
विभिन्न संघसंस्थाले जिल्ला दैवीप्रकोप उद्धार समिति, गोरखालाई दिएका राहत सामग्री वर्ष दिनसम्म पनि प्रभावकारी वितरण हुन नसक्दा प्रयोगविहीन छन् । समितिले आफू जिम्मेवारीबाट पन्छँदै नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखालाई तीन महिनाअघि बाँकी राहत सामग्री जिम्मा लगाएको थियो । करिब ५ हजार थान त्रिपाल, २५ सय थान कम्बल, २ सय थान स्तरीय टेन्टलगायत राहत सामग्री गोदाममै बिग्रने अवस्थामा छन् ।
रेडक्रसले गोरखा नगरपालिका, बिरेनचोकस्थित एक घर र लक्ष्मीबजारको एक होटलमा मासिक २५ हजार रुपैयाँ भाडा तिरेर राहत सामग्री भण्डारण गरेको छ । ‘दैवीप्रकोप उद्धार समितिले आवश्यक ठाउँमा रेडक्रसले पठाउने गरी जिम्मा लगाएको हो,’ एक सदस्यले भने, ‘तर वितरण भएको रहेनछ ।’
रेडक्रस जिल्ला सभापति यदुविलाश भट्टराईले आवश्यक ठाउँमा पुर्याउने गरी उपशाखामा लगेर राख्ने योजना रहेको बताए । उनले भने, ‘वितरण गर्न नसकेपछि हामीलाई दिइएको हो, हामीले स्टोर गरेर राखेका छौं ।’
रेडक्रसले पनि ती सामग्री तत्काल वितरण गर्ने योजना नरहेको स्रोत बताउँछ । रेडक्रस सम्बद्ध स्रोतले भन्यो, ‘पहिले राम्राराम्रा सामग्री रहँदासम्म राजनीतिक दलले कता लगे, कता, अहिले वितरण गर्न नसक्ने भएपछि हामीलाई जिम्मा लगाएर सबै पन्छिए ।’
जिल्लामा राहत सामग्री गोदाममा राखिएको तर पीडितले कष्टपूर्ण जीवन बिताइरहेको गुनासो आउन थालेपछि नेपाली सेनाको भैरवी दल गण ब्यारेकमा रहेका राहत सामग्री तीन महिनाअघि मात्र सदरमुकाम आसपासका गाविसलाई स्थानान्तरण गरिएको थियो ।
यस्तै, गोरखाका भूकम्पपीडितलाई वितरण गर्न सरकारले ६० गाविसमा गाविसपिच्छे पठाएको ९ लाख रुपैयाँको लेखापरीक्षण गरिएको छैन । ‘आपतकालीन अवस्थामा कसैलाई एक किलो चामल, कसैलाई एउटा त्रिपाल दिनुप¥यो, त्यसबेला बिलभर्पाई गराउन सम्भव भएन,’ एक गाविस सचिवले भने, ‘अहिले बिलभर्पाई गराउन खोज्दा पैसा र सामान बुझ्नेहरु नै भेटिँदैनन् ।’
गाविस सचिवहरूले गाउँस्तरका राजनीतिक दललाई माइन्युट गराएर ९ लाख रुपैयाँ वितरण गरिएको विवरण बुझाएका छन् । कसलाई कति रकम र सामान वितरण गरिएको भन्ने त्यसमा उल्लेख छैन । सचिवहरूले बिहान–बेलुकाको खाना, राहत वितरण गर्न आउनेलाई खाजापानी, आउजाउ र ढुवानीमा धेरै खर्च देखाएका छन् ।
nagariknews



