×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

नेपाली भाषाको अस्तित्व सङ्कटमा

  •  
  • शनिबार, भदौ २५, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    – खगेन्द्रप्रसाद लुइटेल, काठमाडौं

    भाद्र २५, २०७३- भाषा हरेक जाति र राष्ट्रको पहिचान हो । भाषाबाटै विविध संस्कृतिको अभिव्यक्ति हुने र भाषाभित्र अनेक संस्कृति समेटिने हुँदा यसलाई महासंस्कृतिका रूपमा लिइन्छ । दैनिक सामाजिक व्यवहारमा विचारको आदानप्रदान भाषाकै माध्यमबाट हुने हुँदा भाषाबिना मानिसका सामाजिक व्यवहार एवं क्रियाकलाप सञ्चालन हुँदैनन् । एक हजार वर्ष पार गरिसकेको नेपाली भाषामा उहिलेदेखि अहिलेसम्म थुप्रै व्याकरण र कोशको निर्माणका साथै प्रशस्तै साहित्यिक कृतिहरूको सिर्जना भइसकेको र यसले मानक स्वरूपसमेत ग्रहण गरिसकेको हुँदा यो एउटा विकसित र सम्पन्न भाषा हो ।
    यतिखेर नेपाली भाषाको लेख्य मानक प्रयोग वा वर्णविन्यासलाई केही व्यक्ति र निकायबाट प्रायोजित रूपले अस्तव्यस्त पारी नेपाली भाषाको अस्तित्वलाई नै सङ्कटग्रस्त तुल्याइएको छ । घोषणापत्र र परिपत्रका रूपमा देखापरेका दुईखाले दृष्टिकोणमध्ये पहिलो पश्चगमनतर्फ उन्मुख छ भने दोस्रो अग्रगमनका नाममा अराजकता निम्त्याउनेतर्फ उन्मुख छ । यहाँ एउटा अतिवादले अर्काे अतिवाद जन्माएको देखिन्छ । यसप्रकारका पश्चगामी र अराजक गतिविधिले नेपाली भाषालाई विकासतर्फ नभई विनाशतर्फ धकेल्न खोजेको छ । यी दुवै अतिवादी दृष्टिकोण भएकाले यिनले अन्तत: भाषालाई खति नै पुर्‍याउँछन् । यी दुईमध्ये घोषणापत्र वैयक्तिक प्रकृतिको भएकाले त्यसले भाषिक प्रयोक्तालाई खासै असर पार्दैन र पारेको पनि छैन । घोषणापत्रमा पनि चन्द्रगढी घोषणापत्रजति अराजक ललितपुर घोषणापत्र छैन । यसका पश्चगमनतर्फ उन्मुख हुन खोज्ने कतिपय सन्दर्भलाई सामान्य संशोधन गरी समेटेर लान सकिए पनि परिपत्र सरकारी आदेशका रूपमा जबर्जस्ती ढङ्गबाट आएको हुँदा त्यो आपत्तिजनक भएकाले परिपत्रवादीका अराजकता स्वीकार गर्न सकिन्न ।
