काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधानको कार्यान्वयनसँगै जारी लामो राजनीतिक संक्रमण अन्त्य भएको बताएका छन् । नवौं गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक आर्थिक/सामाजिक विकासको दिशामा अघि बढेको बताए ।
विकास निर्माणको प्रकृयालाई जति छिटो गतिमा अघि बढाउन सकिने भन्दै ओलीले यस दिवसको अवसरमा नेपाली राजनीतिबाट प्राप्त उपलब्धी र लोकतान्त्रिक गणतन्त्रलाई त्यति नै समृद्ध र बलियो बनाउदै अघि बढ्ने ओलीले बताए ।
गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री ओलीले व्यक्त गरेको विचारको पूर्णपाठ पढ्नुहोस्
नेपालमा गणतन्त्रको स्थापनाका निमित्त नेपाली जनताले गरेका संघर्ष र जनआन्दोलनको जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले आज गणतन्त्र दिवस मनाइरहँदा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अभियानका क्रममा आफ्नो अमूल्य जीवन आहुति दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । यस क्रममा समृद्ध नेपाल निर्माण गर्ने नेपाली जनताको सपना पूरा गर्ने सिलसिलामा सञ्चालित आन्दोलनहरूमा अङ्गभङ्ग हुन पुगेका र घाइते हुनुभएका समस्त योद्धाहरूप्रति उच्च सम्मान प्रकट गर्दछु ।
२०६२–६३ को जनान्दोलनको सफलतापछि गठित जननिर्वाचित पहिलो संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा गरेको महत्वपूर्ण अवसरलाई म यहाँ गौरवका साथ स्मरण गर्न चाहन्छु । नेपाली जनताले लामो संघर्षबाट सामन्ती प्रणाली र जन्मसिद्ध श्रेष्ठताको अबैज्ञानिक सिद्धान्तमा आधारित राजतन्त्रको अन्त्य गर्दै सामाजिक न्याय र समानताको मूलस्तम्भको रुपमा गणतन्त्र स्थापित गरेको आजको दिन एउटा ऐतिहासिक उपलब्धीको दिन हो । आधुनिक नेपालको मजवुत जग निर्माण गर्ने जनमुखी एवं लोकतान्त्रिक राज्य व्यवस्थाको सूत्रपात भएको युगान्तकारी क्षणका रूपमा आजको गणतन्त्र दिवसलाई लिनु पर्दछ ।
२००७ सालदेखि नेपाली जनताले गरेको संघर्षको परिणाम जननिर्वाचित संविधान सभाबाट २०७२ साल असोज ३ गते संबिधान जारी भएको छ । यसरी संविधान जारी हुनुले नेपाली जनताले विगतमा लामो समय गरेका संघर्ष र बलिदानको सम्मान र ती संघर्षबाट प्राप्त उपलब्धीहरु संस्थागत भएका छन् ।
गणतन्त्रात्मक लोकतन्त्र संस्थागत भएको छ । यस संविधानले सबै नेपालीलाई समान हक अधिकार प्रदान गरेको छ । संविधानले राजनीतिक मात्र होइन आर्थिक, सामाजिक, सांस्कृतिक हक सुनिश्चित गरेको छ । संविधानले नेपालमा बसोवास गर्ने समस्त आदिवासी, जनजाति, महिला, दलित, अल्पसंख्यक, मुसलमान, मधेसी, थारु, पिछडिएका वर्ग लगायत सम्पूर्ण नेपालीले आजसम्मको संघर्षबाट प्राप्त गरेका हक अधिकार र अवसरको सुनिश्चितालाई संस्थागत गरेको छ । सबैको भाषा, संस्कृति, परम्परा, धर्मको संरक्षण र सम्बर्धनको बाटो फराकिलो गरेको छ । सामाजिक न्यायको प्रत्याभूति गरेको छ ।
संबिधानको कार्यान्वयनसँगै जारी लामो राजनीतिक संक्रमण मूलतः अन्त्य भएको छ, मुलुक आर्थिक÷सामाजिक विकासको दिशामा अघि बढेको छ । यस प्रकृयालाई जति छिटो गतिमा अघि बढाउन सकिन्छ, हामीले प्राप्त गरेका राजनीतिक उपलब्धी र लोकतान्त्रिक गणतन्त्रलाई त्यति नै समृद्ध र बलियो बनाउदै अघि बढ्न सकिन्छ ।
संबिधान जारी भएपछि अब आर्थिक विकास हाम्रो प्राथमिकता भएको छ । विकास कसरी अघि बढाउने भन्नेबारेमा हामी सल्लाहबाट सही नीतिहरु तय गर्दै अघि बढ्न सक्छौ । र, बढ्नै पर्छ । कही कतै केही राजनीतिक वा अन्य भिन्न विचार वा असहमति भए वार्ता र संवाद कै माध्यमबाट समाधान गर्न सकिन्छ । तसर्थ, संवादबाट समस्याको समाधान खोज्ने प्रयासमा संलग्न रहन म सबैसँग पुनः आग्रह गर्दछु ।
हामीले भूकम्पको महाविनास, तनाव, आन्दोलन, बन्द र आपूर्ति व्यबस्थामा पैदा भएका महासंकटहरुलाई पार गरेका छौं । धुलो टक्टक्याएर पुनर्निर्माण र नव निर्माणमा जुटेका छौं । अब समृद्ध नेपाल र सुखी नेपालीको हाम्रो आकांक्षालाई साकार पार्न दृढता र तिब्रताका साथ अघि बढ्नु आवश्यक छ ।
वर्तमान सरकार शान्ति, लोकतन्त्र, सामाजिक न्याय र समानता, सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता र देशको राष्ट्रिय हित र स्वाभिमानको रक्षा एवं सुदृढिकरणका लागि प्रतिवद्ध छ । म सबै राजनीतिक दलहरु र आम नेपाली जनतासँग मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन सहकार्यको लागि हार्दिक आग्रह गर्दछु । हाम्रो देश विविधता र प्राकृतिक श्रोतहरुले धनी छ । यी श्रोत र सम्पदाहरुको सही ढंगले प्रयोग गर्दै देशलाई समृद्धिको बाटोमा अघि बढाउन यतिबेला हामीलाई राष्ट्रिय एकता र संकल्पकासाथ तिब्र प्रयासको आवश्यकता छ । आजको दिनले यसका निम्ति हामी सबैलाई प्रेरणा प्रदान गरोस् ।
अन्त्यमा, यो राष्ट्र निर्माण गर्न, रक्षा गर्न र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न आफ्नो प्राण उत्सर्ग गर्ने समस्त ज्ञात–अज्ञात शहीदहरूप्रति पुनः एकपटक श्रद्धासुमन प्रकट गर्दछु । शहीदहरूका सपना साकार पार्न समस्त दिदीबहिनी तथा दाजुभाइहरूलाई एकताबद्ध हुँदै अघि बढ्न म हार्दिक अपिल गर्दछु ।
धन्यवाद ।
annapurnapost



