अवधेशकुमार झा,
राजविराज भाद्र २२, २०७३- ७ जनाको हत्यामा संलग्न भारतीय सिरियल किलर मुस्तकिम भनिने मो. रइस मियाँले वंशजका आधारमा नेपाली नागरिकता लिएको खुलेको छ। सप्तरीबाट २ र सिरहाबाट एउटा राहदानीसमेत लिएको पाइएको हो। सप्तरीमा ३ घटनामा ४ जना र सुनसरीमा ३ जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले वैदेशिक रोजगारीमा गइरहेका बेला रइसलाई गत आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। विहारको मधुवनी जिल्ला, लौकहा बगमरिया घर भएका उनले सप्तरीको सारश्वर ७ बाट वंशजको आधारमा नागरिकता लिएको बोदेबरसाइनस्थित इलाका प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ। उनले २०६३ चैत १० गते गाउँमा टोली गएका बेला नागरिकता लिएका थिए। नागरिकतामा बुबाको नाम मुराई मियाँ कुजरा उल्लेख छ। उनको नागरिकता नम्बर ०६३१०६–४९० रहेको एसपी भीमप्रसाद ढकालले जनाए। इलाका प्रशासनको तथ्यांकअनुसार नागरिकता लिँदा रइसको जन्ममिति ०४२ असोज २४ गते उल्लेख छ। ‘रइसको नागरिकतामा उल्लेख भएको बुबाको नाम उनको ससुराको हुन सक्ने सूचनापछि अनुसन्धान त्यता पनि केन्द्रित गरेका छौं,’ ढकालले भने, ‘केही दिनभित्र सबै कुरा बाहिर आउँछ।’ ०६९ देखि ०७० को अवधिमा ७ वटा हत्याका घटनामा प्रत्यक्ष संलग्नता रहेको आरोप लागेका रइसले ०६५ वैशाख ४ गते हस्तलिखित, ०७० फागुन ११ गते मेसिन रिडेबल राहदानी लिएको प्रशासनको तथ्यांकमा भेटिएको कर्मचारी अजय यादवले जनाए। रइससित फेला परेको ०७६५६६४३ नम्बरको पासपोर्टमा ठेगाना सिरहा लेखिएको पाइएको अनुसन्धानमा संलग्न डीएसपी दानबहादुर कार्कीले बताए। पक्राउ परेको राहदानी २१ जुलाई ०१४ मा जारी भएको देखिन्छ। रइसले गरेका कर्तव्य ज्यानका घटना, बनाएको फर्जी नागरिकता र त्यसका आधारमा बनाएका राहदानीसमेत सबैको छानबिन सुरु गरेको प्रहरीले जनाएको छ। रइस थप एक दम्पतीको हत्यामा समेत संलग्न रहेका प्रमाण फेला परेपछि उक्त हत्याकाण्डको अनुसन्धानसमेत सुरु गरिएको प्रहरीले जनाएको छ। ‘तीन वर्षअघि सप्तरीमा भएको एक दम्पतीको हत्यामा पनि रइसको संलग्नताबारे केही प्रमाण फेला परेको छ, अनुसन्धानमै छांै,’ एसपी ढकालले भने, ‘पुष्टि भइसकेपछि सार्वजनिक गरिनेछ।’
ekantipur




