    खासमा भाषा घोषणापत्र वा परिपत्रका माध्यमबाट लागू गरिने वस्तु होइन । लामो समयदेखि प्रचलित नेपाली भाषाको वर्णविन्यासले लगभग मानक रूप लिइसकेको अवस्थामा अहिले आएर एक्कासि के भयो र बिनाआधार परिवर्तनका नाममा अराजकता फैलाउनुपर्‍यो ? यसतर्फ नेपाली भाषाप्रेमी सबै सचेष्ट रहनु आवश्यक छ ।
    नेपालीमा पछिल्लो समयमा पदको समेत दुरुपयोग गरी बल्झाइएका जटिल समस्या संयुक्त वर्णको प्रयोग, पदयोग र पदवियोग तथा ह्रस्व–दीर्घ मुख्य रहेकाले यिनबारे तल सङ्क्षिप्त चर्चा गरिन्छ ।
    संयुक्त वर्णको प्रयोग
    नेपाली वर्णमालामा रहेका वर्णहरू खुट्टो काटेर आधा गरिने र लेखाइबाटै आधा गरिने गरी दुई प्रकारका छन् । तिनमा ‘ङ, छ, ट, ठ, ड, ढ, ह’ खुट्टो काटेर आधा गरिन्छ भने बाँकी लेखाइबाटै आधा गरिन्छ ।
    नेपाली भाषा देवनागरी लिपिमा लेखिने भाषा हो । नेपालीबाहेक संस्कृत, हिन्दी, भोजपुरी, मैथिलीलगायत थुप्रै भाषाका साथै नेपालमा बोलिने कतिपय भाषा पनि यस लिपिमा लेखिन्छ । निकै लामो इतिहास भएको यस लिपिको छुट्टै वर्णमाला छ र यसका संयुक्त वर्ण पनि छन् ।
    नेपाली भाषामा द्द, द्ध, द्म, द्य, द्व, क्त, त्त, श्र, क्ष, त्र, ज्ञ आदि संयुक्त वर्ण प्रचलित छन् । यी संयुक्त व्यञ्जन नेपाली भाषाका मात्र नभएर देवनागरी लिपिकै विशेषता हुन् । यतिखेर केही व्यक्तिले नेपालीका यी संयुक्त वर्णलाई जथाभावी बिगारेर नेपाली भाषालाई कुरूप तुल्याएका छन्, जस्तै—
    प्रचलित रूप     बिगारिएको रूप
    विद्या     विद‌्या
    द्वन्द्व    द्‌वन्‌द्
    बुद्ध     बुद्‌द
    शुद्ध     शुद्‌द
    उद्देश्य     उदेश्‌य
    पद्म     पद्‌म
    हात्ती    हात्ती आदि ।
    खुट्टा काटेर बिगारिएका संयुक्त वर्णमध्ये पनि दसँग जोडिएका संयुक्त वर्णमा चरम अराजकता निम्त्याई लेख्न र पढ्नसमेत नसकिने स्थितिमा पुर्‍याइएको छ । द्‌वय (द्वय), द्‌विविधा (द्विविधा), द्‌वितीय (द्वितीय), द्‌वैवार्षिक (द्वैवार्षिक), विद्‌या (विद्या), विद्‌युत् (विद्युत्), बुद्‌धि (बुद्धि), विद्‌वान (विद्वान्) आदि लेखन र पठन दुवैमा कति असहज छ ? उच्चारणअनुरूप लेख्नुपर्छ भन्नेलाई यी शब्दको उच्चारण कसरी हुन्छ भन्ने त थाहा हुनुपर्ने हो । यी संयुक्त वर्ण नेपालीका मात्र नभएकाले अब मैथिलीका महाकवि विद्यापतिलाई कसरी लेख्ने नि ?

