×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

शव चाहन्छ काठमाडौं !

  •  
  • शनिबार, भदौ २५, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    होम कार्की, काठमाडौं

    ‘कतारमा मृत्यु भएको कुनै नेपालीको शव कहिले आउँछ होला ?’ बिहान ४ बजे नै फोन गर्दै एकजनाले सोधे, ‘कतारमा मृत्यु हुने नेपालीको विषयमा अन्तर्राष्ट्रिय चासो छ ।’ भाद्र २५, २०७३- नेपालमा बिहान ९ बज्दा कतारमा ६ बज्छ । फरक त तीन घन्टाको न हो, तर बेलाबेलामा यसले हैरानी भने निकै दिन्छ । कदाचित बेलुकी सुत्ने बेला मोबाइलको ‘स्विच अफ’ गर्न बिर्सिइयो भने बिहान नेपालबाट आएको फोनले निद्रा भगाइदिन्छ । यसरी कैयौं रात त्यत्तिकै अनिदो भइएको छ । बिहानको ६ बजे भनेर हुन्न, त्यति बेला मेरो निद्राचाहिँ मध्यरातकै हुन्छ, अघिल्लो दिनभर रिपोर्टिङमा दौडिँदा भेटिएका पीडितसँगको दौडधुपको थकाइ जो छ ।  वैदेशिक रोजगारीका क्रममा कतार पुगेर पीडित बनेकाहरू ‘समाचारको पात्रभन्दा आफ्नो उद्धार’ चाहन्छन् । आफूले पाइरहेको पीडा, हन्डर र तनाव सकभर परिवारसँग बाँड्न चाहँदैनन् । ‘मैले यहाँ पाएको हन्डर भनौंला । तपाईंले पत्रिकामा छापिदिनु पनि होला । पत्रिका हेरेपछि परिवार आत्तिन्छन्,’ उनीहरू भन्छन्, ‘आफूलाई त कसले सम्झाइदिओस्जस्तो भएका बेला उताबाट परिवारले फोन गर्दै रुन थाल्छन् । अर्को तनाव लिन चाहन्नँ ।’ उनीहरूको आग्रह हुन्छ, ‘म काम गर्न चाहन्नँ । कसरी हुन्छ, कसलाई भनेर हुन्छ ? नेपाल पठाइदिन पहल गरिदिनुस् ।’   पीडितहरू यति धेरै आशा गरेर सम्पर्कमा आउँछन् कि त्यो पूरा गर्न सानोतिनो मिहिनेत र ‘लबिइङ’ले पुग्दैन । स्वदेश फिर्न उनीहरूले गरेका कैयौं असफल प्रयास, कम्पनीका व्यवस्थापनले उनीहरूमाथि गरेको ज्यादती देख्दा आफ्नै मन अमिलो हुन्छ । क्याम्पबाट कम्पनीले निकालिदिए फोन गर्दै हामीलाई बस्ने व्यवस्था मिलाइदिन अनुरोध गर्छन् । क्याम्पमा बिजुलीबत्ती, पानी काटिदिए जोड्नका लागि अनुनय गर्छन् । उनीहरूको चाहना हुन्छ, ‘सीधै कम्पनी मालिकलाई भनिदिनुपर्‍यो । प्रहरी लिएर क्याम्प आइदिनुपर्‍यो ।’ जुन सम्भव हुने विषय होइन । तैपनि दूतावासको ध्यानाकर्षण गराउँछौं । र, दूतावासले आवश्यक परे कूटनीतिक कर्मचारी र जनसम्पर्क अधिकृत (पीआरओ) खटाइदिन्छ । यसले धेरथोर उनीहरूको पीडामा मलम लगाउन पुग्छ ।  