भाद्र २७, २०७३- सिन्धुपाल्चोकबाट आफन्तकोमा आएका एक १२ वर्षीय बालकको स्वयम्भूका बुद्ध पुतवारसँग चिनजान भयो। स्वयम्भू बस्ने २१ वर्षीय पुतवारको पहिचान बालबालिका प्रेमी थियो। उनी अपरिचित बालबालिकासँग पनि चाँडै घुलमिल भइहाल्थे। माया गर्थे, मिठाई किनिदिन्थे, घुमाउन लैजान्थे। उनीसँग गएका बालबालिका खुसी हुँदै फर्कने हुँदा परिवारले समेत उनीमाथि शंका गर्दैनथे।
ती बालकलाई पनि पुतवारले स्वयम्भू घुम्न लगे। कपाल काटिदिए, कपडा किनिदिए। दोस्रो दिन उनको ठमेल घुम्न जाने प्रस्ताव उनले सहजै स्विकारे। दिनभर ठमेलमा घुमाए, रेस्टुरेन्ट लगेर उनलाई मन पर्ने खाजा खुवाए। बेलुकातिर उनले ठमेलको याम्बु होटल लगे।
‘होटलमा एउटा अमेरिकी छ, उसलाई तिमी मन पर्यो भने पैसा पनि दिन्छ, अमेरिका पनि लैजान्छ,’ भन्दै फकाएपछि उनी होटल जान राजी भए। उनलाई होटलमा एक अमेरिकी नागरिकले स्वागत गर्दै कोठामा लगे।
पुतवार उनलाई त्यहीं छाडेर बाहिर निस्किए। केही समयमा उनी त्यसैगरी अन्य ४ बालबालिका लिएर होटल पुगे र उनीहरूलाई पनि त्यहीं छाडेर बाहिरिए। केही समयमा एक हुल व्यक्ति त्यही कोठामा आइपुगे, कोठाको तस्बिर लिए अनि ती अमेरिकी नागरिकलाई आफूसँगै लिएर गए।
उनीसँगै रहेका अन्य बालबालिकालाई अर्को गाडीमा राखेर महाराजगन्जको नीलो गेट भएको एक घरभित्र लगे। त्यहाँ पुगेपछि मात्र उनले चाल पाए, त्यो प्रहरी कार्यालय थियो, उनीहरूलाई होटलबाट ल्याउने प्रहरी थिए।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार पुतवारलाई बाल यौन दुराचारीको अन्तर्राष्ट्रिय नेटवर्कका नेपाली सहयोगीका रूपमा सार्वजनिक गर्यो। सोही होटलमा नियन्त्रणमा लिइएका अमेरिकी नागरिक केन्नेथ जोसेफ कोम्बसलाई बाल यौन दुराचारी र ती १२ वर्षीय बालकसहित ५ जना पीडित।
ब्युरोका प्रमुख डीआईजी नवराज सिलवालका अनुसार पुतवारबारे ब्युरोले १ महिनाअघि नै जानकारी पाएको थियो। उनले बालबालिकाहरूलाई ठमेलको होटलहरूमा लैजाने गरेको सूचनाका आधारमा ब्युरोको प्रहरीले उनको गतिविधि निगरानीमा राखेको थियो।
भदौ ७ मा उनी याम्बु होटलमा गएर एक विदेशी नागरिकलाई भेटेपछि ब्युरोले अर्को टोली याम्बुको गतिविधि निगरानीमा खटायो। भदौ २४ मा पुतवार एक बालक लिएर होटलभित्र गए र केही समयमै निस्किए। त्यसको १ घण्टापछि उनी पुन: ४ बालक लिएर होटल गए र केही समयमा एक्लै निस्किए। उनी निस्किएको करिब आधा घण्टापछि प्रहरी होटलको कोठामा पुग्दा अमेरिकी नागरिक कोम्बस नांगै बालकहरूसँग ओच्छयानमा थिए। बालकहरूको शरीरमा पनि कुनै कपडा थिएन।
‘पेडोफायल सोसाइटीका सदस्य कोम्बस ५ बालबालिकासहित पक्राउ परेका हुन्,’ ब्युरोका प्रमुख डीआईजी नवराज सिलवालले भने, ‘पुतवार उनका सहयोगी देखिएकाले अदालतबाट म्याद लिएर अनुसन्धानका लागि हिरासतमा राखेका छौं।’
पुतवार र कोम्बसको पक्राउपछि सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय यौन दुरचारीको समूहले नेपालमा जालो फैलाइसकेको डीआइजी सिलवालले बताए। नेपालमा रहेका एजेन्टमार्फत बालबालिका चयन गरी यौन दुराचारकै लागि यहाँ आउने गरेको देखिएको छ। पुतवारले सिंगापुर, फ्रान्सलगायत देशका नागरिकलाई ५० बढी बालबालिका दुराचारमा परेको खुलेकाले अवस्था देखिएको सिलवालको भनाइ छ।
