श्रावण १९, २०७३- नवनिर्वाचित प्रधानमन्त्री एबं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कतिपयले पूर्व क्रान्तिकारीको रुपमा चिन्छन् । कतिपयले नेपालमा गुरिल्लायुद्धका सर्वोच्च कमाण्ड भन्छन् । तर, दाहालले आफूलाई अझै क्रान्तिकारी दाबी गर्छन् । जसले जे भने पनि उनलाई सिंहदबारमा पुर्याउने श्रेय भने गुरिल्ला युद्धलाई जान्छ । गरिल्लापथ हुँदै उनी मुलुकको कार्यकारी निकाय सिंहदरबारमा दुईपटक पुग्ने मौका पाए ।
प्रधानमन्त्रीमा दोस्रो पटक निर्वाचित हुनु तीनदिन अघि भएको पार्टी बैठकमा दाहालले सत्ताको यो बागडोर आफ्नो लागि ‘डु अर डाइ’ भएको बताएका थिए । उनले यो भनिरहँदा उनको अनुहारमा चिन्ताको रेखा दौडेको जस्तो लागेको एक वरिष्ठ नेताले महसुस गरेका थिए । १० वर्षे सशस्त्र युद्ध, १० वर्षे शान्ति प्रक्रियापछि उनी दुई पटक प्रधानमन्त्री भए । पार्टी तीन चिरा भई संसदमा तेस्रो स्थानमा पुगे पनि ८ वर्षको अन्तरालमा उनी फेरि सिंहदबार पुगेका छन् । युद्ध प्रभावको बलमा पहिलो संविधानसभामा पहिलो दलका हैसियतले प्रधानमन्त्री भएका थिए । यो पटक भने उनी बिशेषगरी कांग्रेसको समर्थनमा प्रधामन्त्री भए, नौ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सुम्पने गरे ।
६१ वर्षे दाहालको जन्म विक्रम सम्वत् २०११ मंसिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी गाविस वडा नं. २ लेवाडेमा भएको थियो । पिता मुक्तिराम र माता भवानीका जेठो छोरा दाहाल आफूले बुधबार संसदमा बोल्दै आफू नसोचेको ठाउँमा पुगेको बताए । आफू लडाकूको सर्वोच्च कमाण्डर हुने पनि नसोचेको संसदमा जानकारी दिर्दै दोस्रो पटक प्रधानमन्त्री हुन पाएको गौरव महसुस गरे ।
२०२६ चितवनको नारायणी विद्या मन्दिर मावि शिवनगरबाट एसएलसी उत्तीर्ण भई २०२७–२०२९ पाटन बहुमुखी क्याम्पसबाट आई.एस.सी. पूरागरी २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बिएस्सी गरेका छन् । उनले एमपीएको अध्ययन गरे पनि पुरा गरेनन् । कक्षा १० मा पुगेको बेला उनले छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल राखे । कम्युनिस्ट पार्टीमा लागेपछि २ि०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा कल्याण, विश्वास, निर्माण र प्रचण्ड राखे । उनले आफू पुष्पकमल भन्दा प्रचण्ड भन्नु नै गौरव गर्छन् ।
उनको खास राजनीतिक जीवन २०२८ मा सुरु भयो । नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यता लिएपछि उनी राजनीतिमा सक्रिय भएका थिए । २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालिन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वा्चित भए पछि उनको राजनीतिक जीवनले गति लियो । हुनु भएको थियो । उहाा वि. सं. २०३८ मा क्षेत्रिय व्यूरो सदस्यमा निर्वाचित भएपछि पार्टीको युवा संगठनमा लोकप्रिय भएका थिए । २०४० मा युवा संघको केन्द्रीय अध्यक्षमा निवार्चित भएपति वरिष्ठ नेताको विश्वास पात्र भएका थिए ।
२०१९ सालमा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगर गाविसमा बसाइ सरेपछि बुवा मुक्तिराम दाहालको दैनिक गुजारा केही सहज भएको थियो । उनको २०२६ बैशाखमा सीता पौडेलसंग विवाह भएको थियो उनका दुई छोरी र एक छोरा छन् । छोरी ज्ञानु र छोरा प्रकाश राजनीतिमा सक्रिय छन् । उनले बिभिन्न विद्यालयमा पार्टीको काम गर्दै करिब सात वर्ष पढाएका थिए । केही समय उनले अमेरिकी सहयोग नियोग (युएसएड) मा काम गरेका थिए ।
२०४१ मा नेकपा (मशाल)को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकताकेन्द्र)को महामन्त्री भएका थिए । २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन पछिको बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री चयन भएका दाहालले २०५२ सालदेखि सुरु भएको युद्धको १० वर्ष नेतृत्व गरेका थिए । २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष भएका थिए ।
सक्रिय शाही शासनलाई जनआन्दोलन २ ले पारजित गरेपछि २०६३ असार २ गते प्रधामनमन्त्रीको निवास बालुवाटारमा पत्रकार सम्मेलन गरी सार्वजनिक भएका थिए । पहिलो संविधानसभा निर्वाचनपछि २०६५ साउनको अन्तिम साता प्रधानमन्त्रीको रुपमा सत्ता सम्हाल्न पुगेका थिए । त्यसको नौ महिनापछि तत्कालीन प्रधानमन्त्री रुक्मांगत कटवाललाई बर्खास्त गर्न खोज्दा आफै राजीनामा दिन बाध्य भएका थिए । त्यसबेला उनलाई राजीनामा दिन राष्ट्रिय, अन्तराष्ट्रिय दबाव परेको उनी आफैले खुलासा गरेका छन् । प्रधानमन्त्री भएपछि पहिले चीनको भ्रमण गरेपछि भारत चिढिएको थियो । यो बीचमा उनको समर्थनमा एमाले नेताहरु झलनाथ खनाल, तत्कालीन माओवादी नेता बाबुराम भट्टराई र एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए । 
२०६९ सालमा हेटौंडामा सम्पन्न राष्ट्रिय सम्मेलन र २०७० सालमा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुन:अध्यक्ष पदमा निर्वा्चित भए पनि तत्कालीन माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले बिरोध गरे । त्यसपछि भट्टराईलाई अध्यक्ष पद हस्तान्तरण गर्ने वचन दिए पनि कार्यान्वयन भएन, त्यसपछि गत वर्ष भट्टराईले पार्टी परित्याग गरी नयाँ शक्ति गठन गरे । गत २५ वर्षदेखि उनी पार्टीको प्रमुख पदको एक्लो दौडमा प्रथम हुदै आएका छन् ।
प्रधानमन्त्री दाहालका नेपाली क्रान्तिका समस्या (भाग १, २ र ३), सांस्कृति, कला र सौन्र्दर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरु (खण्ड १ र २) तथा प्रचण्डका छानिएका सैन्य रचनाहरु लगायतका पुस्तक प्रकाशित छन् । उनी २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौ–१० र रोल्पा–२ बाट निर्वाचित भएका थिए । २०७० मंसीरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा सिराहा ५ बाट निर्वाचित भए पनि काठमाडौं कीर्तिपुरबाट पराजित भए । उनी आफै भन्छन्, ‘युद्धभन्दा शान्तिप्रक्रियामा आए पछि राजनीतिक कठिन लागेको छ ।’ दोस्रो पटक प्रधानमनत्री भएपछि उनी संसदीय राजनीतिमा चलाख खेलाडीको रुपमा पोख्त भएका छन् ।
तस्विरहरु: तस्विरमा जनयुद्ध –१ र कान्तिपुर फोटो विभाग ।
ekantipur




















