चैत्र १८, २०७२- सत्तारुढ राप्रपा नेपालले सरकारको ६ महिनाको काम कारवाही सन्तोषजनक नभएको भन्दै सरकारमा पार्टीको सहभागिता बारे समीक्षा थालेको छ । वीरगन्जमा जारी केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष एवं सरकारका उपप्रधानमन्त्री कमल थापा स्वंयले त्यसबारे समीक्षाको प्रस्ताव गरेका छन् ।
‘सरकार गठन भएको ६ महिना पुग्दैछ । निश्चय नै यस अवधिमा सरकारको कार्य प्रगति उत्साप्रद छैन,’ बिहीबार प्रारम्भ भएको बैठकमा आफ्नो धारणा राख्दै थापाले भने, ‘सरकारमा पार्टीको सहभागिता बारे बैठकमा समीक्षा गरिनुपर्दछ ।’
उनले भूकम्पपीडितहरुको पुनस्र्थापना एवं पुनर्निर्माणमा भएको ढिलाई सरकारको अकर्मण्यताको ज्वलन्त उदाहरण भएको भन्दै आपूर्ति व्यवस्था सहज हुन नसक्नु र मधेसको समस्या समाधानमा उल्लेख प्रगति नहुनु अर्को चिन्ताको विषय रहेको बताए । ‘आमजनताले स्पष्ट रुपमा अनुभूति गर्ने गरी सरकारले ठोस काम गर्न सकेको छैन,’ सरकारकै उपप्रधानमन्त्री थापाले बैठकमा पेस गरेको राजनैतिक कार्यपत्रमा भनेका छन् ।
उनले स्थायी सरकारको रुपमा रहनुपर्ने प्रशासनिक संयन्त्र पार्टीकरणको प्रभावमा नराम्रोसँग थला परेकाले प्रशासनिक संयन्त्र र संवैधानिक अंगहरुको क्षमतामा अविश्सनीय ढंगबाट हृास आएको उल्लेख गरेका छन् ।
हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्रका लागि शान्तिपूर्ण रुपमा पार्टीले संघर्ष जारी राख्ने उनले बताएका छन् । मुलुक भित्र बाहय् चलखेल बढेकोमा चिन्ता व्यक्त गदै उनले त्यसको दोष २०६२ साल मसिंरमा नयाँ दिल्लीमा भएको १२ बुँदे समझदारीलाई दिएका छन् ।
थापाले संविधान जारी भएपश्चात कतिपय राजनीतिक विषयको प्राविधिक ढंगले मात्र निराकरण भएको भन्दै संकटको समाधान अझै नभएको बताएका छन् । उनले हचुवाको आधारमा यही रुपमा संविधान संस्थागत गरिए संकट अझै चुलिँदै जाने खतरा समेत रहेको उल्लेख गरेका छन् । अब संविधान कार्यान्वयन एवं राष्ट्रनिर्माणको जटील र कठिन नयाँ संक्रमणकाल प्रारम्भ भएको उनको दस्तावेजमा उल्ल्ोख छ ।
ekantipur