अझ कहिलेकाहीं खाद्यान्न नै जोहो पनि गरेर पुग्नुपर्छ । क्याम्पमा खान नपाएर छट्पटिरहेका कामदारको रिपोर्टिङ गर्न पुग्दा सूचना मात्रै लिएर फर्किने अवस्था हुन्न । उनीहरू खाद्यान्नको जोहो गरिदिओस् भनेरै सम्पर्कमा आएका हुन्छन्् । त्यतिखेर ‘तपार्इंहरूले खान खाना नपाएको कति दिन भयो’ भनी सोधेर फुत्त हिँड्ने अवस्था हुन्न । यस्ता पात्रहरू हरेक गल्लीगल्लीमा भेटिएका हुन्छन् । सुत्न बेला तिनै पात्र आँखाअगाडि आएर फनफनी घुमिरहन्छन् । बल्लबल्ल निदाउन पुगेको बेला मोबाइलको घन्टी बज्यो भने फेरि निदाइहाल्न कठिन हुन्छ ।   कसैको मृत्यु भएको खबर पाएपछि समाचार लेखूँ कि नलेखूँ भनेर सोच्नुपर्छ । ठूलाठूला घटनाबाहेक मैले कामदारको मृत्युसम्बन्धी समाचार लेखिनँ पनि । उसै त नेपालमा ‘विदेशमा मर्नै जाने हो’ भन्ने किसिमको छाप परेको/पारिएको छ । वैदेशिक रोजगारसम्बन्धी विषय प्रवेश गर्नासाथ थेगै जसरी बोलिन्छ, ‘हरेक दिन एयरपोर्टमा तीनवटा शव आउँछन् ।’ नेता, कर्मचारीदेखि अधिकारवादीसम्मले मृत्युदरलाई निकै प्राथमिकता दिइरहेका छन् । संसद्देखि आमसभासम्म, कार्यशालादेखि गोष्ठीसम्म– बिकाउ विषय बनेको छ यो ।  यस विषयलाई बढी उचाल्दा पीर पर्ने तिनै नेपालीलाई हो जो विदेशबाट पैसा पठाएर आफ्नो र देश दुवै चलाइरहेका छन् । उनीहरू भन्छन्, ‘मरेको मात्रै समाचार आइरहन्छ । कहिलेकाहीं त निद्रै लाग्दैन । अरूजस्तै आफू पनि फ्याटै हुने पो हो कि !’    काठमाडौंबाट दुईथरी फोन/इमेल प्राप्त नभएको कुनै बिहान हुँदैन । मेरा हरेक दिनहरू मृत्युसम्बन्धी सूचना लिने–दिनेबाट सुरु हुन्छ । त्यसरी सूचना लिनेमा माननीय, सरकारी कर्मचारी, मानवअधिकारवादीदेखि पीडित परिवारसम्म हुन्छन् । पीडित परिवारको आग्रह हुन्छ, ‘काम गर्ने क्रममा मृत्यु भयो भनेर फोन आयो । सक्नुहुन्छ भने तपाईं कम्पनीको अफिसमा गएर वास्तविकता बुझिदिनुस् न ।’ उनीहरूले पाएको धेरै सूचना वास्तविक हुँदैनन् । मान्छेको मृत्यु भएको त हुन्छ, तर प्रकृति फरक हुन्छ । कतिले कम्पनीले मारेको ठान्छन्, कतिले उपचार नगरिदिंदा आफ्नो मान्छेको ज्यान गुमाएको विश्वास गर्छन् । अझ कतिले मृतकको अंग नै निकालिदिएको खबर पाएको भन्दै अस्पताल पुगेर शव हेरिदिन भन्छन् ।  धेरै पीडित परिवारलाई लाग्छ, ‘विदेशको ठाउँ । के हुन्छ ? थाहा हुन्न । कम्पनीले छलकपट गरी जथाभावी कागजात बनाइदिने पो हुन् कि ? मृत्यु भएपछि राम्रोसँग छानबिन कसले गरिदिन्छ र ?’ तर, कम्पनीले चाहेअनुसार त्यस्तो छलकपट गर्न मुस्किल छ । हरेक देशका आआफ्नै कानुन हुन्छ । त्यसको परिधिभित्र रहेरै तिनले काम गरिरहेका हुन्छन् । एउटा प्रणाली बनेको हुन्छ । त्यहीअन्तर्गत कम्पनी, प्रहरी, अस्पतालदेखि दूतावाससम्मले काम गरिरहेका हुन्छन् ।   