वैशाख २१, २०७३- सिन्डिकेट पक्षधर यातायात व्यवासयी समिति गोरखा ठूला राजनितिक दल र प्रहरी प्रशासनको संरक्षणमा झडप, तोडफोड र आक्रमणमा उत्रनथालेपछि जिल्लामा तनाव बढेको छ ।
मंगलबार जंगलमा लुकेर बसेका समितिका व्यवासयीहरु र आरुघाट यातायात प्रालिका व्यवसायीबीच तान्द्राङ– २ मा झडप भएको छ । झडपले उग्र रुप लिएपछि आरुघाटका बासिन्दा र प्रहरीसमेत घाईते भएका छन् ।
गोरखा–आरुघाट सडक खण्डमा दुई पक्षबीच झडप भएको हो । झडपमा ५ प्रहरी र एक दर्जन आरुघाटबासी घाईते भएका छन् । गोरखा यातायातले सिन्डिकेट लाद्न खोजेकाले झडप गरेको आरुघाट यातायतका महासचिव हुकुम खडकाले बताए ।
तस्बिरहरु : सुदीप कैनी

गोरखा यातायातका व्यवसायीहरु सोमबारदेखि आरुघाट प्रालिका गाडी रोक्न सडकमा क्याम्प खडा गरेर भूमिगत शैलीमा बसेका थिए । मंगलबार बिहान गाडी लिएर सदरमुकामतर्फ जाँदै गरेका व्यवसायी र गोरखा यातायात पक्षबीच झडप भएको हो । झडपमा संलग्न गोरखा यातायातका उपाध्यक्ष कालु गुरुङसहित २३ जनालाई आरुघाट इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
एमाले कार्यकर्ता समेत रहेका गुरुङ आक्रमणमा संलग्न रहेको आरोपमा तेस्रो पटक प्रक्राउ परेका हुन् । प्रक्राउ परे पनि उनले बिनाकारवाही छुटकारा पाउने गरेका छन् । उनीहरुलाई सोधपुक्षका लागि मात्रै नियन्त्रणमा लिईएको प्रहरी निरिक्षक रविराज थपलियाले बताए ।
प्रक्राउ परेकाहरुलाई कारवाही गर्न माग गर्दै आरुघाट इलाका प्रहरी कार्यालय पुगेका स्थानियबासी र प्रहरीबीच समेत झडप भएको छ । प्रहरीले चौकीमा तोडफोड गर्न थालेपछि ७ सेल अश्रुग्याँस प्रहार गरेको जनाएको छ भने स्थानीयबासीले प्रहरीले एक्कासी लाठीचार्ज गरेर कुटपिट गरेको बताएका छन् ।
‘प्रहरीले गोरखा यातायातसँग मिलेर महिला, वृद्धवृद्धालाई पनि लाठीले हान्यो,’ आरुघाटका लालबहादुर खड्काले भने । स्थानीयबासीले ढुंगामुडा गर्दा प्रहरी कार्यालयको झ्यालको ७ वटा सिसा, बा १ ग २१७१ र बा १ झ ७८०८ नम्बरको गाडीमा समेत क्षति भएको छ । तोडफोडमा संलग्नहरुको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।

घाईतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । ५० जनाको संख्यामा रहेका समिति सम्बद्धहरु र करिब तीन सयको संख्यामा रहेका आरुघाटबासीबीच झडप भएको हो । जिल्लाका सिन्डिकेट लाद्दै आएको गोरखा यातायातले दर्ता भएर संचालनमा आउन लागेको आरुघाटको गाडी गुडाउन ६ महिनादेखि अवरोध गर्दै आएको छ ।
मंगलबारको झडपपछि स्थानीयबासीले अनिश्चितकालका लागि आरुघाट बजार बन्द गराएका छन् भने यातायात क्षेत्रको विवादले गत ८ गतेदेखि उक्त रुटमा सार्वजनिक बसहरु संचालन हुन सकेका छैनन् । गोरखा यातायातका व्यवसायी खुडा, खुकुरी र रड लिएर अवरोधमा उत्रने गरेको बताइएको छ ।
एमाओवादीका जिल्ला इन्चार्ज चुडामणी खड्काले ‘हाम्रो गृहमन्त्री छ’ भनेर प्रहरी उक्साएको आरुघाटका महासचिव खड्काले दावी गरे । ‘हाम्रा गाडी चल्न नदिन घर भित्रै आएर कुटपिट गरियो,’ उनले भने । गोरखा यातायातलाई कांग्रेस, एमाले, एमाओवादी र नयाँ शक्ति पार्टीका जिल्ला नेताहरुले संरक्षण दिँदै आएका छन् । ती पार्टीका कतिपय नेताहरुको गाडी समेत समिति मातहत संचालनमा छन् ।
‘हामी घर बाहिर निस्कने अवस्था पनि छैन,’ आरुघाट प्रालिका राजीव गुरुङले भने, ‘गोरखा बजार गयो भने पनि होटल/होटलमा खोजेर कुटपिट गर्छन् ।’ आरुघाटका सनतकुमार श्रेष्ठ, गणेश लामिछाने र कान्छा गुरुङलाई प्रहरीले प्रक्राउ गरेको स्थानीयले दावी गरेका छन् प्रहरीले भने कसैलाई प्रक्राउ नगरेको जनाएको छ ।
ekantipur



