श्रावण ३०, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली डाक्टरको आरोपमा छानविनको दायरामा रहेका चिकित्सकहरुलाई तत्काल विरामी जाँच्नबाट रोक्न निर्देशन दिएका छन् । आइतबार बिहान प्रधानमन्त्रीको आधिकारिक ट्विटर ह्यान्डल @PM_Nepal बाट ट्विट गर्दै प्रधानमन्त्रीले स्वास्थ्य सचिवलाई उक्त निर्देशन दिएका हुन् ।
नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेर अभ्यास गरेको अभियोग अदालतमा विचाराधीन रहेका चिकित्सकहरू पुन: काममा फर्किएका थिए । १२ जिल्लामा मुद्दा चलिरहेका चिकित्सकहरू मुद्दाको छिनोफानो नभई काममा फर्किएका थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ‘अप्रेसन क्वाक’ अन्तर्गत पहिलो पटक गत वर्ष पक्राउ गरेका १७ चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले तत्काल निलम्बन गरेको थियो । दोस्रो चरणमा असारमा पक्राउ परेका ३७ चिकित्सकलाई भने काउन्सिलले अझै निलम्बन गरेको छैन । पुर्पक्षका लागि थुनामा राख्नुपर्ने सरकारी वकिल कार्यालयको मागदाबी अस्वीकार गर्दै १२ वटा जिल्ला अदालतहरूले उनीहरूलाई धरौटीमा छाडेको थियो ।
पूर्वप्रधानमन्त्री केपी ओलीको दाँत परीक्षण गरेका कान्तिपुर डेन्टल अस्पताल सामाखुसीका बुद्धिमान श्रेष्ठ धरौटीमा रिहा भएदेखि नै नियमित अस्पताल जाने गरेका छन् । उनी उक्त अस्पतालका अध्यक्ष हुन् ।
तराईका अस्पतालमा कार्यरत अधिकांश नक्कली चिकित्सक काममा फर्किएको सूचना आएको ब्युरोका एक अधिकारीले जानकारी दिए । नारायणी उपक्षेत्रीय अस्पतालका ३ चिकित्सक अस्पतालमा हाजिर हुन थालिसकेका छन् । ब्युरोले उक्त अस्पतालमा कार्यरत पन्नालाल पटेल, कुशराज गिरी र सरोजकुमार सिंहलाई पक्राउ गरेको थियो । ब्युरोले विराटनगरको ट्रमा अस्पतालका मोहम्मद अबुल कलाम, राम डाइग्नोस्टिक क्लिनिकका सञ्जयकुमार दास र विराटनगर आँखा अस्पतालकी लिली राजवंशीलाई पक्राउ गरेको थियो ।
विराटनगरकै युनिभर्सल मेडिकल कलेजका सञ्जय यादव रूपन्देहीमा पक्राउ परेका थिए । कुशराज गिरी, पन्नालाल पटेल, निमेललाल स्मन, मोहम्मद रहुल्लाह, रन्धीर राजवंशी, इशादुल हक, सरोजकुमार सिंह, रामकुमार प्रधान, अरुण गुप्ता र दिनेशकुमार साह वीरगन्जमा पक्राउ परेका थिए भने रामजी यादव धनुषामा पक्राउ परेका थिए । ‘मेडिकल काउन्सिललाई आग्रह गर्दा पूर्ण बैठक नबसी निलम्बन गर्न सकिन्न भन्ने जवाफ दिन्छन्,’ ब्युरोका एक अधिकारीले भने, ‘निलम्बन गर्नलाई यता काउन्सिलको पूर्ण बैठक नै बस्दैन, उता छुटेका डाक्टरहरू काममा जान थालिसके ।’
ekantipur



