बन्दैछन् ?
दशैंअघि स्वास्थ्यमन्त्री गगन थापा केपी ओलीलाई भेट्न गएका थिए । त्यहाँबाट फर्केपछि उनले एउटा सार्वजनिक कार्यक्रममा भने कि निर्वाचन गर्न कठिन छ, शक्ति सन्त्ुलन फेरेर भए पनि संविधान कार्यान्वयनको वातावरण बनाउनुपर्छ ।
त्यसलगत्तै एमाले नेता शंकर पोखरेलले अनलाइनखबरलाई दिएको विशेष अन्तरवार्तामा पनि करिब यस्तै यस्तै संकेत गरे । पोखरेलले चैतमा चुनाव गर्ने हो भने माघ फागुनअगावै सरकार बलियो सरकार बनाउनुपर्ने प्रस्ताव राखे । यसको अर्थ चैतमा चुनाव अगावै सरकार परिवर्तन गर्ने वा एमालेलाई पनि चुनावी सरकारमा सहभागी हुने वातावरण बनाउनुपर्छ भन्ने नै हो ।
मन्त्री थापा र एमाले नेता पोखरेलका यी अभिव्यक्तिले पनि चाँडै सरकार फेरिँदैछ भन्ने हल्लालाई पूठ दिएको छ । र, यही हल्लाकै वीचमा अबको प्रधानमन्त्री देउवाको साटो वामदेव गौतम बन्दैछन् भन्ने चर्चालाई तन्काउन थालिएको छ । मधेसी मोर्चामा समेत वामदेवको नामबारे चर्चा हुन थालेको छ ।
कांग्रेसले कात्तिक ४ मा बैठक गर्ने
यसैवीच माओवादीसँग ९/९ महिनाका लागि सत्ता साझोदारी गरेर प्रचण्डलाई प्रधानमन्त्री बन्न सघाएको नेपाली कांग्रेसले आगामी कात्तिक ७ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
सो बैठकमा नेपाली कांग्रेसले सरकारका कामहरुको समीक्षा, राज्यमन्त्रीहरुको नियुक्ति एवं संविधान संशोधनको एजेण्डा लगायतका विषयमा छलफल गर्ने कार्यसूचि बनाएको छ ।
वेटिङ प्रधानमन्त्रीका रुपमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावको मुखमा फेरि एमाले नेता वामदेव गौतम वा माधव नेपाललाई सत्ता हस्तान्तरण गर्ला भनेर अनुमान लगाउन सकिँदैन ।
तर, यसवीचमा एमालेले आगामी चुनावलाई मध्यनजर गर्दै आगामी सत्ता कांग्रेसमा सर्न नदिने र माओवादी-कांग्रेसवीच अन्तरविरोध सिर्जना गर्ने रणनीति अपनाउन सक्ने धेरैको अनुमान छ । वामदेवको नाम त्यसै क्रममा अगाडि आएको हुन सक्छ ।
onlinekhabar