    बुध् धातुबाट निर्मित बुद्ध (बुध्+क्त) तथा शुध् धातुबाट निर्मित शुद्ध (शुध्+क्त) जस्ता बहुप्रचलित तत्सम शब्दलाई बुद्ध र शुद्ध लेखी विकृत तुल्याइएको छ । यी शब्दमा प्रयुक्त संयुक्त वर्णलाई खुट्टा काटेरै प्रयोग गर्दा पनि व्युत्पत्तिअनुसार बुध्द र शुध्द हुनुपर्नेमा त्यति पनि जानकारी नराख्नेले व्यक्तिगत स्वार्थविना यो काम गरेको होइन भन्ने स्पष्टै देखिन्छ ।

    नेपालीका ‘श्र, क्ष, त्र, ज्ञ’ पनि संयुक्त व्यञ्जन नै हुन् । अब ‘श्री, शिक्षा, छात्र, ज्ञानी’ जस्ता शब्दचाहिं कसरी लेख्नु भनी परिपत्र गराउने नि ?

    यस सन्दर्भमा कतिपय व्यक्तिले नेपाली भाषालाई कम्प्युटरअनुरूप ढाल्नुपर्छ र त्यसो गर्नाका लागि यसो गरिएको हो भन्ने गरेको पनि पाइन्छ । आधुनिक प्रविधिका रूपमा आएको कम्प्युटरको प्रयोग नेपाली भाषामा अवश्य गर्नुपर्छ तर कम्प्युटरअनुसार भाषा नभएर भाषाअनुसार कम्प्युटर सञ्चालन गर्नुपर्छ । कम्प्युटरअनुरूप नै भाषालाई ढाल्ने हो भने पनि कम्प्युटरमा सहज उपलब्ध द्व, द्य जस्ता संयुक्त वर्णलाई जथाभावी बिगारेर द्व, द्य गरी द्वन्द्व, विद्या लेखेर प्रविधिको प्रयोगका नाममा लामो परम्पराबाट विकसित देवनागरी लिपिमा प्रचलित यसप्रकारका संयुक्त वर्णलाई जथाभावी टुक्य्राएर बिगारी भाँडभैलो मच्चाउने छुट कसैलाई पनि छैन । यसमा ‘हामीले विकल्प दिएका छांै’ भन्ने गरेको सुनिन्छ । यसो भन्नेहरूलाई त्यसो गर्ने र भन्ने अधिकार कहाँबाट प्राप्त भयो ?

    संयुक्त वर्णलाई बिगार्ने कामको थालनी विशेषत: चन्द्रगढी घोषणापत्र (२०६६) बाट गरियो भने नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित नेपाली भाषा सङ्गोष्ठी (२०६७) तथा शिक्षा मन्त्रालयबाट पाठ्यक्रम विकास केन्द्रका नाममा जारी गरिएको परिपत्र (२०६९) बाट निरन्तरता दिँदै नेपाली बृहत् शब्दकोश (२०७२) मा जबर्जस्ती प्रविष्टि दिने काम गरियो ।

    चन्द्रगढी घोषणापत्र तयारी समिति, नेपाली भाषा सङ्गोष्ठी गोष्ठीको निर्णय समिति, मन्त्रालयबाट जारी गरिएको परिपत्र निर्माण कार्यदलका साथै नेपाल प्रज्ञा प्रतिष्ठानको भाषा विभागको प्रमुखमा उही व्यक्ति रहेको र चन्द्रगढी घोषणापत्रको प्रस्तोताका रूपमा रहेका व्यक्ति नै हाल नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्यसचिव रहेको हुँदा नेपालीको संयुक्त व्यञ्जनलाई पहिलेदेखि नै प्रायोजित रूपमा खुट्टा काटेर बिगार्ने संस्थागत षड्यन्त्र भएको स्पष्ट हुन्छ ।

    पदयोग र पदवियोग
    शब्दहरू जोडेर एउटै डिकमा लेख्नुलाई पदयोग भनिन्छ भने शब्दहरू छुट्याएर बेग्लाबेग्लै डिकामा लेख्नुलाई पदवियोग भनिन्छ । यो नेपाली भाषाको महत्त्वपूर्ण विशेषता हो । नेपालीमा पदयोग र पदवियोगसम्बन्धी स्पष्ट नियम र प्रचलन हुँदाहुँदै कतिपयद्वारा अगि सारिएको वियोगवादी दृष्टिकोण उपयुक्त देखिन्न । प्रयोगबाटै स्थापित भएका यी नियम विज्ञहरूको बौद्धिक बहसबाट संशोधन, परिमार्जन वा थपघटसमेत गर्न सकिन्छ तर कतै कसैबाट जबर्जस्ती लाद्ने प्रयत्न भने गर्नु हुन्न ।