पीडित परिवारले ‘शव छिट्टै पठाइदिओस्’ भनेर चाहना राख्नु स्वाभाविक हो । सकभर कम्पनी पनि छिट्टै शव पठाएर आफ्नो भार कम गराउन खोज्छ । बरु दूतावासले हतारमा फाइल सदर गरिदिंदैन । मृतकका परिवार क्षतिपूर्तिबाट वञ्चित हुनु नपरोस् भनेर उसले फाइल रोकिदिन्छ । शव पठाउनअघि आवश्यक कागजात खोज्ने कारण कारण हो । यही कुरालाई धेरैले दूतावासले शव पठाउन नै ढिलो गरिदियो भनेर बुझ्छन् । यो विषय बुझाउन अलि कठिन छ ।   विदेशको ठाउँमा नेपाली कामदारलाई सकेको सघाउन पाउँदा मलाई कुनै झिँजो लाग्दैन, उल्टो आनन्द मिल्छ । हैरानी त उही माथि भनिएझैं काठमाडौंले बजाउने अनावश्यक ‘अलार्म’ ले हो ।  एकथरी फोन र इमेल यस्ता हुन्छन्, जो सधैं शव खोजिरहन्छन् । उनीहरू आफ्नो रुचि जेमा छ त्यसैअनुसारका शव चाहन्छन् । महिला अधिकारको क्षेत्रमा कार्यरतहरू महिलाकै शव खोज्छन् । त्यसमा पनि घरेलु कामदारको शव । लेबनान, ओमन र कुबेतमा कार्यरत घरेलु कामदारले बढी आत्महत्या गर्ने गरेका छन् । ‘घर मालिकको दुव्र्यवहार सहन नसकेर आत्महत्या गरेकी महिलाको शव चाहिएको थियो,’ एक संस्थाले इमेल पठायो, ‘सबै आत्महत्या भने पनि कतिपय मालिकको कुटाइले मर्ने गरेको सूचना हामीलाई आउँछ । त्यस्ता शवलाई नेपालमा पुन: पोस्टमार्टम गर्नुपर्छ भनेर हामीले आवाज उठाइरहेका छौं । त्यस्तो घटनालाई केस बनाएर गहिरो रूपमा बुझ्न चाहन्छौं । तपाईंले त्यो शव आउने समय बताइदिनुपर्‍यो ।’ अर्कोथरी विदेशी संस्थाहरूका लागि काम गर्नेहरू छन् । उनीहरू देशै तोकेर शव विवरण माग्छन् । उल्लेखनीय के भने उनीहरूका लागि साउदी, युएई र कुबेत, ओमन, बहराइन, इराकमा मृत्यु भएका नेपालीको शव प्राथमिकतामै पर्दैन । कतारमै मृत्यु भएका शव चाहिन्छ उनीहरूलाई । ‘कतारमा मृत्यु भएको कुनै नेपालीको शव कहिले आउँछ होला ?’ बिहान ४ बजे नै फोन गर्दै एकजनाले सोधे, ‘कतारमा मृत्यु हुने नेपालीको विषयमा अन्तर्राष्ट्रिय चासो छ ।’  ‘यति बिहानै फोन गरेर शवको सोधखोज गर्न तपाईंलाई अप्ठ्यारो लाग्दैन ?’ म रिसाइदिए पनि ।  ‘त्यहाँ कति बज्यो र ?’  ‘बिहानको चार बज्दै छ ।’  ‘थाहा नै भएन,’ उसले माफी माग्दै भन्यो, ‘हामी कतारमा मर्ने नेपालीको विषयमा एउटा प्रोजेक्टमा काम गर्दै छौं । तपाईंको सहयोगको अपेक्षा राखेको छु ।’ मैले जवाफ दिएँ, ‘वैदेशिक रोजगार प्रबद्र्धन बोर्डमा पीडित परिवारले शव झिकाइदिन आवेदन दिन आउँछन् । त्यहीं गएर पीडितलाई भेट्नुुस् । उनीहरूलाई थाहा हुन्छ ।’ काठमाडौंमा शव पुगेपछि त्यसकै पछिपछि लाग्दै कति पीडितको घरसम्म पुग्दा रहेछन् । त्यही भएर उनीहरू मसँग विमानस्थलमा शव आइपुग्ने यकिन समय मागिरहेका हुन्छन् ।  कति त शव खोज्दै कतारसम्मै आइपुग्छन् । ‘कतारमा मृत्यु भएका नेपाली कुन अस्पतालमा राखेको छ ?’ दोहामा एकजना विदेशीसहितको टोली आइपुग्यो । उनीहरू कतारबाटै शवसँगै नेपाल जाने तयारीमा आइपुगेका थिए । ‘हमाद अस्पतालमा राखिएको हुन्छ । त्यहाँ आफन्त र दूतावासलाई मात्रै पहँुच हुन्छ । भिडियोग्राफी त झन् गर्नै मुस्किल पर्छ । अनुमतिबिना जाँदा त समातिएला नि,’ मैले  सजग गराएँ ।  ‘कुन प्लेनमा कति बजे जान्छ ?’ ‘कतारमा मर्नेको शव खासगरी कतार एयरवेजमै जाने गर्छ । कतारबाट दैनिक ३ वटा उडान छ । अब कुन शव कुन समयमा जान्छ भन्ने पत्ता लगाउन कम्पनीलाई मात्रै थाहा हुन्छ,’ मैले जवाफ दिएँ, ‘कम्पनी पत्ता लगाएर सोध्नुहोला ।’  उनीहरूबाट म जसोतसो उम्किएँ तर लामो समयसम्म ‘फलो’ गर्न छोडेनन् । निर्माण क्षेत्रमा काम गर्ने बेला मृत्यु भएका कामदार खोजिरहेका थिए उनीहरू । ‘सुतेको सुत्यै’ भएर मरेका वा सडक दुर्घटनामा परेर ज्यान गुमाएका नेपाली उनीहरूको प्राथमिकतामा थिएनन् । यसरी कतारमै त्यसमा पनि काम गर्दागर्दै मृत्यु भएकाको शव मात्रै किन खोजिन्छ ? कारण प्रस्ट छ— कतारमा कामदारहरूलाई सुरक्षित मापदण्डअन्तर्गत काम गराइन्न भन्ने प्रमाणित गर्ने ध्येय हुन्छ उनीहरूको ।  पछिल्लो समय सन् २०१४ अक्टोबर देखि २०१५ जुलाईसम्म त यतिसम्म हैरानी पाइयो कि, नयाँ नम्बरबाट आएका जुनसुकै फोनमा शवकै लागि सोधिएको हुन्थ्यो । ‘मान्छेहरू शवका लागि किन यति धेरै फोन गरिराख्छन् ?’ एक दिउँसो नेपाली चिकित्सक नरेन्द्र शाक्यले मलाई प्रश्न र  अनुरोध एकसाथ गरे, ‘नेपालमा सही सूचना गइरहेको छैन कि ? तपाईंले विदेशमा मान्छे के कति मर्छन् भन्नेबारे अध्ययन गरी सूचना दिनुपर्‍यो ।’ डाक्टर शाक्यले भनेअनुसार मैले कतारमा मृत्यु भएका नेपालीको चार वर्षको रेकर्ड (२०११ देखि २०१४ सम्म) संकलन गरें । यस अवधिमा ७ सय ५ जना नेपाली कामदारको ज्यान गएको थियो । तथ्यांक विश्लेषण गर्न कतार विश्वविद्यालयका एक विदेशी प्रोफेसरले सहयोग गरे । सबैभन्दा बढी अर्थात् ४९. १ प्रतिशतको ‘सडेन कार्डियक एरेस्ट’ भएर ज्यान गएको थियो । जसलाई चलनचल्तीका भाषामा ‘सुतेको सुत्यै’ भन्ने गरिन्छ । चिकित्सकहरूका अनुसार पहिलेदेखिकै रोगी, प्रेसर, मुटुको बिमार भएकाहरू यसको सिकार हुने गरेका छन् । दोस्रोमा सडक दुर्घटनामा परी १६.९ प्रतिशत, त्यसपछि मानसिक तनाव भएर आत्महत्या गर्ने ८.