‘कार्कीले गल्ती महसुस गरेका छन् छानबिन अघि नबढाउने प्रतिबद्धता जनाएका छन्’
आश्विन ४, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले लडाकु शिविरको अनियमितता छानबिन प्रक्रिया अघि नबढाउने प्रतिबद्धता अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले व्यक्त गरेको भन्दै पार्टीको बैठकमा ब्रिफिङ गरेका छन् ।
माओवादी स्रोतका अनुसार सोमबारको पार्टीको बैठकमा प्रधानमन्त्री दाहालले यस्तो जानकारी गराएका हुन् । ‘मेरो अख्तियार प्रमुख लोकमानसिं कार्कीसँग कुरा भइसकेको छ, गल्ती महसुस गरेका छन्, छानबिनको प्रक्रिया अघि नबढाउने प्रतिबद्धता व्यक्त गरेका छन्’, दाहालको भनाई उद्धृत गर्दै एक नेताले भने ।
अख्तियारले गत शुक्रबार पत्रकार सम्मेलन गर्दै माओवादी लडाकु शिविरमा भएको अनियमितता छानविन प्रक्रिया अघि बढाउने निर्णय गर्दै सम्बन्धि पदाधिकारीहरसंग सोधपुछ अघि बढाउने बताएको थियो ।
प्रमुख विपक्षी एमालेको उक्साहटमा अख्तियारले उक्त प्रक्रिया अघि बढाउन खोजेको उल्लेख गर्दै दाहाले त्यसबारे कार्कीसंग कुरा भइसकेको बैठकमा उल्लेख गरेका थिए । दाहाल निकट दुई नेताहरुले एमालेका उच्च तहका नेता र अख्तियार प्रमुख कार्कीबीचको छलफलबाट यस्तो प्रक्रिया अघि बढाउन खोजेको दाबी गरेका छन् ।
‘एमाले अध्यक्ष केपी ओलीको सत्ता बहिर्गमनपछि पार्टीमा उनको पक्षका नेताहरु प्रधानमन्त्री दाहाल र सरकारको तेजोवध गर्न सक्रिय छन्’ माओवादी स्रोतले भन्यो ।
सर्बोच्च अदालतले अख्तियार प्रमुख कार्कीको नियुक्तिको योग्यता सम्बन्धि बिषयमा भएको फैसलाको पुरावलोकन गर्ने निर्णय गरेकै दिन अख्तियारले लडाकु शिविर अनियमितताको छानविनको प्रक्रिया अघि बढाउने बताएको थियो ।
सर्वत्र विरोधका वावजुद खिलराज रेग्मीको सरकारको पालामा तीन बर्ष अघि कार्की अख्तियार प्रमुखमा नियुक्त भएका थिए । त्यसबेला प्रधानमन्त्री दाहालसहितका प्रमुख दलका नेताहरुले भने कार्कीको नाममा सहमति जनाएका थिए । तर अन्यत्रबाट तिब्र विरोध भएपछि तत्कालिन राष्ट्रपति रामवरण यादवले राताराता कार्कीलाई प्रमुखमा नियुक्त गर्ने सिफारिस कार्यान्वयन गर्दै बिहान सरकारी कार्यालय समय सुरु हुने अगावै सपथ गराएका थिए ।
अख्यितारका सूचना अधिकृत नारायण अधिकारीले भने प्रधानमन्त्री दाहाल र अख्तियार प्रमुख कार्कीबीचको कुराकानीबारे जानकारी नभएको बताए ।
एमालेले पनि आफुहरुमाथि दाहालले लगाएको आरोप सत्य नभएको बताएको छ । ‘अख्तियार स्तवन्त्र संबैधानिक आयोग हो यसले स्वतन्त्र ढंगले काम गर्छ यसका हालैका निर्णयहरुमा एमालेको कुनै भूमिका छैन’ एमाले नेता विष्णु रिमालले भने ।
माओवादी लडाकुहरुको शिविरमा झण्डै साढे ४ अर्ब रकमको अनियमिता भएको दाबी सहित पटक पटक अख्यितारमा विभिन्न समूहले यसअघिनै उजूरी गरेका थिए । त्यस्तो उजुरी दिनेमा एमालेको भातृ संगठन युवा संघ समेत थियो । शिविरमा भएका वास्तविक लडाकुको संख्या भन्दा बढी देखाएर अनियमितता गरिएको आरोप त्यस्ता उजुरीमा थिए ।
ekantipur