    नेपालीमा प्रसाद, बहादुर, कुमार, नारायण, नाथ, राज, देव, मान, कान्त, लाल, काजी, दास, कुमारी, देवी, माया आदिलाई मध्यवर्ती नाम भन्ने गरिएको पाइए पनि अङ्ग्रेजी आदि भाषामा जस्तो यी छुट्टै मध्यवर्ती नाम होइनन् । नेपालीमा यस्ता शब्द लिङ्गभेदकका रूपमा पनि रहेका छन् । कसैको नाम ‘राम’ छ तर त्यसमा ‘राज’ पनि आएमा त्यो नाम ‘राम’ मात्र नभएर ‘रामराज’ हुन्छ । खासमा त्यो एउटै नाम हो मध्यवर्ती नाम होइन । यी उच्चारणको एक झोकामा उच्चरित हुने सिङ्गा नाम हुन् । नेपालीमा अङ्ग्रेजी आदि भाषामा जस्तो मध्यवर्ती नाम हुन्नन् । यसर्थ यस्ता शब्दलाई छुट्ट्याउनु उपयुक्त हुँदैन । यस्ता नामलाई छुट्ट्याउँदा अर्थमा पूरै भिन्नता आउँछ, जस्तै—
    रामप्रसाद खाएर गयो ।     राम प्रसाद खाएर गयो ।
    रामकुमार छ ।     राम कुमार छ ।
    रामबहादुर छ ।     राम बहादुर छ ।
    रामराज गर्छ ।     राम राज गर्छ ।
    रामलाल बुझक्कड छ ।     राम लाल बुझक्कड छ ।
    रामदास हो ।     राम दास हो ।
    रामराज भण्डारी आयो ।    राम राजभण्डारी आयो ।
    रामसिंह गयो ।    राम सिंह गयो ।
    सीताकुमारी हो ।    सीता कुमारी हो ।
    सीतादेवी हो ।     सीता देवी हो ।
    माथिका वाक्यमा पदयोग र पदवियोग गर्दा पूरै अर्थगत भिन्नता भएको कुरा स्पष्ट छैन र ?
    नामयोगी र समस्त शब्दको पदयोग गर्ने भन्ने स्पष्ट प्रचलन र नियम हुँदाहुँदै ‘दुईदुई लिपिमा लेखिने दुइटा शब्दले बनेका शब्द जोडेर लेख्ने’, ‘दुई अक्षरसम्मको स्वरान्त नामयोगीलाई विभक्तिजस्तै शीर्षशब्दसँग जोडेर लेख्ने’ ‘व्यञ्जनान्त दुईअक्षरी वा सोभन्दा बढी अक्षरका नामयोगीलाई अलग डिकोमा लेख्ने’ तथा ‘दुई र तीन अनि तीन र दुई लिपिमा लेखिने दुइटा शब्दको समासबाट बनेको शब्द अलग डिकोमा लेख्ने’ भन्नु औचित्यहीन कुरा हो ।

    पहिले नामयोगी र समस्त शब्द मात्र जान्दा पुग्नेमा अब लिपिसमेत गन्नुपर्ने अनि नामयोगी मात्र जानेर नभई दुई अक्षरको त्यसमा पनि स्वरान्त–व्यञ्जनान्तसमेत बुझ्नुपर्दा त्यसले सरलीकरण नभई झन् बढी जटिलता र गन्जागोलको स्थिति पैदा गर्छ । यसर्थ दुई स्वरान्त अक्षरसम्मका नामयोगी जोड्ने र त्यसभन्दा बढीका नामयोगीलाई छुट्याउने भन्ने कुरा औचित्यहीन, निरर्थक, तर्कहीन र अवैज्ञानिक छ । लिपि, वर्ण र अक्षर गनेर जोड्ने वा छुट्ट्याउने भन्नेजस्ता अव्यावहारिक, अवैज्ञानिक र निरर्थक कुरा गरेर भाषालाई थप बोझिलो बनाउनु हुन्न । यसरी नियम बनाउने व्यक्तिसमेत लिपि, वर्ण र अक्षर संरचनाका बारेमा स्पष्ट नभएको देखिन्छ ।

