किरण लोहनी
गोरखा, वैशाख २२ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनका लागि दलहरुबिच राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिनुभएको छ ।
संविधान निर्माणका बेला एक ठाउँमा उभिएका दलहरु त्यसको कार्यान्वयनका लागि पनि सहमतिका साथ अघि बढ्नु पर्ने उहाँको भनाई छ । नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्ने तयारीमा लागेका दाहालले गएको वर्षको भूकम्पको केन्द्रबिन्दु वारपाकका बासिन्दालाई सम्बोधन गर्दै एकीकृत नेकपा माओवादी राष्ट्रिय सहमतिको पक्षमा रहेको बताउनुभयो ।
भूकम्पकै कारण देशमा नयाँ संविधान निर्माणको वातावरण बनेको बताउँदै उहाँले अब पुनर्निर्माणका लागि पनि सबै दल एक ठाउँमा उभिनु पर्ने बताउनुभयो । संविधान निर्माणको बेला प्रमुख प्रतिपक्षी दलका नेताको रुपमा आफूले सकारात्मक भूमिका खेलेको उहाँको दावी छ ।
तर उहाँले संविधान कार्यान्वयन र पुनर्निर्माण लगायतका काम पूरा गर्न नयाँ शीराबाट छलफल सुरु भएको बताउनुभयो । नयाँ छलफलपनि दलहरुबिचको राष्ट्रिय सहमतिमै केन्द्रित हुने एकिकृत माओवादी अध्यक्ष प्रचण्डको भनाई छ । अब नयाँ राष्ट्रिय एकता र नयाँ भावनात्मक एकताको खाँचो रहेको उहाँले बताउनुभयो ।
उहाँले सरकारले बनाउन लागेको नयाँ नीति तथा कार्यक्रममा पुनर्निर्माणको विषयलाई प्राथमिकतामा राख्न आफूले पनि पहल गर्ने बताउनुभयो । पुनर्निर्माणको काममा ढिलाई भएकोमा दुःखेको गर्दै उहाँले अब भने नागरिकका आवास बनाउने काम धमाधम सुुरु हुने उहाँको दावी छ । भूकम्पको केन्द्रविन्दू वारपाकमा स्थायी रुपमा बैङ्किङ सुविधा उपलब्ध गराएर अनुदान रकम वितरणको काम सुुरु गरिने दाहालको भनाई छ ।
गोरखाबाट प्रतिनिधित्व गर्ने एकिकृत माओवादीका सांसदहरु कृष्ण धिताल, हीतराज पाण्डे र छमबहादुर गुरुङसहित पुननिर्माण प्राधिकरणका सदस्य डाक्टर हरेराम पराजुलीलाई लिएर प्रचण्ड गोरखाका भूकम्प अति प्रभावित गाविसहरुमा पुग्नुभएको हो ।
उहाँले गुम्दा गाविसमा आवास पुननिर्माणका लागि अनुदान रकम वितरणको सुरुवात गर्नुभयो भने लाप्राकमा खानेपानी आयोजनाको शिलान्यास गर्नुभयो । यस्तै भूकम्पको केन्द्रविन्दु वारपाकमा उहाँले सामुदायिक भवनको शिलान्यास गर्नुभएको छ ।
३२ परिवारको बसोबासको ब्यवस्था मिलाउने गरि त्यहाँ सामुदायिक भवन बन्न लागेको हो । प्रचण्डले वारपाकको छिमेकी गाविस सौरपानी र भूकम्प प्रभावित अर्को गाउँ मुच्चोकको पनि भ्रमण गर्ने कार्यक्रम रहेको एकीकृत माओवादी गोरखाका इन्चार्ज चूडामणि खड्काले बताउनुभयो । काठमाडौंबाट हेलिकप्टरमा गुम्दा गाविस उत्रेका प्रचण्डले सबै गाविसको कार्यक्रममा हेलिकप्टर चढेरै सहभागीता जनाउनुभएको हो ।
ujyaaloonline



