श्रावण ३१, २०७३- सबै भूकम्प पिडितलाई घर पुनर्निर्माणका लागि पहिलो किस्ता रकम उपलब्ध गराउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एक महिने विशेष अभियान घोषणा गरेको छ ।
सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गरि प्राधिकरणले विशेष अभियानको घोषणा गरेको हो । ‘सरकारले डेढ महिनामा भूकम्प प्रभावित जिल्लाका जनतालाई अनुदान रकम उपलब्ध गराउने घोषणा गरिसकेको छ । सरकारको घोषणा र प्राधिकरणको कार्ययोजनालाई पूरा गर्न हामीले आजदेखि एक महिनासम्म विशेष अभियान सुरु गरेका छौं,’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलले पत्रकार सम्मेलनमा भने, ‘यस अभियान अन्तर्गत मूख्यत: सम्झौता सम्पन्न भएका घरधनीका लागि अनुदानको पहिलो किस्ता रकम बैंक खातामा पुर्याउने, अनुदान सम्झौताको काम सम्पन्न गर्ने र अहिलेसम्म दर्ता भएका गुनासोको सुनवाई गरिने पनि जानकारी गराउन चाहन्छु ।’
सार्वजनिक बिदामा पनि काम
अभियानका क्रममा प्राधिकरणका कर्मचारीले साँझ, बिहान र सार्वजनिक बिदाका दिनमा पनि काम गर्ने उनले बताए । ‘प्राधिकरणको उपक्षेत्रीय कार्यालयहरुमा रहेका जनशक्ति परिचालन गर्नुका साथै सो अवधिभर जिल्लामै बसेर काम गर्ने गरी ११ वटै जिल्लामा केन्द्रीय कार्यालयबाटसमेत आवश्यकता अनुसार थप जनशक्ति खटाइनेछ,’ उनले भने, ‘अनुगमन गर्नका लागि कार्यकारी समितिका सदस्यहरु, तथा सम्बन्धित उपक्षेत्रीय कार्यालयका प्रमुख एवं अन्य कार्मचारीहरु सहितका घुम्ति टोली बनाएर जिल्ला जिल्लामा पठाइनेछ ।’
कामको समन्वय, सहजीकरण र अनुगमन गर्नका लागि प्रमुख कार्यकारी अधिकृतकै नेतृत्वमा सरोकारवाला मन्त्रालयका सचिव र केन्दीय आयोजना कार्यान्वयन इकाईको प्रमुखहरु सहितको केन्द्रीय अनुगमन समिति बनेको घोषणा समेत गरेको छ । ‘यो बिशेष अभियानमा प्रक्रिया पुरा गरेर आउने लाभग्राहीहरुसंग सम्झौता हुने छ । सम्झौता भइसकेका लाभग्राहीको खातामा रकम पुर्याउने काम हुन्छ,’ उनले भने, ‘हामी सबैको ध्यान लाभग्राहिसंग कसरी पहिलो किस्ताको रकम पुर्याउने भन्नेमा जाने छ । सरकार र प्राधिकरण सयुक्त रुपमा अघि बढेका छौं ।’
मेरो पदावधी कानुन अनुसार : ज्ञवाली
नयाँ सरकार गठन भएसँगै सीईओलाई हटाउने वा हट्ने चर्चाबारे सञ्चारकर्मीले गरेको जिज्ञासामा ज्ञवालीले कानुन अनुसार हुने बताए ।
‘यस विषयमा थप केहि भनिराख्नु पर्ने छैन । कानुनमै त्यसको प्रस्ट रुपमा लेखिएको छ,’ उनले भने, ‘मेरो पद कानुन अनुसार नै हुने छ ।’ उनलाई केपी ओली नेतृत्वको सरकारले सीईओमा नियुक्त गरेको थियो । प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आएलगत्तै उनलाई हटाउने चर्चा चलेपनि सरकारले यसबारे कुनै प्रक्रिया अघि बढाइसकेको छैन । उक्त सन्दर्भमा ज्ञावलीले कानुन अनुसार हुने बताएका हुन् ।