    अक्षर गनेर योग वा वियोग गर्ने नाममा ‘दिदीभाइ’, ‘पतिपत्नी’, ‘रामराज’, ‘जयदेव’, ‘रामपुर’ ‘कीर्तिपुर’ जोड्ने अनि ‘दिदी बहिनी’, ‘लोग्ने स्वास्नी’, ‘भरत राज’ ‘जीवेन्द्र देव’, ‘भरत पुर’, ‘ललित पुर’ छुट्याउने भन्ने कुरा कति लज्जाजनक छ । काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, तातोपानीजस्ता रूढ भइसकेका स्थानवाची नाम शब्द जोडेर लेखिन्छ, छुट्याउन मिल्दैन । यस्ता शब्दलाई छुट्याउनु भनेको अत्यन्त मिलेका लोग्नेस्वास्नीलाई अनेक तिगडम गरेर सम्बन्धविच्छेद गराउनुजस्तै हो ।

    सबै किसिमका असमापिका र समापिका क्रियाका संयुक्त रूपलाई अलग डिकोमा लेख्ने भनेर ‘भनि सक्छ’, ‘देखि हाल्यो’, ‘भइ रहन्छ’, ‘गरि सकि हाल्यो’, ‘भनि सक्न लाग्यो’, भनि दि हाल्नु हुन्छ’ जस्ता शब्दलाई छुट्याएर भाषालाई विरूप तुल्याउनु हुन्न । यसरी अनावश्यक रूपमा छुट्याउनाको अभिप्राय के ? छुट्याएर लेख्नुपर्छ भनी नियम बताउनेले नै एकै पृष्ठमा भएको आफ्नो नाम पनि एक ठाउँमा छुट्याउने र अर्काे ठाउँमा जोड्ने गरेको तथा ‘बद्री विशाल’ छुट्याएको, ‘रमेशकुमार’ जोडेको अनि ‘पदवियोग’ र ‘वर्णविन्यास’ शब्दसमेत छुट्याउने र जोड्ने दुवै गरेको पाइन्छ । नियम बताइएको लेखनमा समेत यस्तो भद्रगोलको स्थिति देखिएकाले यो सबै जानेर नभई अन्य कुनै ढङ्गबाट प्रायोजित रूपमा सञ्चालित भएर गरिएको भन्ने स्पष्टै देखिन्छ ।

    पदयोग र पदवियोगले अर्थबोधमा समस्या पर्दैन, सङ्कथनको तहमा सन्दर्भ प्रभावशाली हुँदा यसको अर्थ खोज्न कुनै समस्या पर्दैन’ भन्ने भनाइ पनि तर्कपूर्ण छैन । सबैतिर पूर्वापर सम्बन्ध र सङ्कथनका आधारमा मात्र अर्थ खोज्ने काम हँुदैन, शब्द–वाक्य हुँदै सङ्कथनमा पुगिने हुँदा सङ्कथनभन्दा तल्ला एकाइ पनि अर्थपूर्ण हुन्छन् भन्ने कुरा बताउनु नपर्ला ।

    यसको तात्पर्य पदवियोग गर्नै हुन्न सबै पदयोग गरेरै लेख्नुपर्छ भन्ने होइन । समयको आवश्यताअनुसार कतिपय नियम संशोधन र परिमार्जन पनि गर्न सकिन्छ तर पदवियोगका नाममा ‘विश्वविद्यालय, न्यायपालिका, कार्यपालिका, नगरपालिका, भाषाविज्ञान’ जस्ता सिङ्गा तत्सम शब्दलाई समेत छुट्याउने कार्य कदापि स्वीकार्य हुन्न । ‘विश्वविद्यालय’ अङ्ग्रेजी ‘युनिभर्सिटी’ को नेपाली रूपान्तरण भएकाले यसलाई छुट्याउनुपर्छ भन्ने कुरा चरम हास्यास्पद छ । यस्तै भए पहिले ‘युनिभर्सिटी’ छुट्याउनुपर्ला नि ।