बढ्दो संगठित जालो
नेपालमा २०६६ बाटै जर्मन, फ्रेन्च र अमेरिकी नागरिक बालबालिकालाई यौन दुराचार गरेको अभियोगमा पक्राउ पर्दै आएका छन्। ६ वर्षअघि काठमाडौंको अत्तरखेलमा फ्रेन्च नागरिक जी ज्याक हे बाल यौन दुराचारको आरोपमा पक्राउ परेका थिए।
अनाथ बालबालिकाको संरक्षणका लागि भन्दै बालगृह खोलेर उनी यौन दुराचारमा संलग्न देखिएपछि महानगरीय प्रहरी वृत्त बालाजुले पक्राउ गरेको थियो। उनको पक्राउपछि उनी यसअघि सोही अभियोगमा पक्राउ परेर नेपालबाट निकालिएको खुलेको थियो।
२०७१ पुस ४ मा यौन दुराचारीका रूपमा इन्टरपोलको सूचीमा समेत रहेका क्यानेडियन नागरिक अर्नेस्ट फेनविक म्याकइन्टोस पुल्चोकको क्याफे ब्राजिल गेस्ट हाउसमा २ बालबालिकामाथि यौन दुराचार गरेको अभियोगमा पक्राउ परेका थिए। क्यानेडियन आर्मीबाट रिटायर्ड उनी कहलिएका अन्तर्राष्ट्रिय यौन दुराचारी रहेको खुलेको थियो। उनलाई सोही अभियोगमा ८ वर्ष जेल सजाय भएको थियो।
पोखरामा जर्मन नागरिक कर्निलियस स्किलिङ भोन कन्सटयाट यौन दुराचारको अभियोगमा पक्राउ परे र उनलाई ६ वर्ष जेल सजाय भएको थियो। व्यक्तिगत रूपमा बाल यौन दुराचारी पक्राउ परे पनि संगठित समूह भने फेला परेको थिएन। प्रहरीले आइतबार सार्वजनिक गरेको घटनाले नेपालमा विश्वभर छरिएका यौन दुरचारीको सञ्जाल विस्तार भइसकेको देखिएको छ।
प्रारम्भिक अनुसन्धानमा पुतवारले बालबालिकाको तस्बिर र भिडियो खिचेर यौन दुराचारमा संलग्न अन्तर्राष्ट्रिय समूहको सञ्जालमा पठाउने र नेपालमा आउने दुराचारीको मागअनुसारको बालबालिकालाई होटलमा उपलब्ध गराउने गरेको खुलेको ब्युरोका एसपी दिवस लोहनीले जानकारी दिए। प्रहरीले उद्धार गरेका बालबालिकाको बयानबाट समेत पुतवार र बोम्बसले उनीहरूको नग्न तस्बिर र भिडियो खिचेको खुलेको छ।
अनुसन्धानमा संलग्न ब्युरोका डीएसपी ज्ञानेन्द्र फुँयालका अनुसार पुतवारले तस्बिर र भिडियो लिएर भाइबर, हवाट्स एप र विच्याटमा रहेको बाल यौन दुराचारीको समूहमा पठाउने गरेका थिए। उनले पठाएको तस्बिर र भिडियोका आधारमा यौन दुराचारीले बालबालिका छानेर नेपाल आउने गरेका थिए।
‘पेडोफायल (बाल यौन दुराचारी) नेपाल आएलगत्तै पुतवारलाई सम्पर्क गर्ने गरेको अनुसन्धानमा देखिन्छ,’ एसपी लोहनीले भने, ‘अहिलेसम्म उनले नेपाल आएका पेडोफायलहरूलाई ५० भन्दा बढी बालबालिका पठाएको खुलेको छ।’
प्रहरीले शुक्रबार उद्धार गरेका १२ देखि १६ वर्षभित्रका बालबालिकामध्ये केही पटक–पटक यौन दुव्र्यबहारमा परेका छन् भने केही पहिलोपटक पुगेका हुन्। पीडित बालबालिकाको बयानअनुसार पुतवारले कोठामा लगेपछि विदेशी नागरिकले प्रारम्भमा आफ्नो रोजाइअनुसारको खानेकुरा खान दिने,
त्यसपछि नुहाउन लगाएर आफूसँगै सुताएर यौन गतिविधि गर्ने गरेका थिए।
‘बालबालिकालाई राजी गराउन खानेकुरामा लट्ठयाउने औषधि मिसाएर खुवाउने गरेको देखियो,’ डीएसपी फुँयालले कान्तिपुरसँग भने, ‘अप्रकृतिक सम्पर्कबाट केही बालबालिका बिरामीसमेत भएको देखियो, त्यस्तालाई पुतवारले नै उपचार गराउने गरेका थिए।’
ekantipur



