घटनाको २२ महिनापछि फैसला, फैसलामा ढिलाइ भएको पीडित परिवारको गुनासो
भाद्र २२, २०७३- चाउचाउ किन्न भाइसँगै घर नजिकको पसलमा निस्केकी बालिकालाई ललाइफकाई बलात्कारपछि हत्या गरेको अभियोगमा जिल्ला अदालतले एक अभियुक्तलाई ३५ वर्ष कैद सजायको फैसला गरेको छ।
कलैया ८ की ८ वर्षीया कञ्चन ठाकुरलाई बलात्कार गरी हत्या गरेको अभियोगमा पिप्राविर्ता ३ घर भई कलैया ८ बस्दै आएका ३० वर्षीय गुल्लु भनिने अरबिन्दलाल दासलाई ३५ वर्ष कैद सजाय भएको हो। कसुरदार ठहर गर्दै मुलुकी ऐन १३ (३) बमोजिम उक्त कसुरमा सजायसँगै पीडित परिवारलाई १ लाख क्षतिपूर्ति भराउने आदेशसमेत भएको छ।
न्यायाधीश सूर्यबहादुर थापाको इजलासले घटनाको २२ महिनापछि आइतबार फैसला गरेको हो। बलात्कार अभियोगमा १५ वर्ष र कर्तव्य गरी नियतवश हत्या गरेको अभियोगमा २० वर्ष (जन्मकैद) गरी ३५ वर्षको सजाय तोकिएको छ। दुवै कसुरको यो सजाय अधिकतम हो। यसबाहेक अदालतले कलैया ८ का ३९ वर्षीय मदनकुमार मिश्रलाई ज्यानसम्बन्धी महल १७ (३) बमोजिम दुई वर्ष र सोही ठाउँका १६ वर्षीय पवनकुमार मिश्रलाई ६ महिना कैदको फैसला गरेको छ। उनीहरू दुवै घटनामा जोडिएका थिए। फैसलासँगै पवन छुटेका छन्। उनी बाल सुधार केन्द्रमा नभई वीरगन्ज कारागारमा २० महिनादेखि थुनामा थिए। मुद्दा फैसला हुन ढिलाइ भएकाले फैसलाअनुसार उनी १४ महिना बढी थुनामा बसेका हुन्।
अरबिन्द निर्वाचन कार्यालयका पूर्वकर्मचारी हुन्। पवन विद्यार्थी र मदनले यसअघि पनि विभिन्न अपराधमा जेल सजाय पाएका थिए। दुवै मिश्र काका भतिजा हुन्। अभियुक्तका परिवारले प्रहरीले डरत्रास देखाएर स्वीकार गर्न लगाई मुद्दा तयार गरेको आरोप लगाए। मुख्य अभियुक्त अरबिन्द नै भएकाले उनलाई ३५ वर्ष, मदनले सूचना लुकाएर घटना ढाकछोप गरेकाले दुई वर्ष र पवनको हकमा मिसिलमा नाबालक प्रमाण रहेकाले उनलाई ६ महिना कैद सजाय भएको अदालतका श्रेस्तेदार मोहन सुवेदी बताए।
‘सबै अभियुक्तको कसुर फरकफरक भएकाले सोहीअनुसार सजाय भएको छ,’ उनले भने, ‘अभियुक्तले अदालतमा कसुर स्वीकार नगरे पनि सजाय हुने आधार प्रमाण छ।’ अभियुक्तहरूले प्रहरीमा साविती र अदालतमा इन्कारी बयान गरेका थिए। जिल्ला न्यायाधिवक्ता खडानन्द गौतमले पवनको सजाय आफ्नो माग दाबीअनुसार नभएको बताए। अदालतको फैसला अध्ययन गरेपछि पुनरावेदन गर्ने/नगर्नेबारे सोंच्न सकिने उनको भनाइ छ।
०७१ कार्तिक २२ गतेको बेलुका बालिका ठाकुरलाई फकाएर कलैया अस्पतालको औषधि गोदाम घर पछाडिपट्टि फोहोर फाल्ने झाडीसँगैको गल्लीमा लगेर बलात्कार गरी हत्या गरेको अभियोग लगाउँदै जिल्ला सरकारी वकिल कार्यालयले दाससहित तीन जनामाथि अदालतमा मुद्दा दायर गरेको थियो। बालिकाको शव सोही राति निर्वस्त्र फेला परेको थियो। काठमाडौंबाट आएको प्रहरीको केन्द्रीय अनुसन्धान टोली (सीआईबी) ले घटनाको अनुसन्धान गरेको थियो। सबै अभियुक्तको पोली ग्राफ उपकरणबाट अनुसन्धान भएको थियो।
फैसलामा ढिलाइ
मुद्दा फैसला हुन झन्डै दुई वर्ष लागेको छ। विपक्षीले पुर्पक्ष आदेशको विरुद्धमा पुनरावेदन गरेको र पछि पुनरावेदनले समेत जिल्ला अदालतकै आदेश सदर गरेपछि पीडक पक्षका कानुन व्यवसायीले पटकपटक महलत लिएपछि मुद्दा लम्बिएर समय लागेको न्यायाधिवक्ता गौतमले बताए।
कम्तीमा १२ पटक महलत लिएपछि मुद्दा फैसलामा ढिलाइ भएकाले आफूलाई दुई वर्षसम्म न्याय पाउने/नपाउने चिन्ताले सताएको बालिकाका बुवा लालबाबु ठाकुरले गुनासो गरे। ‘एक जना (अरबिन्द) को हकमा फैसला ठीक भए पनि दुई जनाको हकमा भएको फैसलाले चित्त बुझेको छैन,’ उनले भने, ‘पवन र मदनलाई कसुरअनुसारको सजाय नभएकाले उनीहरूको हकमा पुनरावेदन हुनुपर्छ। सजाय कम गराउन चलखेल भएको छ।’
ekantipur