    नेपाल प्रज्ञा प्रतिष्ठानको २०६७ सालको नेपाली भाषा सङ्गोष्ठीको निर्णयअनुरूप गरिएको भन्ने व्यक्ति ‘हेमाङ्गराज’ र ‘जीवेन्द्रदेव’ ले सोही निर्णयमा उल्लिखित व्यक्तिवाचक नाम प्रचलनअनुसार नै जोडेर लेख्ने भन्ने कुरालाई किन लागू नगरेको त ? त्यही नेपाल प्रज्ञा प्रतिष्ठानमै रहेका दुईजना राजमध्ये ‘दिनेशराज’ जोड्ने अनि ‘हेमाङ्ग राज’ छुट्याउने कुनचाहिँ नियममा पर्छ ?

    भाषाका नियम पनि वस्तुगत र वैज्ञानिक हुनु आवश्यक भएकाले पदयोग र पदवियोगमा अक्षर सङ्ख्या तथा स्वरान्त र व्यञ्जनान्तजस्ता अवैज्ञानिक प्रसङ्ग भित्र्याएर अनि द्वित्वलाई पनि सार्थक र निरर्थक भनी छुट्याएर पृथक् नियम बनाई भाषालाई झन् जटिलतातर्फ धकेल्नु हुन्न ।

    रूढ अर्थ धारण गरिसकेका एकार्थवाची शब्द जतिसुकै लामा भए पनि छुट्याउन मिल्दैन । हिन्दीमा विभक्ति आदि छुट्याइएको पाइए पनि नेपालीमा त्यसो गर्नु हुन्न । हरेक भाषाको आआफ्नै प्रचलन, परम्परा र नियम हुन्छ ।

    नेपालीमा पदयोग र पदवियोगमा केही समस्या छन् । पदयोगका नाममा संस्कृतझैँ लम्बेतान जोड्ने र हिन्दीझैँ विभक्तिसमेत छुट्याउने होइन । शिष्ट परम्परा, प्रचलन, सन्दर्भ, प्रसङ्ग आदिलाई हेरेर यसको व्यवस्थापन गर्न सकिन्छ । यसो गर्दागर्दै पनि अक्षर वा वर्ण गनेर पदयोग वा पदवियोग गर्ने कुराचाहिँ उपयुक्त हुन्न । यस्ता झिनामसिना कुरामा पनि विवाद गरेर भाषाको विकास हुँदैन । परिपत्र वा घोषणापत्र जारी गर्नतिर लागेमा समस्या समाधानको सट्टा झन् बल्झिन्छ ।

    ह्रस्व–दीर्घ
    नेपालीमा ह्रस्वदीर्घका बारेमा त्यति धेरै समस्या नहुँदानहँुदै पनि जबर्जस्ती कतिपय कुरालाई समस्याका रूपमा ल्याइएको देखिन्छ । तीमध्ये कतिपय परिवर्तन गर्नसकिने भए पनि कतिपय परिवर्तन गर्न नसकिने खालका छन् ।

    ‘तीन, बीस, तीस’ जस्ता’ सङ्ख्याबोधक शब्दका सुरुको इकार तथा ‘तेईस, बत्तीस, चालीस’ जस्ता सङ्ख्याबोधक शब्दका बीचको इकार प्राज्ञिक छलफलका आधारमा ह्रस्व लेख्न सकिन्छ तर दीर्घ लेख्दाका हानि पुष्टि गर्नुपर्छ । यिनमा ‘प्रहरीले सात चोर समात्यो र भोलिपल्ट तिनलाई छोडिदियो’ वाक्यमा रहेको ‘तिन’ शब्दले के अर्थ बुझाउँछ भन्नेतर्फ सचेत हुनु आवश्यक छ ।

    यसैगरी अर्थभेदक नहुने शब्द ‘ठीक’, ‘बीच’, ‘रूख’, ‘हरू’ दीर्घ लेख्ने प्रचलन भए पनि प्राज्ञिक छलफलका आधारमा यिनलाई ह्रस्व लेख्न सकिन्छ तर दीर्घ लेख्दाका हानि पुष्टि गर्नुपर्छ ।

