श्रावण ३०, २०७३- अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीको सम्पति विवरण माग्न अख्तियारको कार्यालय पुगेका आठ जनालाई आइतबार प्रहरीले पक्राउपछि छाडेको छ ।
दुई साता अघि डा. गोविन्द केसी सोलिडारिटी एलाइन्सकोतर्फबाट कार्कीको सम्पति विवरण माग गर्दै अख्तियारका सूचना अधिकृतलाई निवेदन दिएका थिए । त्यसको दुई साता पछि आइतवार सूचना माग्न उनीहरु त्यहाँ पुगेका हुन् ।
भित्र चार जना पसेर सूचना अधिकारीसंग कार्कीको सम्पति विवरण सम्बन्धमा दिएको निवेदनमा कारवाही भए नभएको सोधपुछ गर्दा सम्पति विवरण दिन नमिल्ने भनेपछि फर्केर बाहिर आउँदै गर्दा गेटबाट अन्य पाँच जनासहित पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा शशीविक्रम कार्की, भुपदेव शाह, विजय शिवाकोटी, केदार शिवाकोटी, टिना शिवाकोटी, सारा प्याकुरेल, रोहित क्षेत्री, अनन्त पन्त र राजु आले मगर रहेका छन् । पक्राउपछि पुलिसले आफ्नो गाडी राखेर लगेको भएपनि उनीहरुलाई भाटभटेनी मन्दिर नजिकै पुगेपछि गाडीबाट झारिदिएको थियो ।
ekantipur




