५ कार्यस्थलमा खसेर ६.५, प्राकृतिक कारण ३.८, विद्युतीय झड्काबाट २.४, डुबेर १.५ प्रतिशत र बाँकी श्वासप्रश्वास, विस्फोट, निमोनिया, हत्या र मादकपदार्थ सेवनबाट मृत्यु भएको देखिएको छ । गर्मी महिनामा मृत्यु हुने दर बढी छ । गर्मी हुने अप्रिलदेखि सप्टेम्बर (५ महिना) मा ५७.५ प्रतिशत, जनवारीदेखि मार्च (३ महिना) मा २२.८ प्रतिशत र अक्टोबरदेखि डिसेम्बर (३ महिना) मा १९.७ प्रतिशत नेपालीको मृत्यु भएको देखियो ।   अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघले २०१३ को जुलाई (३२ नेपालीको ज्यान गएको महिना) को तथ्यांकलाई आधार मानेर एउटा सनसनीपूर्ण विज्ञप्ति निकाल्यो, ‘कतारमा विश्वकप खेल्नुअघि ४ हजार कामदारको ज्यान जानेछ ।’ त्यसपछि अन्तर्राष्ट्रिय स्तरमा कतार कामदार मर्ने देशको रूपमा कतार दर्ज भयो । विश्वकप प्रोजेक्ट सुरु नै भएको छैन, काठमाडौंबाट सोधिन्थ्यो, ‘रंगशालामा मर्ने नेपाली कतिजना पुगे ।’ ‘कतारमा रंगशाला प्रोजेक्टकै लागि भनेर नेपाली आएकै छैन त मर्नेको सूचना मैले कसरी दिनु’ भन्दै फोन राखिदिन्थें । काठमाडौंका केही सञ्चार माध्यममा पनि रंगशालामा यति नेपालीको मृत्यु  भन्ने समाचारहरू आउन थाले । यसको पुष्टि कतै गर्नु परेन !  केही महिनाअगाडि मात्रै रंगशालासम्बन्धी दुइटा प्रोजेक्टलाई अवार्ड गरिएको थियो । यसमा कामदार झिकाई सकिएकै थिएन । फेरि पहिलेकै झैं शव खोज्नेहरू बढेर गए । दिनमै ७/८ वटासम्म इमेल आए । ‘विश्वकपको रंगशाला बनाउने क्रममा मृत्यु भएका नेपालीको विषयमा काम गरिरहेका छौं । त्यहाँ मृत्यु भएका कामदारको विवरण र नेपालमा परिवारको सम्पर्क दिन सक्नुहुन्छ ?’ उनीहरूको जिज्ञासा हुन्थ्यो, ‘शव आउने फ्लाइट डिटेल पनि पठाइदिनुस् न ।’  रंगशालामा काम गर्दागर्दै अहिलेसम्म एकजना नेपालीको पनि ज्यान गएको छैन भनेर सूचना दिन्थें । ‘आधिकारिक रूपमा एकजना भारतीय कामदारको ज्यान गएको छ, त्यो हृदयाघातबाट भएको उल्लेख छ,’ सम्पर्कमा आउनेलाई म यही सूचना दिन्थें । कतिले विश्वास गर्दै भन्थे, ‘त्यस्तो जानकारी आएमा भन्नुस् है ।’ कतिले विश्वास नै गर्दैनथे, चिनजानका अरू साथीभाइका नाम लिंदै सहयोग गर्न अनुरोध गर्थे । यस्तालाई सम्झाउनै गार्‍हो !  यसरी बिहानै शव, दिउँसो शव, बेलुकै शव खोज्दै फोन आइराख्दा मलाई घरी घरी लागिरहन्छ, ‘काठमाडौं किन शव मात्रै चाहिरहेको छ ?’
    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, भदौ २५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.