    नेपालीमा ह्रस्व–दीर्घका आधारमा कतिपय शब्दमा अर्थ भिन्न रहेको अवस्था पनि देखिन्छ । यस्तो अवस्था उस्तै सुनिने तर अर्थ फरक हुने श्रुतिसमभिन्नार्थक शब्दमा पाइन्छ, जस्तै—

    •  मनोज खालि गाग्रो हेरिरहन्छ । मनोज खाली गाग्रो हेरिरहन्छ ।
    • ती दुवै मनुष्य जाति हुन् । ती दुवै मनुष्य जाती हुन् ।
    • पुरा खाएर जा । त्यो पूरा खाएर जा ।
    • मलाई फुल मन पर्छ । मलाई फूल मन पर्छ ।

    खालि/खाली, चिर/चीर, जाति/जाती, जुन/जून, तिर/तीर, दिन/दीन, पट्टि/पट्टी, पारि/पारी, पालि/पाली, पुरा/पूरा, फुल/फूल, फेरि/फेरी, यति/यती, सीता/सिता, हानि/हानीजस्ता विशिष्ट अर्थ धारण गरिसकेका शब्द अनेकार्थी नभएर श्रुतिसमभिन्नार्थक शब्द भएकाले यिनलाई अपवाद न्यूनीकरण गर्ने वा एकरूपता कायम गर्ने नाममा चलाउन मिल्दैन । कतिपय अपवाद पनि भाषिक विशिष्टता हुने गर्छन् र यस्ता शब्दलाई नेपाली भाषाको विशिष्ट प्रयोग वा विशेषताकै रूपमा लिएर त्यसैअनुरूप प्रयोग गर्नु उपयुक्त हुन्छ ।

    संस्कृतजस्तो कठोर नियम भएको भाषामा पनि अर्थ भिन्न नहुने ‘औषधि/औषधी’ जस्ता कतिपय शब्दमा समेत ह्रस्व–दीर्घको वैकल्पिक प्रयोग पाइन्छ भने नेपालीमा अर्थभेदक हुने शब्दलाई ह्रस्व वा दीर्घ कुनै एक मात्र लेख्न मिल्दैन ।

    नेपाली भाषा पठनपाठन वा कक्षाकोठामा मात्र सीमित नरही राष्ट्रभाषा, साझा भाषा, सम्पर्क भाषा, माध्यम भाषा, सरकारी कामकाजका साथै आम पत्रकारिताको भाषासमेत भएको र यो राष्ट्रको सीमा पार गरेर अन्तर्राष्ट्रियकरण पनि भइसकेकाले यसको व्यापक प्रयोगलाई ध्यानमा राखेर यससम्बन्धी नियम बनाउनुपर्छ । अनावश्यक बखेडा झिकेर नेपाली भाषाप्रति वितृष्णा फैलाउने काम गर्नु हुन्न । नेपाली भाषा उच्चारणका आधारमा अर्थभेदक नहुने भाषा भएकाले उच्चारणकै आधारमा यसका सबै नियम बनाउन सकिन्न, लोकव्यवहार वा प्रयोगलाई पनि हेर्नुपर्छ ।

