आश्विन २०, २०७३- सन् २०१६ को रसायनशास्त्रतर्फको नोवेल पुरस्कार अति साना उपकरणहरूको विकासका निम्ति प्रदान गरिएको छ ।
जिन पिरे सौभेज, सर फ्रासर स्टोडार्ट र बर्नाड फेरिन्गालाई संयुक्त रूपमा झन्डै ९ करोड रुपैयाँ बराबरको यो पुरस्कार दिइने भएको हो । उनीहरूले ‘अणुको तह’मा उपकरणहरूको डिजाइन गरेका छन् । यी उपकरणहरू एउटा रौंभन्दा हजारौं गुणा साना हुने रसायनशास्त्रीत्रयको मत छ । यी उपकरणले सिधै मानव सेलमा औषधि पुर्याउन सक्छन् । खास गरी क्यान्सर सेल मार्नका लागि यसको प्रयोग हुन्छ ।
यस किसिमको लघु प्रविधिलाई अन्य किसिमका प्रयोजनमा पनि लगाउन सकिन्छ । सौभेज, स्टोडार्ट र फेरिन्जालाई अणुहरूलाई एकसाथ सानोदेखि ठूला उपकरण विकासमा कसरी चलायमान गर्न सकिन्छ भनेर प्रस्टयाएबापत यो पुरस्कार दिन लागिएको हो । ‘उनीहरूले अणुको तहमा कसरी गति नियन्त्रण गर्न सकिन्छ भनेर देखाएका छन्,’ नोवेल कमिटीका ओलेभ रामस्ट्रोमले भने ।
पुरस्कार पाएपछि प्राध्यापक फेरिन्गाले आफूलाई पत्यार पर्न गाह्रो भएको, अनि भावुक पनि भएको बताए ।
बीबीसी



