काठमाडौं– नेपालमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेलाई कारवाही गर्न सुरु गरेको चार वर्ष भन्दा बढी भैसकेको छ। चार बर्षको यो अवधिमा उपत्यकामा मात्र एक लाख ६३ हजार ५ सय ५४ जना सवारी चालक कारवाहीमा परेका छन्।
महानगरिय ट्राफिक प्रहरी महाशाखाले उपलब्ध गराएको तथ्यांक अनुसार कारवाहीमा पर्ने चालकमध्ये ११ सय ४७ जना महिला चालक छन् भने बाँकी सबै पुरुष रहेका छन् । तथ्यांक अनुसार चार वर्षको अवधिमा मापसेका कारण सडक दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ ।
०६८ सालदेखी गत फागुन २५ गतेसम्मको तथ्यांक अनुसार ६ सय ६१ वटा दुर्घटना मापसेको कारण भएको छ । उक्त दुर्घटनामा ६ सय ७ जना घाइते भएका छन् । मापसेका कारण हुने दुर्घटनाको दर हरेक वर्ष क्रमिक रुपमा घट्दै गएको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार सबैभन्दा बढी ०६९ सालमा २ सय ३६ वटा दुर्घटना भएको छ । त्यसपछि क्रमश ०७० सालमा १ सय ५५ वटा, ०७१ सालमा १ सय ५० वटा र चालु वर्षको फागुन २५ गतेसम्म १ सय २० वटा दुर्घटना भएका छन् ।
nagariknews




