भाद्र १२, २०७३- रोल्पा, जितबाङ गाउँबाट भारतको हिमान्चल राज्यमा सडक निर्माणको काम गर्न गएका एकै परिवारका ६ सदस्यको हिमपहिरोका कारण मृत्यु भएको छ ।
हिमान्चलको राजधानी सिमलाबाट १२ घण्टाको सवारी दुरीमा रहेको रामपुर गाउँमा बसेर सडक निर्माणको ज्यालादारी काम गरिरहेका ४५ बर्षीय लक्षीरामसहित उनकी श्रीमती देवकुमारी र नाबालाक ३ छोराछोरीको घटनास्थलमैं निधन भएको छ । मनालीस्थित मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष शाइला लामाका अनुसार, मृत्यु हुनेमा ११ बर्षीय परशु, ७ बर्षिया सुनिता, ६ बर्षीय सुरज र ४ बर्षीय कर्णबहादुर छन् ।
‘गत शुक्रबार रातीको यो घटनाका बारेमा हामीले पनि ढिलो गरी जानकारी पाएका छौं, मृतक नेपालीको पहिचान खुलाउने र राहत–क्षतिपूर्तीको प्रबन्ध गराउनेतर्फ लागेका छौं,’लामाङले भने । मृतकको थर मगर हुन सक्ने भएपनि पहिचान पत्र फेला नपरी जिल्लामा खबर गर्न नसकिएको उनले बताए ।
मनालीस्थित नेपाली समाजका प्रतिनिधि पेशल बुढाथोकीका अनुसार हिमान्चलको सुदुर भेगमा पर्ने रामपुरमा स्याउ टिप्ने तथा सडक निर्माणमा काम गर्ने दर्तावाल नेपालीको संख्या १५ सयभन्दा बढी छ ।
ekantipur



