सञ्चार मन्त्रालयको नियुक्तिमा कांग्रेस र माओवादी भागबण्डा
रामचन्द्र पौडेल पक्षका कांग्रेस नेता र मन्दिरका महन्थलाई काउन्सिलमा नियुक्त गरिएपछि कांग्रेसी पत्रकारहरु आक्रोशित भएका छन् ।
प्रेस युनियनको सिफारिसमा काभ्रेका कांग्रेस महासमिति सदस्य ईश्वरी ओझा नियुक्त भएका छन् । त्यस्तै उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधीको सिफारिसमा जनकपुरको एक मन्दिरका महन्थ नवलकिशोर यादवले काउन्सिल सदस्यमा पुनः नियुक्ति पाएका छन् । उनी मन्दिरका पुजारीका साथै स्थानीय रेडियोका सञ्चालकसमेत हुन् ।
गत विहीवारको मन्त्रिपरिषद बैठकमा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले ओझा र यादवको नियुक्तिको प्रस्ताव लगेका थिए । सोही बैठकमा किशोर श्रेष्ठ र खिलवहादुर भण्डारीको पुनर्निनियुक्तिको प्रस्ताव समेत गएको थियो ।
शुरुमा मुख्यसचिवले फाइल फिर्ता पठाए पनि पछि प्रधानमन्त्री प्रचण्डले सोही मितिमा नियृुक्तिको माइन्युट गर्न निर्देशन दिएको स्रोतले जनाएको छ ।
ओझा र यादवको नियुक्तिले प्रेस युनियनभित्र विवाद बढेको छ । युनियनका अध्यक्ष बद्री सिग्देल सभापति देउवाका निकट मानिन्छन् । तर, काउन्सिलको नियुक्तिमा पौडेल पक्षधर ओझाको नाम सिफारिस भएपछि देउवा पक्षमा असन्तुष्टि देखिएको हो ।
सिग्देलले भने युनियनमा सन्तुलन मिलाउन यस्तो सिफारिस गर्नुपरेको सफाइ दिएको स्रोतले बतायो । महन्थको नियुक्ति भने युनियनको सिफारिसमा नभई मन्त्री निधीको इच्छामा भएको हो ।
महन्थ यादव यसअघि ०६८ सालमा फोरम गणतान्त्रिकका नेता राजकिशोर यादव मन्त्री हुँदा पनि काउन्सिल सदस्य बनेका थिए । ओझा भने कांग्रेस नेता रामचन्द्र पौडेलका किचन क्याविनेट सदस्य मधु आचार्यका सहयोगी हुन् । उनी अघिल्लो सरकारका पालामा नियुक्त गरिएका दीपक पाठकका ठाउँमा ल्याइएका हुन् ।
युनियनका एक पदाधिकारीले को व्यक्ति गयो भन्ने भन्दा पनि पत्रकारको ठाउँमा पार्टी नेताहरु नियुक्ति हुने प्रवृति गलत रहेको अनलाइनखबरलाई बताए । उनले भने- अघिल्लो पटक पनि सक्रिय पत्रकारिता गरेका भन्दा कांग्रेस महासमिति सदस्यको भूमिकामा रहेका सुदर्शन आचार्यलाई मिनेन्द्र रिजालले नियुक्त गरेका थिए । अहिले पनि कांग्रेसका महासमिति सदस्य नै नियुक्त भएका छन् । यसले गलत नजिर बसेको छ ।
नयाँ प्रस्तावित सञ्चार नीतिले प्रेस काउन्सिलमा पुनसंरचनाको प्रस्ताव गरेको छ । साथै बढ्दो अनलाइन मिडियाको प्रभावसँगै काउन्सिलमा अनलाइन पत्रकारहरुको समेत प्रतिनिधित्व गराउनुपर्नेमा अहिलेसम्म कांग्रेस, माओवादी र एमाले लगायतका दलहरुले भागवण्डाका आधारमा नियुक्ति गर्दै आएका छन् ।
धमाधम भागबण्डाको तयारी
यता सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतका बिभिन्न राजनीतिक नियुक्तिका पदहरु धमाधम खाली हुन थालेपछि सत्तारुढ कांग्रेस र माओवादीले भागबण्डा गर्दैछन् ।
सञ्चारमन्त्री माओवादी नेता सुरेन्द्र कार्की भए पनि कांग्रेस हावी भएको भन्दै प्रेस सेन्टरमा समेत असन्तुष्टि चुलिएको छ ।
प्रेस काउन्सिलको नियुक्तिमा पनि चार सदस्यमध्ये कांग्रेसले दुई सदस्य लिएको छ । माओवादी केन्द्रका खिलबहादुर भण्डारीले पुनःनियुक्ति पाएका छन् । किशोर श्रेष्ठले विश्व प्रेस काउन्सिलको बरिष्ठ उपाध्यक्ष भएका कारण मानार्थ रुपमा पुनः नियुक्ति पाएका हुन् ।
पत्रकाहरुको तलब भत्ता निर्धारण गर्ने न्युनतम पारिश्रमिक निर्धारण समितिमा अहिले पाँच सदस्य खाली छन् । तीमध्ये ३ जनाको नाम पत्रकार महासंघले सिफारिस गर्नेछ भने दुई सदस्य मन्त्रालयले नियुक्त गर्नेछ ।
अब एक महिनाभित्रै नेपाल टेलिभिजनका महाप्रबन्धक लक्ष्मण हुमागाईको पनि पदावधि सकिँदैछ । त्यस्तै मंसिरमा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्कीको अवधि सकिँदैछ । त्यसको एक महिनापछि प्रेस काउन्सिलका अध्यक्ष वोर्णवहादुर कार्कीको पदाअवधि सकिनेछ ।
यी सबै नियृुक्तिहरुमा भागबण्डाका लागि दुबै दलको तर्फबाट संयुक्त संयन्त्र बनाउन लागिएको स्रोतले जनाएको छ ।
यसैबीच सञ्चार मन्त्रालयका उच्च अधिकारीहरुको पनि व्यापक सरुवा भएको छ । सञ्चार मन्त्रालयको प्रशासनका सहसचिव सुरेश अधिकारीलाई हुलाक सेवा विभागमा खेदिएको छ ।
अधिकारीको ठाउँमा मन्त्री कार्कीका गाउँले दाजुभाइ किशोरजंग कार्कीलाई ल्याइएको छ । मन्त्री कार्कीले कानुनका उपसचिव तथा चलिचत्र विकास बोर्डका सदस्य-सचिव पुष्कर नेपाललाई समेत सरुवा गरेका छन् ।
onlinekhabar