डेढ लाख बारे अन्यौलमै
बिशेष अभियानका क्रममा पहिलो किस्ता रकम वितरणमा तीव्रता दिने बताएपछि एकमुष्ट डेढ लाख रुपैयाँ दिने विषय भने अन्यौलमै देखिन्छ ।
ओली नेतृत्वको सरकारको पालामा तत्कालिन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र सरकारबीच भूकम्प पिडितलाई पहिलो किस्तामै डेढ लाख रुपैयाँ दिने समझदारी भएको थियो । उक्त समझदारी अनुसार अनुदान वितरण कार्यविधि परिवर्तन भइनसकेकाले डेढ लाख रुपैयाँ वितरण अन्यौलमा देखिएको हो ।
‘हामीसँग अहिले निश्चित कार्यविधि छ । कार्यविधिले ५० हजार रुपैयाँ दिनु भनेको छ । अर्को निर्णय आइसकेको छैन,’ ज्ञवालीले भने । सरकार र दलहरुबीचको समझदारी अनुसार दातृ निकायहरुसँग छलफल पछि मात्रै डेढ लाख रुपैयाँ वितरण गर्ने उल्लेख रहेको उनले बताए । यो विषयमा अर्थ मन्त्रालयले सहजिकरण गर्नुपर्ने हो ।
‘हामीले पाएको जानकारी अनुसार अर्थ मन्त्रालयले दातृ निकायसंग छलफल गरिरहेको भन्ने छ,’ उनले भने, ‘समझदारी भइसकेको कुरा जानकारीमा आएको छैन ।’
अभियान ११ जिल्लामा केन्द्रित
विशेष अभियान ११ जिल्लामा केन्द्रित गर्ने घोषणा सीईओ ज्ञावलीले गरे । ‘हामी ११ जिल्लामा बढी केन्द्रित हुने छौ । सम्झौता नभएकोसंग सम्झौता गर्छौ । भइसकेको संग रकम पुर्याउने काम गर्छौ,’ उनले भने, ‘तर, यसको अर्थ उपत्यका र अन्य जिल्लामा काम नै नगर्ने भन्ने हैन । उपत्यका र भूकम्पबाट आंशिक प्रभावित १७ जिल्लामा पनि काम गर्छौ ।’
हाल उपत्यकामा भूकम्प पछिको विस्तृत सर्वेक्षणको काम भइरहेको छ । एक तिहाई भन्दा बढी सर्वेक्षण सकिसकेको ज्ञवालीले बताए । ‘भादौ १५ सम्ममा सर्वेक्षणको काम सकिसक्ने छौ । भदौमै सम्झौताको काम अघि बढाउने तयारी हो,’ उनले भने, ‘सम्पदाहरुको काम पनि अघि बढ्छ । शिक्षा, स्वास्थ्यसँग सम्बन्धीत सबै काम केन्द्रित गर्ने छौ । तर ११ जिल्लाका पीडितहरुको हातमा रकम पुर्याउने काममा हामी बढी केन्द्रित हुने छौं ।’
करिब ५० हजार परिवारको खातामा ५० हजार
प्राधिकरणका अनुसार अहिलेसम्म करिब ५० हजार परिवारको खातामा भूकप पीडितलाई अनुदात वितरण भइसकेको जनाएको छ ।
पत्रकार सम्मेलनमा जनाए अनुसार आज (२०७३ साल साउन ३१ गते) मध्यान्ह १२ बजेसम्म ३ लाख ३९ हजार ४ सय ६२ घरधनीसँग अनुदान सम्झौता भइसकेको छ । ‘४९ हजार ७ सय ४९ घरधनीको बैंक खातामा पहिलो किस्ताको रकम पुगिसकेको छ,’ पत्रकार सम्मेलनमा सीईओ ज्ञवालीले भने, ‘नयाँ आर्थिक वर्ष सुरु भएपछि साउन २८ गतेदेखि अनुदान सहयोग रकमको निकासा सुरु भएको हो ।’
ekantipur