    भाषा भनेको संस्कृतिको सबैभन्दा महत्त्वपूर्ण र अभिन्न अङ्ग भएकाले भाषामाथिको आक्रमण भनेको सोझै संस्कृतिमाथिको आक्रमण हो । नेपाली भाषा नेपाल राष्ट्रको मात्र नभएर विश्वभर छरिएर रहेका सिङ्गो नेपाली जातिको सांस्कृतिक पहिचान बनिसकेको नेपाली भाषालाई चौतर्फी आक्रमण गरी थिल्थिल्याएर कमजोर तुल्याउने प्रयत्न भइरहेका बेला नेपाली भाषाकै विद्वान् भन्न–भनाउन रुचाउने र नेपाली भाषाकै खेतीबाट गुजारा चलाइरहेकाहरूले समेत नेपाली भाषालाई कमजोर तुल्याउने वृत्तिलाई नै मलजल गर्नु तथा राष्ट्रिय राजनीति अन्योलग्रस्त बन्दै गएको मौका छोपी त्यसैमा भाषालाई समेत मुछेर भाँचकुँच र तोडमोड गर्ने प्रयत्न गर्नु उपयुक्त होइन । व्यक्तिविशेषको स्वार्थपूर्तिका लागि भाषामाथि अनावश्यक चलखेल गरी यसलाई बिगार्ने प्रयत्न गर्नु भनेको आमा बेचेर सानीमा भित्र्याउने कार्य गर्नुजस्तै हो ।

    शिष्ट परम्परालाई पूरै निषेध गरेर कतै कसैबाट आफूलाई भाषाको आधिकारिक ठेकेदार ठानी एकाधिकारवादी र निषेधकारी वृत्तिको अनुसरण गरिएमा त्यसले अशिष्ट परम्परा जन्माउँछ र त्यो सिङ्गो भाषाका लागि प्रत्युत्पादक हुन्छ । परम्परामाथि प्रहार गर्दै जाने हो भने त्यस वृत्तिले निरन्तरता पाउँछ र परम्पराको अस्तित्व सदैव सङ्कटग्रस्त हुन्छ । व्यक्तिगत रूपमा कसैलाई यस्तो ‘लेख्नसकिने’ भन्ने प्रस्ताव राख्नसक्छ तर ‘यस्तै लेख्नुपर्छ’ भनी आदेशात्मक परिपत्र गर्न मिल्दैन ।

    भाषाको आधुनिकीकरण र मानकीकरणका नाममा प्रयोक्तालाई पूरै बेवास्ता गरी जबर्जस्ती रूपमा जे पायो त्यही नियम लादिएमा त्यो निरर्थक हुन्छ र अन्तत: लेखनमा अराजकता आई नेपाली भाषाको अस्तित्व नै सङ्कटमा पर्छ । नेपाली भाषामा यतिखेर यस्तो लक्षण देखापर्न थालिसकेकाले भाषाको माया गर्नेहरूले यसतर्फ सोच्नु जरुरी छ ।

    केही व्यक्तिले पदीय दुरुपयोग गरी भाषाको लेख्यरूपलाई विकृत तुल्याउन गरेका दुष्कार्य र जबर्जस्ती लादिएको नियमलाई आमसञ्चार, पत्रकारिता, स्रष्टाहरू, प्रकाशन संस्था, भाषाका आम प्रयोक्ता कसैले पनि स्वीकार नगरेकाले अब तिनीहरूले सार्वजनिक रूपमा माफी मागेर आफ्ना गल्तीलाई सच्च्याउने, पहिले परिपत्र गर्ने मन्त्रीले नै गल्ती स्वीकार गरिसकेकाले मन्त्रालयको पुरानो परिपत्र अर्काे परिपत्रबाटै बदर गर्ने तथा पछिल्लो नेपाली बृहत् शब्दकोशलाई बजारमा नलगी अगिल्लै रूपमा पुन: छाप्ने काम गरिएमा अहिले नेपाली भाषा बल्झाइएका समस्याको समाधान हुन्छ अन्यथा नेपाली भाषाको अस्तित्व समाप्त हुनसक्ने हुँदा यसको अस्तित्व बचाउनाका लागि जस्तोसुकै कदम चाल्नुपर्ने स्थिति आउन सक्छ ।

    भाषा जननी भएकाले यसमाथि राजनीति नगरौं र यसलाई प्रतिष्ठा सङ्घर्षको विषय नबनाई यसपूर्व जानेर वा नजानेर गरेका गल्तीलाई सच्च्याएर नेपाली भाषाको अस्तित्व जोगाऔँ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, भदौ २५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.