प्रकाश बराल, सुदीप कैनी, आँबुखैरनी (तनहुँ)
आश्विन १९, २०७३- पहिरोले मंगलबार बिहान ८ बजे देखि अवरुद्ध पृथ्वीराजमार्ग अझै सुचारु हुन सकेको छैन । मुग्लिन–आँबुखैरनी सडक खण्डको आँबुखैरनी नगरपालिका–७ स्थित ऐना पहरोमा खसेको पहिरोका कारण राजमार्गमा सयौं यात्रु अलपत्र परेका छन् । गोरखा आउँदै गरेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई बाटोबाटै काठमाडौं फर्केका छन् ।
दसैंका लागि घर हिडेका सर्वसाधरण, बिरामी बोकेका एम्बुलेन्स, पर्यटक र राजनितिक दलका नेताहरु समेत पहिरोका कारण बाटोमा नै रोकिएका छन् । मुग्लिनबाट पश्चिम र काठमाडौं, नारायणगढ तर्फ हिडेका यात्रुहरु अलपत्र परेका हुन् ।
पहिरोका कारण राजमार्ग ठप्प भएको इलाका प्रहरी कार्यालय आँबुखैरनीका प्रहरी निरिक्षक रमेश श्रेष्ठले बताए । डोजर मगाएर आँबुखैरनी तर्फबाट सडक खुलाउन थालिएको छ । ‘पहिरो ठुलो छ, राजमार्ग कति खेर खुल्छ भनेर अनुमान गर्न सकिदैंन’, उनले भने ।
बिहान ९:३० बजे तनहुँ सदरमुकाम दमौलीबाट डोजर मगाएर पहिरो पन्छाउन खोजिएको थियो । पहिलो पटक आएको डोजरले काम गर्न नसकेपछि पुन: दुई वटा डोजर ल्याईएको छ । पछिल्लो पटक आएका दुई डोजर मध्ये एउटाको टायर पञ्चर भएको श्रेष्ठले बताए । ‘अहिले एउटा डोजरले मात्रै पहिरो हटाउने काम गरेको छ’, उनले भने ।
भिरमा पहिरो गएका कारण यात्रुहरु हिडेर वारपार गर्न समेत सकेका छैनन । ‘तल मस्र्याङदी नदी छ माथि भिरबाट ढुङ्गा खसि रहेको छ’, उनले भने । सडक डिभिजन कार्यालयका प्राविधिकहरु बाटो खुलाउन डोजर सहित पहिरो स्थल आएका हुन् । राती भएको वर्षाका कारण पहिरो गएको हुन सक्ने प्राविधिकहरुले अनुमान गरेका छन् । यस्तै, बाटाे खुल्न अझै ४ घण्टा लाग्नसक्ने प्राविधिकहरुकाे भनाई छ ।
पहिरोका कारण नयाँ शक्ति पार्टीले गोरखामा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन आएका पूर्व प्रधानमन्त्री भट्टराई बाटोबाटै काठमाडौं फर्केका छन् । चियापानमा सहभागीहरुलाई टेलिफोनबाट सम्बोधन गरेर उनी राजधानी फर्केका हुन् ।
ekantipur



