इपिसेन्टरमा पुनर्निर्माण
वैशाख १५, २०७३- भूकम्पको केन्द्रबिन्दु बारपाकका स्थानीयबासिले वर्षदिन घरमा बिजुली बाल्न पाएका थिएनन्। १ सय २० किलोवाटको घट्टेखोला लघु जलविद्युत् आयोजना मर्मतपछि भने अहिले गाउँ झिलिमिली भएको छ।
बारपाक ग्रामीण जलविद्युत् आयोजना प्रालिका सञ्चालक मध्येका वीरबहादुर घलेका अनुसार १ करोड ६ लाखको लागतमा आयोजना मर्मतसम्भार गरिएपछि बिजुली बल्न सुरू भएको हो। गाउँमा बिजुली बलेपछि पुनर्निर्माणमा समेत सघाउ पुग्ने भन्दै स्थानीयबासी खुसी छन्। ‘बिजुली भए सबै काम गर्न छिटो र सजिलो हुन्छ,’ रापनी गुरुङले भनिन्।
भूकम्प गएकै वर्षदिन पारेर गत आइतवार बिजुली परीक्षण गरिएको हो। घरघरमा बिजुली जडान गर्न बाँकी भएपनि आयोजनाको काम सकिएको घलेले बताए। ‘जुन दिन बारपाक अँध्यारो भएको थियो, त्यही दिन बिजुली जडान भएको छ,’ उनले भने।
जलविद्युत् आयोजना बन्द भएपछि बारपाकमा राहतमा आएको जेनेनेटरबाट साँझमा दैनिक दुई/तीन घण्टा मात्रै बिजुली बाल्ने गरिएको थियो। सदरमुकामबाट इन्धन लगेर बिजुली बाल्न झन्झटिलो र महंगो भएको स्थानीयबासि वीरु घलेले बताए। ‘जेनेरेटरले सबै घरलाई बिजुली बाल्न पुग्थेन,’ उनले भने, ‘आºनै जलबिद्युत बनेपछि ढुक्क भएका छौ।’
बिजुली नुहँदा टेलिफोन टावर संचालनमा समेत बाधा पुगेको थियो। २०४८ सालमा पहिलोपटक घट्टेखोलाबाट ५० किलोबाटको बिजुली उत्पादन भएको थियो। २०६२ सालमा आयोजनाको क्षमता बिस्तार गरेर १ सय २० किलोवाट बनाइयो। भूकम्पले क्षति गरेको पावर हाउस, पाइप लाइन, कुलो र पोलहरू मर्मत गरिएको प्रालिले जनाएको छ।
गाउँमा बिजुली बलेपछि नमुना गाउँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने स्थानीयबासीले बताएका छन्। प्रालिले घरघरमा मिटरबक्स जडान गरेर विद्युत् प्राधिकरणकै तरिकाले बिद्युत सेवा दिने गरेको छ। एकै ठाउँमा १४ सय घरहरू गुजमुञ्ज रहेको बारपाक गाउँमा विश्व खाद्य कार्यक्रमले घर/घरै साना सवारीसाधन पुग्ने गरी चक्रपथ निर्माणमा सघाएको छ। २.५ किलोमिटर चक्रपथ निर्माण भएपछि निर्माण सामग्री घरमै पुर्याएर पुनर्निर्माणको काम गर्न सहज भएको मनबहादुर गुरुङले बताए।
‘गाडीले बोकेर ल्याएको सामान भरिया लगाएर घरसम्म ल्याउनु पथ्र्यो,’ उनले भने, ‘सडक बनेपछि आँगनमै गाडी आउन थालेको छ।’
बस्तीभित्रको साँघुरो बाटो विस्तार गरेर सडक बनाइएको हो। कार्यक्रमले कामका लागि खाद्यान्न कार्यक्रम संचालन गरेर बारपाकमा चक्रपथ र पैदल मार्ग बनाएको हो।
१ हजार २ सय ९ घरधुरीलाई परिचालन गरेर ९.८ किलोमिटर पैदलमार्ग निर्माण गरिएको कार्यक्रमका सूचना अधिकृत रामजी दाहालले जानकारी दिए। बारपाकमा कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत २ सय १८.९९ मेट्रीक टन दाल र चामल वितरण गरिएको थियो।
स्थानीय अगुवा जीतबहादुर घलेका अनुसार जाइकाले बारपाकमा क्षतिग्रस्त भएको विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी र गाविस भवनको पुनर्निर्माण गर्ने भएको छ।
पुनर्निर्माण गर्न जग्गा खोजीको काम सुरु भएको प्रजिअ नारायण भट्टले बताए। केयर नेपालले बारपाक खानेपानी तथा सरसफाई आयोजनाको काम अघि बढाएको छ। प्रधानमन्त्री केपी ओलीले आयोजनाको शिलान्यास गरेका थिए।
३ करोड ५० लाख लागतमा १ हजार १ सय ७२ घरधुरीमा धारा जडान गर्ने गरि आयोजनाको काम सुरु भएको केयरका परियोजना प्रमुख माधव ढकालले जानकारी दिए। ‘भूकम्पले क्षति भएको सिस्नो पाउडर उद्योग पुन: संचालन गर्न मर्मत सम्भारको काम गर्दैछौं’, उनले भने।
बारपाकमै निर्माण हुने भूकम्प स्मृति स्मारकको समेत शिलान्यास भइसकेको छ। स्तम्भसहितको पार्क र संग्रहालय निर्माण गर्ने योजना अघि सारिएको छ।
बारपाकमा एकीकृत बस्ती विकास गर्न प्राविधिक अध्ययन समेत भइसकेको प्रजिअ भट्टले बताए। निजि घरहरू निर्माण गर्न अनुदान सम्झौता सुरु भएको छ। १२ सय ९४ घरमध्ये ६४ घरधुरीसँग सम्झौता भइसकेको गाविस सचिव चेतप्रसाद अम्गाईले बताएका छन्।
- घट्टेखोला लघु जलविद्युत् आयोजना मर्मतपछि गाउँ झिलिमिली
- घरघरै साना सवारीसाधन पुग्ने गरी चक्रपथ बन्ने
- क्षतिग्रस्त विद्यालय, स्वास्थ्य चौकीलगायतको पुनर्निर्माण गरिने



